२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

सिक्किम निर्वाचन : चाम्लिङको २५ वर्षे शासन सत्ता उल्ट्याउने गोलेले को हुन् !


एजेन्सी

१० जेष्ठ २०७६, शुक्रबार  

1.5k
Shares

काठमाडौं । सिक्किममा पवन चाम्लिङको २५ वर्षे शासन सत्ता प्रेमसिंह तामाङ (पी.एस. गोले)ले उल्टाई दिएका छन् । भारतको १७ औं विधानसभा चुनावमा चाम्लिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले पराजय व्यहोरेको छ ।

सिक्किममा विधानसभाका ३२ सिटमध्ये पी.एस. गोले नेतृत्वको क्रान्तिकारी मोर्चाले १७ सिटमा जित हासिल गरेको छ । चाम्लिङ नेतृत्वको डेमोक्रेटिक फ्रन्ट १५ सिटमा विजयी भएको छ । जबकी सन् २०१४ को चुनावमा चाम्लिङको पार्टीले २२ सिट जितेको थियो ।
सिक्किमको एकमात्र लोकसभा सिटमा पनि सिक्किम क्रान्तिकारी मोर्चा नै विजयी भएको छ । यससँगै सिक्किम क्रान्तिकारी मोर्चाले राज्य विधानसभा र लोकसभा दुवैमा आफ्नो पकड जमाएको छ ।
को हुन् पी.एस. गोले ?
अब गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले नयाँ सरकार बनाउने छ । गोले विगतमा पवन चाम्लिङकै पार्टीमा थिए । तर, उनले त्यहाँबाट अलग भएर नयाँ पार्टी ‘सिक्किम क्रान्तिकारी मोर्चा’ (एसकेएम) गठन गरेका थिए ।
सन् १९९० मा प्रेमसिंहले ग्राजुएट शिक्षकको रुपमा सरकारी जागिर खाए । तर तीन वर्षमै शिक्षक पदबाट राजीनामा दिए । त्यसपछि उनी सामाजिक र राजनीतिमा अझ सक्रिय भएर लागेका थिए । भ्रष्टाचारको मुद्दामा केही महिना जेल सजायँसमेत भोगेका गोले आफू चुनावमा प्रतिष्पर्धा नगरे पनि उनको पार्टीले विधानसभाका ३२ वटै सिटमा उम्मेद्वार खडा गरेको थियो ।
सिक्किमको प्रमुख प्रतिपक्षी सिक्किम क्रान्तिकारी मोर्चाले भ्रष्टाचार नियन्त्रण गर्ने र बेरोजगारलाई रोजगारी दिने मुख्य एजेन्डा लिएर चुनाव लडेको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  ३ : ०२ बजे