सोलुखुम्बु । देशको विभिन्न स्थानीय तहमा चर्को कर लगाएको भन्दै सर्वत्र विरोध भैरहेको बेला सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५ वडा कार्यालयबाट सामाजिक सेवाको सिफारिस निशुल्क दिने भएको छ । वडा कार्यालयले जानकारीपत्र प्रकाशित गर्दै सामाजिक सेवा बापत लाग्ने सम्पूर्ण करलाई निशुल्क सेवा दिने घोषणा गरेको हो ।
नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मिङमार तामाङको हस्ताक्षर रहेको जानकारी पत्रमा सामाजिक सेवा सिफारिस निशुल्क दिन लागिएको हो । अबदेखि वडा नं. ५ का स्थानीयले नागरिकता सिफारिस, नावालक परिचयपत्र सिफारिस, मृतकसँगको नाता प्रमाणित, आदिवासी जनजाति, दलित, आर्थिक अवस्था कमजोर, विपन्न वर्ग, अपाङगताको छात्रवृत्तिको सिफारिस निशुल्क प्रदान गरिने वडा अध्यक्ष तामाङले बताए ।
साथै ६५ वर्षभन्दा माथीका जेष्ठ नागरिक तथा ‘क’ वर्गको अपाङगता भएको व्यक्तिहरुलाई प्रदान गरिने सबै सेवा सुविधाहरु निशुल्क गरिएको समेत तामाङले बताए । वडा कार्यालयभित्र महिलाको नाममा व्यवसाय दर्ता गर्दा १० प्रतिशत छुट दिइएको छ । त्यसैगरी कृषि सम्बन्धि व्यवसाय गर्नेलाई पनि १० प्रतिशत नै छुट दिइएको जानकारी पत्रमा उल्लेख छ ।
४ भाद्र २०७५, सोमबार
238
Shares






