लहान, ४ असोज । स्थानीय तह निर्वाचन अन्तर्गत असोज २ गते सम्पन्न मतदानको गणना कार्य सिरहामा जारी छ । आज बिहानसम्म सिरहामा विभिन्न स्थानीय तहका १८ वटा वडाको मतगणना सकिँदा नेकपा (माओवादी केन्द्र) ले आठ वडा जितेको छ भने नेकपा (एमाले), संघीय समाजवादी फोरम नेपालले तीन÷तीन र नेपाली काँग्रेस र राजपाले दुई÷दुई वडामा विजय हासिल गरेका छन् ।
पछिल्लो प्राप्त परिणाम अनुसार सिरहाको गोलबजार नगरपालिका–१ मा माओवादी केन्द्रका देवबहादुर मगर प्यानलसहित विजयी भएका छन्, भने धनगढीमाई नगरपालिका–३ मा पनि माओवादी केन्द्रकै देवन साह प्यानलसहित विजयी भएका छन् ।
अर्नमा गाउँपालिका–१ मा वडाध्यक्ष माओवादी केन्द्रका उम्मेदवार गफार मियाँ ७२४ मत ल्याएर प्यानलसहित विजयी भएका हुन्, भने अर्नामा–२ मा माओवादीकै गंगाप्रसाद महतो ५२३ मतसहित प्यानल विजयी भएका हुन् ।
मिर्चैया नगरपालिका–१ मा माओवादी केन्द्रका धनिकलाल यादव ८९९ मतसहित प्यानल सहित विजयी भएको छ भने विष्णुपुर गाउँपालिका–१ मा कोविन्द यादव ५१६ मत ल्याई प्यानलसहित विजयी भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । योसँगै माओवादी केन्द्रले सिरहामा आठवटा वडामा जित हात पारेको छ ।
यसअघि माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकाको वडा नम्बर १ र ३ मा वडाध्यक्ष पदमा विजय हासिल गरेको थियो । कर्जन्हा नगरपालिका–१ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मोहनबहादुर खत्री र सोही नगरपालिकाको वडा नम्बर ३ मा माओवादी केन्द्रकै कपलेश्वर यादव विजयी भएका थिए ।
यस्तै, सिरहाको नवराजपुर गाउँपालिका–१ मा एमालेका रामअवतार यादव ९३६ मतसहित विजयी भएका छन् । एमालेले धनगढीमाई नगरपालिका–१ मा पनि सफलता हात पारेको छ । एमालेका वडाध्यक्षका उम्मेदवार सूर्यनारायण महतो प्यानलसहित विजयी भएका छन् । कर्जन्हा–२ मा एमालेका गणेशकुमार अधिकारी ४६६ मतसहित विजयी भएका हुन् ।
संघीय समाजवादी फोरम नेपालले सिरहाको भगवानपुर, औरही र विष्णुपुरको एक÷एक वडामा विजय हासिल गरेको छ । औरही गाउँपालिका–१ मा संघीय समाजवादी फोरम नेपालका वडाध्यक्षका उम्मेदवार सुरतलाल ठाकुर ५४७ मतसहित विजयी भएका हुन् । भगवानपुर गाउँपालिका–१ का संघीय समाजवादी फोरम नेपालकै वडाध्यक्षका उम्मेदवार बद्रीनारायण यादव विजयी भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । विष्णुपुर गाउँपालिका वडा नम्बर ५ मा कपिलदेव यादव प्यानलसहित विजयी भएका छन् ।
यस्तै, नवराजपुर वडा नम्बर २ मा नेपाली काँग्रेसका खुशीलाल साह २९४ मत प्राप्त गरी प्यानलसहित विजयी भएका छन् । यसअघि लहान नगरपालिका–२ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार शियाराम यादव ३४९ मत ल्याएर प्यानलसहित विजयी भएका थिए ।
सिरहाको कल्याणपुर नगरपालिकाको वडा नम्बर १ र २ मा राजपाका वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । कल्याणपुर नगरपालिका–१ मा ५१२ मतसहित राजपाका वडाध्यक्षका उम्मेदवार विशेश्वर मुखिया र वडा नम्बर २ मा सोही पार्टीका वडाध्यक्षका उम्मेदवार जयराम कामती विजयी भएका हुन् ।
विवादका कारण स्थगित भएको सिरहाको लहान नगरपालिकाको मतगणना कार्य आज बिहानदेखि पुनः शुरु भएको छ । निर्वाचन अधिकृत र दलका प्रतिनिधिबीच विवाद भएका वडाका खोलिएका मतपत्रलाई पुनः गणना गर्न सिलबन्दी गर्ने र अरु बाँकी वडाको मतगणना अगाडि बढाउने सहमति भएपछि बिहान ६ बजेदेखि शुरु भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादवले जानकारी दिए ।
लहान नगरपालिका–३ को मतगणनाको क्रममा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारले केही मतको अग्रता लिएपछि संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिले पुनः मतगणनाको माग गर्दै विरोध गरेपछि लहान नगरपालिकाको मतगणना कार्य मंगलबार दिउँसो २ बजेदेखि मतगणना कार्य अवरुद्ध भएको थियो ।
लहान नगरपालिकाको हालसम्मको मत परिणामअनुसार नेकपा (एमाले) ले अग्रता लिएको छ । प्रमुखमा एमाले १०३३, राप्रपा ८७४, नेपाली काँग्रेस ८११, संघीय समाजवादी फोरम नेपालले ७४७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
४ आश्विन २०७४, बुधबार
0
Shares







