सोलुखुम्बु । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको एक मात्र स्थानीय सरकार खुम्बुपासाङल्हामु गाउँपालिकाले गुरुयोजना तयार पार्ने भएको छ । गाउँपालिकालाई सुन्दर, सफा, मौलिक, व्यवस्थित, सुरक्षित, आधुनिक, आत्मानिर्भर, सबल, सुविधायुक्त र विकसित बनाउनको लागि गुरुयोजना बनाउन लागेको हो ।

विश्वको सर्वोच्च शिखर सगरमाथा, महालंगुर हिमश्रृंखलाहरु, विश्वसम्पदा–सूचीमा सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्ज लगायत विविध ऐतिहासिक, प्राकृतिक, जैविक, सांस्कृतिक, धार्मिक तथा पुरातात्विक सम्पदाले सम्पन्न गाउँपालिकाको गुरुयोजना बनाउन लागेको खुम्बुपासाङल्हामु गाउँपालिका गुरुयोजना संयोजक मिङमारछिरी शेर्पाले बताए । साविक जुभिङ गाविसको वडा नं. १, ५, ७, ८ र ९, चौंरीखर्क, नाम्चे र खुम्जुड गा.वि.स.गाभेर बनाइएको गाउँपालिका विश्वकै पर्यटकीय गन्तव्यमध्ये एक पर्दछ ।
गुरुयोजना निर्माण गर्नुभन्दा अगाडि “हामीकहाँ छौं” र “गाउँपालिकाको वर्तमान अवस्था के छ” भन्ने विषयमा सरोकारवालाहरुसँग छलफल गरिनेछ । गाउँपालिकाको सबै क्षेत्रको विषयमा तथ्य, तथ्यांक एवं सूचना संकलन गरी विस्तृत विवरण तयार गरि गुरुयोजना तयार गरिने पनि संयोजक शेर्पाले बताए । आधुनिक प्रविधिको प्रयोग मार्फत घरधुरी सर्भे, डिजीटल सर्भे, भ्रमण, अवलोकन, स्थलगत अध्ययन, अनुसन्धान, जियोलोजिकल अध्ययन एवं सर्भे, सल्लाह, सुझाव संकलन, स्थानीय तह तथा सरोकारवालासँग छलफल गरी गुरुयोजना निर्माणका लागि आवश्यकीय जानकारी, तथ्य, तथ्यांक र सूचना संकलन गरिने शेर्पाले बताए ।
गुरुयोजना निर्माणका लागि सरोकारवालाहरुको सल्लाह, सुझाव समेत मागिएको छ । अनलाइन, इमेल र विभिन्न सामाजिक सञ्जाल मार्फत विचार, सल्लाह, सुझाव लिने व्यवस्था समेत गरिएको शेर्पाले बताए ।
१८ आश्विन २०७५, बिहिबार
266
Shares







