२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

सिक्किमको छैठौं मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) बने

पवन चाम्लिङले गरे बहिस्कार


१३ जेष्ठ २०७६, सोमबार  

217
Shares

सिक्किम । प्रेमसिंह तामाङ (गोले) सिक्किमको छैठौं मुख्यमन्त्री बनेका छन् । उनले बिहान १० बजे राज्यपाल गंगा प्रसादबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

राजधानी गान्तोकको पाल्जोर स्टेडियममा भव्य समारोहकाबीच गोलेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । अध्यक्ष गोलेसहित मन्त्रिपरिषदका केही सदस्यहरूले पनि शपथ ग्रहण गरेका छन् । सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष गोलेले हालै भएको विधानसभा निर्वाचनमा पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टको २५ वर्ष लामो शासन पल्टाइदिएका थिए ।
गोले आफैं चुनाव नलडे पनि उनको पार्टीले सिक्किममा ३२ विधानसभा सिटमध्ये १७ सिट जितेको थियो । सन् २०१४ मा २२ सिट जितेको फ्रन्ट भने यस पटकको चुनावमा १५ सिटमा खुम्चिएको थियो । भारतमा विधानसभा सदस्य नभएको व्यक्ति पनि मुख्यमन्त्री बन्न पाउने व्यवस्था छ । त्यस्तो व्यक्ति ६ महिनाभित्र विधानसभा सदस्य भइसक्नुपर्छ । अब प्रेमसिंह गोलेले कुनै एउटा सांसदलाई राजीनामा दिन लगाउने छन् र सो निर्वाचन क्षेत्रमा आफू चुनाव लडेर निर्वाचित हुनेछन् ।
पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टबाट अलग भएर प्रेमसिंहले सिक्किम क्रान्तिकारी मोर्चा गठन गरेका थिए । उनी चाम्लिङको पार्टीमा रहँदा भ्रष्टाचार गरेको आरोपमा सन् २०१६ मा एक वर्षसम्म जेल परेका थिए । भ्रष्टाचारी ठहर व्यक्ति मुख्यमन्त्री बनेको भन्दै चाम्लिङ नेतृत्वको पार्टीले भने उनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  ६ : १४ बजे