सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुको १५ औं अधिवेशनबाट पर्यटन व्यवसायी चोलेन्द्र बहादुर कार्की केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । खुल्लातर्फ उम्मेदवारी दिएका कार्कीले सान्दार मतका साथ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् ।
को हुन् चोलेन्द्र कार्की ?
२०६१ सालदेखि नेपाली कांग्रेसको विचार, सिद्धान्त र संगठनसँग जोडिएर सक्रिय रहँदै आएका कार्कीको राजनीतिक यात्रा संघर्षबाट सुरु भएको हो। तत्कालीन राजतन्त्रविरुद्धको आन्दोलनमा सहभागी हुँदा उनले २४ दिन जेल जीवनसमेत बिताएका थिए।
त्यसपछि पार्टीका विभिन्न आन्दोलन, कार्यक्रम तथा निर्वाचनमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका कार्कीले २०६४ सालदेखि संगठन र कार्यकर्तासँग नजिक रहेर काम गर्दै आएका छन्।

राजनीतिसँगै पर्यटन क्षेत्रमा पनि सक्रिय कार्कीले नेतृत्वदायी जिम्मेवारी सम्हालिसकेका छन्। २०७६ भदौ १९ गते ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (TAAN) को प्रथम उपाध्यक्षमा निर्वाचित भएर तीन वर्ष काम गरेका उनले पर्यटन क्षेत्रको विकास तथा व्यवसायीहरूको हकहितका लागि समेत योगदान दिएका छन्। उनी नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघका संस्थापक उपाध्यक्षसमेत हुन्।







