ओखलढुंगा । सरकारले स्वर्ण सगरमाथा वृहत चक्रपथ निर्माणका लागि ४२ करोड बजेट विनियोजन गरेको छ । माथिल्लो सगरमाथा क्षेत्रका तीन जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङलाई व्यवस्थित एउटै सडक सञ्जालमा जोड्ने उक्त आयोजना निर्माण गर्न आगामी वर्षका लागि सरकारले ४२ करोड बजेट विनियोजन गरेको हो ।

निर्माणाधिन स्वर्ण सगरमाथा वृहत चक्रपथलाई बहुवर्षिय योजनाका रुपमा अघि बढाएर सम्पन्न गर्ने लक्ष्यका साथ सरकारले ४२ करोड बजेट विनियोजन गरेको प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले बताए । नयाँ आर्थिकवर्ष सुरु भए लगत्तै ४२ करोडको काम अघि बढ्ने र यसले माथिल्लो सगरमाथा क्षेत्रका ३ जिल्लाको समृद्धिमा टेवा पुग्ने उनको भनाई छ ।
‘निवर्तमान उपप्रधानमन्त्री इश्वर पोखरेलको अवधारणा अनुसार अघि बढेको राष्ट्रिय गौरवको योजना हो । यसले सडक विकासमा पछि परेका दुर्गम जिल्लामा समृद्धि ल्याउँछ ।’ मन्त्री गुरुङले भने, ‘अहिले धमाधम काम भईरहेको छ । बजेट अभाव नहोस् भनेर ४२ करोड बजेट थप गरिएको छ । क्रमागत रुपमा हामी बजेट व्यवस्थापन गरेर आयोजना सम्पन्न गर्छौ ।’ ओखलढुंगा सदरमुकाम नजिक विप्लाटेबाट निर्माण सुरुभएको स्वर्ण सगरमाथा वृहत चक्रपथ सोलुखुम्बु सदरमुकाम सल्लेरीहुँदै खोटाङ सदरमुकाम दिक्तेलबाट फेरि ओखलढुंगा जोडिने छ ।

स्वर्ण सगरमाथा वृहत चक्रपथ आयोजना कुल १ सय ३५ किलोमिटरको हुने अनुमान गरिएको छ । अहिले ओखलढुंगाबाट सोलुखुम्बुको सुकेपोखरी सम्म ७५ किलामिटरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनिसकेको छ । ओखलढुंगाको विप्लाटेबाट सोलुखुम्बुको नेचासल्यान गाउँपालिका हुँदै थुलुङ दुधकोशी गाउँपालिकाको पञ्चन सम्म ३८ किलो मिटर सडकमा २ वटा ठेक्का मार्फत काम भइरहेको सडक डिभिजन कार्यालय हर्कपुरका प्रमुख अरुणकुमार लाल कर्णले बताए । २ मध्ये एउटा ठेक्काको काम सकिएको र अर्को निर्माणकै चरणमा रहेको उनको भनाई छ । चालु आ.व.मा स्वर्ण सगरमाथा वृहत चक्रपथका लागि १४ करोड आएको थियो ।







