फ्रान्स । लण्डनबाट रेल चढेर पेरिस पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार फ्रान्स, स्वीटजरल्याण्ड र इटालीको सीमानामा अवस्थित शामोनी हिमवत क्षेत्रमा केवलकार चढेर हिमाली पर्यटनको मज्जा लिए ।

प्रधानमन्त्री ओलीसहितको नेपाली टोलीले शामोनीमा रहेको उच्च प्रविधिको केबुलकार चढेर हिमाली पर्यटनको अवलोकन गरेको हो । शामोनी शहर फ्रान्स, इटाली र स्वीट्जरल्याण्डको सीमानामा पर्छ । साथै यो युरोपको सबैभन्दा ठूलो हिमालको फेदीमा पर्ने ठाउँ पनि हो ।
यसक्षेत्रमा स्की एवं हिउँमा गएर चिप्लेटी खेल्नका लागि पूर्वाधारहरुको विकास गरिएको छ । हिमाली क्षेत्रमा पर्यटकहरुलाई कसरी आकर्षण गर्न सकिन्छ भन्ने उदाहरण शामोनीमा देख्न सकिन्छ ।
फ्रान्स निवासी निर्मल अर्यालका अनुसार हिमाल आरोहणमा जाने नेपालका शेर्पाहरु यहाँ पुगेर स्की सिकेर नेपाल फर्कने गरेका छन् । उनी भन्छन्, ‘सन् १९८२ देखि इपोले भिलार फाउण्डेसन सुरु भएदेखि हालसम्म ३ सय नेपाली गाइडहरुले यहाँ तालिम लिइसकेका छन् । अन्तराष्ट्रिय स्तरको प्रमाणपत्र लिन स्की आवश्यक पर्ने हुदाँ यहा तालिम लिन आउने गरेको पाइन्छ ।’ सन् १९८२ बाट यो तालिम दिन थालिएको अर्याल बताउँछन् । अनलाईन खबरबाट ।







