काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सोलुखुम्बु नेपालको मुख्य पर्यटकीय क्षेत्र भएको बताएका छन् । डा. रेणुका ‘सोलु’द्धारा लिखित सन्देशमूलक गीत ‘सोलुखुम्बु आउनू है हजुर’को म्युजिक भिडियो लोकापर्ण गर्दै मन्त्री अधिकारीले सरकारले पर्यटन वर्ष २०२० का लागि गीत एकदमै समय सान्दर्भिक र पर्यटकहरुका लागि महत्वपूर्ण भएको बताएका हुन् ।

नेपालकै पहिलो खेलकुद मन्त्री, पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले सोलुखुम्बुको विकास तथा जनहीतमा जस्तोसुकै परिस्थितिमा पनि साथ र सहयोग गर्ने बताएका छन् । म्युजिक भिडियो लोकार्पण कार्यक्रमको विशेष अतिथिको आसनबाट बोल्दै केसीले सोलुखुम्बुको लागि संस्था, व्यक्ति र जुनसुकै विचारको भएपनि विकास र जनताको पक्षमा भएको कामको समर्थन गर्ने बताएका हुन् ।

‘सोलुको विकासका लागि, उन्नतीका लागि, समृद्धिका लागि ज–जसको प्रतिबद्धता हुन्छ, त्यसलाई स्वागत गर्ने, सोलुको नागरिकको हैसियतले म सँधैभरी तयार छु,’ केसीले भने, ‘एउटा बेला आउँछ, जो बेलामा नचुँकीकन, स्थायी केहि छैन, सँधैभरी यही ठाउँमा रहिरहन्छु भन्ने कसैले नसोचे हुन्छ, हिजो म सोच्थे ? अब त को हो र म ? यी यता आए, अब भोली अर्कै आउँछन् ?’ भन्दै सांसद हेमकुमार राई ‘सुरवीर’तर्फ संकेत गरे ।
सोलुखुम्बु जिल्लाका प्रतिनिधिसभा सदस्य सांसद हेमकुमार राई ‘सुरवीर’ले सोलुखुम्बु जिल्लामा पर्यटन विकास गर्नका लागि सगरमाथा मात्रै नभएर पर्यटकका लागि अन्य धेरै दृष्यहरु भएको बताए । कार्यक्रममा विशेष अतिथिको आसनबाट बोल्दै सांसद राईले सोलुखुम्बु जिल्ला प्राकृतिक हिसाबले सम्पन्न भएकाले म्युजिक भिडियोमा जिल्लाको साँस्कृतिक दृष्यलाई पनि देखाइएकोमा खुशी व्यक्त गरेका छन् ।

‘गीत सोलुखुम्बुबासीको मात्र नभएर सम्पूर्ण नेपालीको सम्पत्ती हो, यसलाई हामी सबैले माया गर्नुपर्छ, सम्मान गर्नु पर्छ, सोलुखुम्बुलाई समृद्ध बनाउनका लागि हामी सबै आ–आफ्नो ठाउँबाट लाग्नु पर्छ’ सांसद राईले भने, ‘मेरो तर्फबाट यो गीतको लागि आवश्यकता भए जुनसुकै बेला सहयोग गर्न तयार छु ।’ सांसद राईले पूर्व सांसद केसीप्रति संकेत गर्दै भने, ‘पूर्व सांसद तथा मन्त्रीले मप्रति इङ्गीत गर्दै जति कुरा गर्नु भयो म उहालाई धन्यवाद दिन चाहन्छु, इहिासमा भएका कमिकमजोरीलाई सुधार्दै लैजाने छु ।’
सोलुखुम्बु प्रदेश ‘क’ प्रदेशसभा सांसद उत्तमकुमार बस्नेतले विश्वभरिका पर्यटकहरु सगरमाथा हेर्न आउँदा तिरेको राजस्वले सोलुखुम्बुलाई कत्तिको विकास गर्यो भन्दै सरकारप्रति प्रश्न गरेका छन् । सोलुखुम्बुमा हिमाल सेतै हाँसेको भएपनि त्यस क्षेत्रमा बसोबास गर्ने स्थानीयहरुको लुकेको पीडा सरकारले देख्न नसकेको बताएका हुन् ।

थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले सोलुखुम्बुलाई वर्णन गर्ने कालजयी गीत बनेकोमा खुशी व्यक्त गरेका छन् । स्थानीय सरकार प्रमुख भएकाले गीतको लागि स्थानीय तहबाट आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत अध्यक्ष राईले गरे ।

सफल व्यवसायी तथा नेपाली कांग्रेस सोलुखुम्बुका यूवा नेता प्रकाशसिं कार्कीले नेपालमा दिनप्रतिदिन पर्यटकहरुको संख्या बढिरहेको अवस्थामा यस्ता सन्देशमूलक गीतले पर्यटन विकासमा थप टेवा पुग्ने बताएका छन् । सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने भने पनि यहि संरचनाले मात्र धान्न नसक्ने नेता कार्कीले बताए ।

पर्यटन व्यवसायी तथा अन्तराष्ट्रिय पर्वतारोहण महासंघको मानार्थ सदस्य आङछिरिङ शेर्पाले म्युजिक भिडियोमा देखाइएको सोलुखुम्बुका पर्यटकीय क्षेत्रको दृष्यहरु उत्कृष्ठ भएको बताएका छन् । संसारको उत्कृष्ठ पर्यटक गन्तव्यको रुपमा सोलुखुम्बु जिल्लालाई लिइने पनि शेर्पाले बताए ।

गायक तथा संगीतकार जसिहाङ राईले गीत कम्पोजको लागि डेढ महिनाको समय मागेपनि गीतको शब्द हेरेपछि तत्कालै कम्पोज गरेको बताए । गीतमा सोलुखुम्बु जिल्लाको सुन्दर चित्र उतारिएकाले सोलुखुम्बु जानको लागि पर्यटकहरुलाई गीतमा देखाइएको दृष्यले उत्साहित बनाउने समेत गायक राईले बताए ।

‘सोलुखुम्बु आउनू है हजुर’ मा गायिका जेनि खालिङ राई र गायक जसिहाङ राईले आवाज दिएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/UfqscNB_rsQ
२९ मंसिर २०७५, शनिबार
658
Shares







