एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार अरूणाचलमा नयाँ विमानस्थलको शिलान्यास गरेपछि चीन र भारतबीच विवाद बढेको छ । आगामी लोकसभा चुनावका लागि मोदी अहिले देश दौडाहामा छन् । २ दिने भ्रमणका लागि अरूणाचल पुगेका मोदीले शनिबार होलोंगी विमानस्थलको शिलान्यास गरेका थिए ।

मोदीको शिलान्यासलगत्तै चिनियाँ विदेश मन्त्रालयले उनको अरूणाचल भ्रमणबारे आपत्ति जनाएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनइङले शनिबार नै विज्ञप्ति जारी गर्दै अरूणाचलबारे चीनको धारणामा उहिलेदेखि प्रष्टता र एकरूपता भएको बताएकी छन् । ‘चीनले कहिल्यै पनि अरूणाचल प्रदेशलाई मान्यता दिएको छैन । र, चीन-भारतको सीमामा पर्ने यहाँ कुनै पनि भारतीय नेताले गर्ने भ्रमणको औपचारिक रूपमा विरोध गरेको छ,’ प्रवक्ता चुनइङको विज्ञप्तिमा भनिएको छ ।
भारतले दुई देशको सम्बन्धको ख्याल गर्दै चिनियाँ चासो र स्वार्थको सम्मान गर्न र दुई देशको सम्बन्ध सुधारको गतिलाई बल दिन सीमा विवादलाई बल्झाउने कुनै पनि क्रियाकलाप गर्न नहुने विज्ञप्तिमा उल्लेख छ । जवाफमा भारतले अरूणाचल आफ्नो अभिन्न अंग भएकाले देशभित्रका अरू ठाउँमा जस्तै अरूणाचलमा पनि नेताहरूले बेलाबेलामा भ्रमण गर्दै आएको बताएको छ । ‘अरूणाचलको जारी यो अवस्थाबारे चिनियाँ पक्षलाई बेलाबेलामा जानकारी गराइएकै छ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
अरूणाचललाई नयाँदिल्ली भारतीय राज्य मान्छ, तर बेइजिङले यहाँको ठूलो क्षेत्र दक्षिण तिब्बत भएको दाबी गर्दै आएको छ । चीन-भारतबीच सन् १९६२ मा भएको युद्धको केन्द्रमा यो विवादित क्षेत्र थियो । ‘अरूणाचल प्रदेश भारतको गर्व हो । यो भारतको गेटवे हो,’ शिलान्यास कार्यक्रममा मोदीले भनेका थिए, ‘म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु । हामी यसको सुरक्षामात्र ध्यान दिने छैनौं बरू यसलाई विकासको फास्टट्रयाकमा पनि राख्नेछौं ।’
गत डिसेम्बरमा चिनियाँ कामदार अरूणाचलको उपर सियाङ जिल्लामा सडक बनाउन आएपछि बेइजिङ र नयाँदिल्लीबीच नयाँ विवाद सुरू भएको थियो । चिनियाँ कामदारले सडक बनाउन थालेको ठाउँमा भारतीय सेना गएपछि उनीहरू पछि हटेका थिए । दुबै तर्फका सैनिक अधिकारीले गत बुधवार विवादबारे छलफल गरेको इन्डिया टुडे समाचारपत्रले जनाएको छ ।
सन् २०१७ मा दोक्लम विवादलाई लिएर चीन र भारतका सेना ७३ दिनसम्म आमनेसामने भएका थिए । गत वर्ष अप्रिलमा चिनियाँ शहर वुहानमा राष्ट्रपति सी चिनफिङसँग प्रधानमन्त्री मोदीको अनौपचारिक भेटवार्तापछि सुधार भएको भनिएको चीन-भारत सम्बन्धमा अरूणाचल विवादले फेरि जटिलता आउन सक्ने विश्लेषकहरूले बताएका छन् ।
२७ माघ २०७५, आइतबार
112
Shares







