१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

पर्यटन मजदुरको ज्याला नबढाएको भन्दै मजदुर संगठनले टानको कार्यालयमा लगाए तालाबन्दी




काठमाडौं । ट्रेकिङ क्षेत्रका पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)मा तीन मजदुर संगठनले तालाबन्दी लगाएका छन् । यूनिट्राभको नेतृत्वमा नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघले संयुक्तरुपमा तालाबन्दी लगाएका हुन् ।
गत साउनमा तलब, भत्ता, बीमा, चाडपर्व भत्ता लगायत विषयमा पर्यटन मजदुरहरुले टानसमक्ष सात सुत्रीय माग पत्र राखेको भएपनि तीन महिना बितिसक्दासमेत समस्याको समाधानतर्फ टान कार्यसमिति उदासिन भएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए ।
पथ प्रदर्शकको ज्याला वृद्धि, सामाजिक सुरक्षा ऐन, श्रम ऐन, श्रमिक दुर्घटना बीमा, औषधि उपचार बीमा र श्रमिकको हकहितको नाममा उठाएको टिम्स रकम सार्वजनिक गर्नुपर्ने, कल्याणकारी कोषको स्थापना गर्नुपर्ने, चाडपर्व खर्चको साथै विगतमा गरिएको सम्झौता कार्यन्वयनको माग गर्दै तालाबन्दी गर्नुपरेको उनले बताए ।

पटक–पटक ध्यानाकर्षण गराउँदासमेत टानले श्रमिकको जाहेज मागलाइ ध्यान नदिएको र सरकारले वृद्धि गरेको तलब भत्तासमेत श्रमिकले नपाएको भन्दै तालाबन्दीको विकल्प नभएको नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष कपिल पाण्डेले बताए । यता अखिल नेपाल पर्यटन मजदुर संघका महासचिव उपेन्द्र उप्रेतीले श्रमिकका जायज मागलाई संयुक्तरुपमा उठान गरिएको र समस्या समाधान नभएसम्म आफूहरु चरणबद्ध विरोधमा उत्रिने बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलबार  ४ : ४३ बजे