वि.सं. २०४८ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको जिल्ला अध्यक्ष भएका थिए जुद्धबहादुर कार्की । वि.सं. २०५३ साल मंसिर महिनाबाट निरन्तर जिल्ला कमिटि सोलुखुम्बुमा सदस्य भएर सक्रिय राजनीति गर्नु भयो । एक कार्यकाल भने सचिलाय प्रणालीमा कार्यालय सचिव भएर लोकप्रिय काम गर्नुभयो ।
स्थानीय तहको निर्वाचन वि.सं. २०७४ साल वैशाख ३१ गते एकै पटक देशव्यापी रुपमा हुने भएको छ । यसै विषयको सेरोफेरोमा रहेर सगरमाथा अनलाईनका प्रधान सम्पादक बुद्धवीर बाहिङले नेकपा एमाले सोलुखुम्बुका प्रभावशाली युवा नेता जुद्धबहादुर कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा यसलाई कसरी लिनु भएको छ ?
यो निर्वाचन त, यो मुलुकमा अत्यन्तै आवश्यक छ । वि.सं. २०५४ सालमा स्थानीय निकायको निर्वाचन भयो । त्यो पछाडि मूलुकमा विभिन्न राजनैतिक घटना तथा परिघटनाको कारणले अहिलेसम्म स्थानीय निकायको निर्वाचन हुन सकेन । नेपालको संविधान २०७२ ले व्याख्या गरे अनुसार स्थानीय तहको निर्वाचन सरकारले घोषणा गरिसकेको छ । अब यो निर्वाचन हुन्छ, हुनुपर्छ । जसरी पनि निर्वाचन गराएर, अहिले यो देशको विकासलाई अग्रगति प्रदान गर्नु पर्ने मुलुकलाई आवश्यकता छ ।

सोलुखुम्बु जिल्लाको एक नगरपालिका र सात वटा गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको कुन स्थान आउँछ ?
यो स्थानीय तहको निर्वाचनमा सात वटा गाउँपालिकामध्ये बढिभन्दा बढि हाम्रो पार्टि नेकपा एमालेनै विजयी हुन्छ भन्ने म विश्वास्त छु । नगरपालिकामा पनि हाम्रो विजय निश्चित छ, किनभने वि.सं. २०५४ सालको स्थानीय निकायको निर्वाचनमा सोलुखुम्बु जिल्लाको ३४ गाविसमध्ये २१ वटा गाविसमा विजयी गरेका थियौं र जिल्ला विकास समिति एकछत्र रुपमा चलाएका थियौं । यसपटक त झन राष्ट्रिय स्तरमै देशव्यापी रुपमा नेकपा एमालेको पक्षमा अत्यन्तै राम्रो माहोल छ । अत्यन्तै राम्रो ढंगले नेकपा एमालेका नेता, कार्यकर्ताहरु देशव्यापी रुपमा देश दौडाहमा व्यस्त छन् । जनताले प्रष्ट बुझेका छन्, नेकपा एमाले राष्ट्रको राष्ट्रवादी पार्टी हो । यो मुलुकमा नेकपा एमालेको आवश्यकता रहेछ, यसलाई विजयी गराउनु पर्छ, यसको अपरिहार्यता छ, नेकपा एमालेबिना यो मुलुकको अस्थित्व कमजोर हुन्छ भन्ने कुरा सर्वसाधारण जनताले बुझिसकेका छन् । त्यसैले नेकपा एमालेले यस पटकको स्थानीय तहको निर्वाचनमा पूर्ण रुपमा विजयी हुन्छ ।

वि.सं. २०५४ कै स्थानीय निर्वाचनको परिणामलाई नेकपा एमाले सोलुखुम्बुले दोहो¥याउछ की, अझ बढि मत परिणाम प्राप्त गर्छ, के छ, तपाईको आँकलन ?
यस पटक त सम्पूर्ण कुरा बुझ्दाखेरी, राष्ट्रिय माहोलले गर्दाखेरी त्यो भन्दा राम्रो परिस्थिति सिर्जना हुन्छ । वि.सं २०५४ सालको भन्दा यसपटक भारी मत ल्याएर नेकपा एमालेले सोलुखुम्बुमा स्थानीय तहको निर्वाचनमा विजयी हुने मैले सम्भावना देखेको छु ।
सोलुखुम्बुमा नेकपा एमाले पहिलो पाटि हो भन्नु भयो यसको तथ्यगत आधारहरु के के छन् ?
नेकपा एमाले सोलुखुम्बुमा मात्र होइन, यो देशमै पहिलो पाटी हो । किन भने एमालेको राष्ट्रिय स्तरमा माहोल राम्रो छ । डेढ वर्ष अगाडि संविधान घोषणा भयो । अहिले नै संविधान संशोधन गर्नु पर्छ भनेर कांग्रेस, माओवादी केन्द्रले प्रस्ताव ल्याए, संशोधन प्रस्ताव संसदमा दर्ता गराए, त्यो संशोधन प्रस्तावको विरुद्धमा नेकपा एमाले उभिएको छ, किनभने अहिले ५ नंबर प्रदेशका कुनै पनि पाटीका कुनै पनि नेताहरु प्रदेश टुक््रयाउनु पर्छ भन्ने विचारमा छैनन् । ५ नंबर प्रदेश टुक््रयाउँदाखेरी मुलुक टुक्रिन्छ भन्ने कुरामा सबै राजनैतिक दलका नेताहरु सहमत छन्, त्यस कारणले अहिले नेकपा एमालेले यो कुरालाई राम्ररी बुझेको छ । त्यसैले यो मुलुकको अस्थित्व जोगाउनु पर्छ । कसैलाई यहाँ घुसपैठ हुन दिनु हुँदैन । यो राष्ट्रलाई कमजोर हुन दिनु हुँदैन् भन्ने पक्षमा एमाले उभिएको छ । अर्को कुरा हिजो भारतले नाकाबन्द गर्दाखेरी होस या संविधान संशोधनको विषयमा होस नेकपा एमालेले राष्ट्रियताको विषयमा, राष्ट्रियताको सवालमा, राज्य व्यवस्थापन गर्ने क्रममा राष्ट्रिय मुद्धा उठाउने नेकपा एमाले नै भएको छ । यो कुरा अहिले यत्रो मिडियाको पहुँच हुँदा, यत्रो सञ्चारको सुविधा हुँदा, सामान्यतय गाउँमा बस्ने आम नागरिकले बुझेका छन् । यो मूलुक जोगाउने, यो मुलुकलाई बलियो बनाउने, यो मुलुकको हितमा बोल्ने, विकास र समृद्धिको लागि बोल्ने पाटी नेकपा एमाले मात्रै रहेछ, भन्ने कुरा जनताले बुझेका छन् । यसर्थ नेकपा एमालेको राम्रो माहोल छ, नंबर एक । नंबर दुई नेकपा एमालेका नेता तथा कार्यकर्ता वि.सं. २०५४ सालदेखि यता निर्वाचित भएर गाउँमा रहँदाखेरि उनीहरुले जनताको बीचमा, कार्यकर्ताको बीचमा विकास र जनसरोकारको विषयमा राम्रो ढंगले काम गरेको छबि अहिले पनि गाउँमा छ । त्यस कारणले नेकपा एमालेसँग अरु पाटीकोभन्दा स्थापित कार्यकर्ताहरु, इमान्दार कार्यकर्ताहरु गाउँ स्तरमा अहिले पनि बसिरहेका छन् ।
१० वर्ष मुलुकमा द्धन्द्ध भयो । द्धन्द्धको बेला नेपाली कांग्रेसका कोहि पनि व्यक्तिहरु गाउँमा बसेनन, इभन सदरमुकाममा समेत कोहि पनि बसेनन्, सदरमुकाममा पनि हामीले कार्यक्रमहरुतिर बोलाउनु प¥र्यो भने कांग्रेसका सामान्य मान्छेहरुलाई आऊ भन्दा पनि उनीहरु त्यहाँ आएर उभिएर बोल्न सक्दैनथे । त्यत्तिबेला हाम्रो पाटीको सचिव बुद्धिकुमार राजभण्डारी र म कार्यालय सचिव हामी दुईजना भएर सोलुखुम्बु जिल्लाको सर्वसाधारण जनताको हरेक पलपलमा हामीले सहयोग ग¥र्यौ, त्यो कुरा जनताहरुलाई थाहा छ । जनताले कुरा बुझेका छन् । हिजो त्यो बेला माओवादीले गाउँ जन सरकार (गाजस) का विभिन्न पाटीका सर्वसाधारण जनताहरुलाई राख्दाखेरी उनीहरुलाई त्यो बेलाको राज्य व्यवस्थाले तारिख धाउन लगायो । तारिख दियो, कतिलाई पक्रेर ल्यायो । त्यो बेला बुद्धिकुमार राजभण्डारी र मैले जमानी बसेर उनीहरुलाई छुट्याउने काम गरियो, उनीहरुलाई तारिख नदेउ भन्ने र उनीहरुलाई सहयोग गर्ने, यी हाम्रा कार्यकर्ता हुन् भनियो । कांग्रेसकै कार्यकर्तालाई पनि यी मान्छे एउटा इमान्दार कांग्रेस हो, ऊ माओवादी होइन, यसरी दुःख दिन पाइन्न, यसरी सरकारले सर्वसाधारण जनतालाई दुःख दिनु हुँदैन भनेर हामीले जनताको पक्षमा वकालत ग¥र्यौं । त्योबेलादेखि हामीले जनताको सेवाको लागि लडेका छौं । त्यो बेलादेखि जनताको सेवाको लागि बोलेका छौं, आवाज उठाएका छौं ।
हाम्रा कार्यकताहरु गाउँमा स्थापित भएका छन् । जनताले प्रष्ट चिनेका छन्, बुझेका छन्, यसर्थमा हाम्रो पाटीको स्तर माथि छ । नंबर ३ कुरा के हो भन्नु हुन्छ भने नेकपा एमालेले यो निर्वाचनलाई एउटा राष्ट्रिय स्तरमा राम्रो ढंगले राष्ट्रिय मुद्धा उठाउने र राष्ट्रियताको विषयमा बोल्ने, त्यो हाम्रो पाटिका नेताहरु जिल्ला स्तरका, गाउँ स्तरका विभिन्न नेता तथा कार्यकर्ता बुझ्नु पर्छ, बुझाउनु पर्छ, हामी बुझाउँछौं । त्यो पछाडि सर्वसाधारण जनतामा एउटा माहोल बन्छ । सर्वसाधारण जनताले एमालेको सम्पूर्ण नीति तथा कार्यक्रमलाई बुझ्दछन्, मनन् गर्नेछन् अनि एमालेले बहुमत प्राप्त गर्नेछ । यी ३ वटा कारणले हामी अगाडि हुनेछौं ।
त्यसो भए सोलुखुम्बु जिल्लामा नेकपा एमालेसँग प्रतिस्पर्धा गर्ने राजनैतिक दल कुन हुन्छ ?
सोलुमा नेकपा एमालेको राजनैतिक प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुन्छ । किनभने नेपाली कांग्रेस पनि सोलुमा पुरानो संगठन हो । उनीहरुको पनि प्रचारप्रसारदेखि लिएर राष्ट्रिय स्तरमै राम्रै छ । अहिले मुलुकमा पहिलो पार्टी भएको छ । तर उनीहरुमा राष्ट्रको माया, राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्रप्रतिको बफादारीता चाँहि देखिएन । तर त्यक्ति हुँदा पनि दोस्रो शक्ति भनेको सोलुखुम्बुमा नेपाली कांग्रेस नै हो ।
नेकपा एमाले सोलुखुम्बुमा दुई विचार समूह प्रष्ट रुपमा देखिएको छ । अहिलेको नेकपा एमाले सोलुखुम्बुको जिल्ला कमिटिलाई हेर्दा कसरी विश्लेषण गर्नु भएको छ ?
नेकपा एमाले सोलुखुम्बुमा दुई विचार समूह छ भन्नुभयो, पाटीभित्र दुई विचार समूह छैन, तर जतिबेला नेकपा एमाले पाटी स्थापना भयो, त्यही कालदेखिनै हाम्रो पाटीभित्र विचार विभिन्न कोणबाट आउन थाल्यो, विचारको प्रतिस्पर्धा भयो । विचारको प्रतिस्पर्धा हुने क्रममा पाटीभित्र एउटा अन्तरसंघर्ष हुन्छ, त्यो जहाँ पनि हुन्छ, हरेक पाटीमा हुन्छ । त्यो हाम्रो पाटिको आन्तरिक समस्या हो । यसलाई समस्या भने पनि अथवा पाटीको एउटा मेरुदण्ड भएपनि पाटी अगाडि बढ्नको लागि पाटीभित्र अन्तर संघर्ष चाहिन्छ, र त्यो अन्तर संघर्षभित्र विचारहरु कुनै पनि कुरामा एउटै विचार, एउटै मत, एउटै विषयवस्तु हुँदैन् । हाम्रो जिल्ला कमिटिमा त्यस्तो कुनै गुट छैन, तैपनि दुईवटा समूह भने भएको छ । त्यस्तो समूह सोलुखुम्बु जिल्लाको कारणले भन्दा पनि केन्द्रीय स्तरबाटै दुईवटा समूह भएकाले त्यस्को जिल्लामा केहि प्रभाव परेको हो ।
जिल्लामा पनि विचारको अन्तर संघर्ष हुँदाखेरी विचार भन्ने कुरा एउटै व्यक्तिको विचारमा सबै सहमत हुँदैनन् । कोहि कसको विचारमा सहमत हुन्छन् त, कोहि अर्काको अर्को विचारमा सहमत हुन्छ । त्यसै कारणले हिजो स्थापनाकालमा त नेपाल कम्युनिष्ट पाटी एउटै थियो । आज धेरै वटा वामपन्थी धार किन निस्कीए भन्दा खेरी विचारको अन्तर संघर्ष भएर हो । सबैको उद्देश्य, एउटै लक्ष्य के हो भन्दाखेरी साम्यवाद स्थापना गर्ने हो । साम्यवाद स्थापना गर्नको लागि आधार तयार गर्न यी विचारहरु, यी भावनाहरु भैरहेका छन् । यसले मुलुकको राजनैतिकलाई अगाडि नै बढाउँछ, मलाई त्यस्तो लाग्छ ।
सोलुखुम्बु जिल्लामा नेकपा एमालेको संगठन हेर्दा अन्य राजनैतिक पाटीको भन्दा धेरै राम्रो छ, तर केन्द्रीय निर्वाचनमा किन एमालेले पराजित व्यहोरी रहेको छ ?
अब यस प्रश्नमा दुई तिन वटा कुराहरु छन् । वि.सं. २०४८ सालमा नेपाली कांग्रेसले स्वतः स्फूर्त रुपमा चुनाव जितेको हो । त्यो कुरालाई हामीले होइन भन्नु हुन्न । वि.सं. २०५१ सालको मध्यवधि निर्वाचन र २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार बलबहादुर केसीले सोलुखुम्बुमा ठूलो गुण्डागर्दी गरेर, बुथ क्याप्चर गरेर, चुनाव जितेको हो ।
वि.सं. २०५१ सालको मध्यवधि निर्वाचनमा मुक्लीको एउटा बुथलाई सर्वसाधारण जनताले भोट हालिरहेको ठाउँमा मतपेटिकाको बाकसलाई लात्ताले हानेर चुनाव भाँडेर, भोलिपल्ट चुनाव री गराएर अर्को दोस्रो हुनेलाई त्यत्तिबेला प्रहरीले पक्राउ गर्न खोजेर, उनीहरुलाई खेदेर, त्यहाँ निर्वाचन दोहो¥याएर, एकलौटी मत हालेर विजय गराएको थियो । त्यो कुरा दुनियाँलाई थाहा छ । त्यसरी नेपाली कांग्रेसका बलबहादुर केसी निर्वाचित भएको हो । झन वि.सं. २०५६ सालको चुनावमा त सोताङ बुथमा देशभरीका गुण्डाहरु जम्मा गरेर कसैको टाउको फुटेको छ, कसैको हात भाँचिएको छ, कसैलाई गोली लागेको छ । त्यत्तिबेला एउटा राजनीतिज्ञले गर्नु पर्ने व्यवहार त्यहाँ देखिएन । अत्यान्तै ठूलो भयानक, भयाभय स्थिति सिर्जना गरेर जिल्लामा ११ वटा बुथ क्याप्चर गरेर एकलौटी ढंगले निर्वाचन गराएर चुनाव जितेको हो ।
वि.सं. २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा सम्पूर्ण माहोल माओवादीको पक्षमा भयो र त्यत्तिबेला गोपाल किरातीले जितेको हो । हाम्रो पाटीको पनि स्थिति त्यत्तिबेला कमजोरै रह्यो । राष्ट्रिय माहोल त्योबेला चाँहि माओवादीको पक्षमा भयो । हाम्रो पक्षमा भएन र हामीले हारीउ ।
वि.सं. २०७० को दोस्रो निर्वाचनमा हामीले जनमतले चुनाव जित्ने हो । तर प्राविधिक कारणले हामीले चुनाव हारिउ । त्यो प्राविधिक कारण दुई चार वटा छन् । त्यसको विषयमा मैले अहिले यहाँ व्याख्या गर्दिन । तर अब चाँहि हामी त्यो प्राविधिक कुरा पनि सच्याएर त्यसलाई एउटा पाठको रुपमा लिएर अब फेरी हुने निर्वाचनमा जित्ने गरी हामी अहिलेदेखि नै लाग्ने छौं ।
लामो समय सोलुखुम्बु जिल्लामा रहेर राजनीति गरिरहनु भएको छ, स्थानीय तहको निर्वाचनमा तपाईको इच्छा के छ ? गाउँपालिका, प्रदेश अथवा केन्द्रमा उमेदवार बन्ने ?
म एउटा राजनीतिक प्राणि हुँ, राजनीति गर्नुपर्छ । त्यही चुनाव लड्नैलाई राजनीति गरेको हो । तर कहाँ लड्ने भन्ने कुरा चाँहि अब म छिट्टै गाउँ जाँदै छु । म पहिले गाउँमा गएर गाउँका सबै अग्रज, नेकपा एमालेका जिल्ला कमिटिका सदस्यहरु, ईलाका कमिटिका पदाधिकारीहरु, सदस्यहरु, गाउँ कमिटिका, वडा कमिटिका साथीहरुसँग छलफल गर्ने, भेला गर्ने, अन्तरक्रिया गर्ने अब त्यसमा सबै साथीहरुले मलाई तपाई उठ्नु पर्छ, तपाईको आवश्यकता छ, तपाईले यहाँ नेतृत्व गर्नुपर्छ भनेर वहाँहरुले जम्मैले स्वीकार्नु भो भने म चुनाव लड्छु । होइन अब तपाईको यहाँ आवश्यक छैन, अब हामी चुनाव लड्छौं, हामी चुनाव जित्छौं, हामी नेतृत्व गर्छौं भन्नु भो भने म साथीहरुलाई नै सघाउँछु । वहाँहरुले नेतृत्व गर्नुहुन्छ, आखिर जसले गरे पनि पाटीबाट नेतृत्व गर्नुपर्ने हो । मैले गर्नु र अन्य साथीहरुले गर्नु एउटै कुरा हो । मैले साथीहरुलाई सहयोग गर्छु । अब त्यहाँको स्थानीय जनताको माग उनीहरुको भावना, इच्छा र चाहना अनुसार हामीले उमेदवार फैसला गर्छौं । म एक्लैले म उठ्ने भनेर म कदापि भन्दिन ।
अन्त्यमा सोलुखुम्बुका जनताहरुलाई के सन्देश दिनु हुन्छ ?
म त सोलुखुम्बु जिल्ला मात्र होइन, नेपालका सम्पूर्ण ३ करोड नेपाली जनताहरुलाई के भन्छु भने यस पटकको स्थानीय तहको निर्वाचनमा एउटै मात्र मुलुकको राष्ट्रवादी शक्ति, राष्ट्रियताको विषयमा वकालत गरेर बोल्ने, राज्य व्यवस्थालाई सक्रिय बनाउँने, विदेशी शक्तिका सामु नझुक्ने एउटा बफादार पाटी नेकपा एमाले हो । यो पाटीले स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रसम्म आगामि दिनमा सरकार बनाउँनु पर्दछ । सरकारमा गएर जनताका विकास र निर्माणका कामहरु गर्नु पर्छ । राज्यलाई एउटा सहि बाटोमा हिडाउनु पर्छ । यहाँ विभिन्न उद्योग कलकारखाना खोलेर, यत्रो दिनमा चाँहि हजारौं नेपाली युवाहरु विदेशी भूमिमा ज्यामी बनेर वैदेशिक रोजगारमा गैरहेका छन् । उनीहरुलाई रोक्ने र उनीहरुलाई रोजगारको सिर्जना गर्ने कार्यमा लाग्नु पर्छ । यसकारण नेकपा एमालेलाई स्थानीय तहदेखि केन्द्रैसम्म मतदान गर्नको लागि र हामीलाई राज्य व्यवस्था व्यवस्थित गर्नको लागि ठाउँमा पु¥याई दिनुस भन्ने म आव्हान गर्छु । यो सन्देश प्रत्येक नेपाली जनताको ढुकढुकीमा पुगोस भन्ने मेरो भनाई छ ।







