सन्तोष रुचाल/धनकुटा, १५ जेठ । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले भरतपुरमा गणना भईरहेको मत पत्र नेकपा माओवादीका कार्यकर्ताले खाएको आरोप लगाउनु भएको छ ।

निर्वाचनमा हार्ने निश्चित भएपछि भोक लागेको झोकमा बौलाएर माओवादीका कार्यकर्ताले गणना हुदै गरेको मत पत्र नै खाई दिएको उहाँले बताउँनुभयो । पहिलो चरणको निर्वाचनमा काग्रेस–माओवादी गठबन्धन पत्ता साफ भएको उल्लेख गर्नु हुदै सचिव भट्टराईले दोस्रो चरणको निर्वाचनमा हार स्वीकार गर्न नसकेर मत पत्र नै खाने काम नगर्न माओवादीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“यदी तपाईहरुलाई दोस्रो चरणको निर्वाचनमा पनि भोक लाग्यो भने एमालेले खाना दिन्छ । तर मत पत्र नखानुहोस् ।” पहिलो चरणको निर्वाचनले एमालेलाई बहुमत दिएर मुलुकको पहिलो पार्टी बनाएको उल्लेख गर्नु हुदै सचिव भट्टराईले पश्चिमबाट शुरु भएको हावाको वेग अब पूर्वतर्फ लागेको बताउँनुभयो । त्यो हावाको वेगलाई नियन्त्रण गर्न सक्ने मुलुकको एक मात्र पार्टी नेकपा एमाले भएकोले एमालेलाई मल भित्र उर्मिएको मुला नसोच्न सबै दलहरुलाई चेतावनी दिनुभयो । एमाले पार्टी भनेको सतिसाल जत्तिकै दह्रो र शसक्त पार्टी हो ।

नेकपा एमाले धनकुटा नगर कमिटी वडा नं. १ धनकुटाले हिले बजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नु हुदै पार्टीका प्रवक्ता समेत रहनु भएका सचिव भट्टराईले एमाले जहिले राष्ट्रिय स्वाधिनताको पक्षमा रहेकाले जनताले एमालेलाई मुलुकको पहिलो पार्टीको रुपमा स्थापित गरेको दाबी गर्नुभयो । उहाँले पहिलो चरणको निर्वाचनबाट जसरी एमाले पहिलो पार्टी बन्न सफल भएको छ । त्यसैगरी दोस्रो चरणको निर्वाचनमा पनि एमालेलाई बहुमतका साथ जिताउन आग्रह गर्नुभयो । भट्टराईले एमाले विरुद्ध देशीविदेशी शक्तिहरु गठबन्धन गरेर अगाडी बढेपनि एमालेलाई कमजोर पार्न नसकेकोले अबको निर्वाचनमा पनि एमालेलाई पहिलो पार्टी बनाउनका लागी पार्टीका सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

सचिव भट्टराईले चुनावी सभामा काग्रेस, माओवादी, राप्रपा लगायतका विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका दुई दर्जन भन्दा बढीलाई खाँदा र अबीर लगाएर स्वागत गर्नु भएको थियो । चुनावी सभाको पूर्व सन्ध्यामा हिले बजारमा ¥यालीको आयोजना गरिएको थियो । भट्टराई आजै हिलेको कार्यक्रम सम्पन्न गरेर तेह्रथुममा आयोजना हुने चुनावी सभातर्फ लाग्नु भएको नेकपा एमाले धनकुटा नगर कमिटीले जनाएको छ ।
१५ जेष्ठ २०७४, सोमबार
0
Shares







