सन्तोष रुचाल/धनकुटा, १६ जेठ । नेपाली काग्रेस धनकुटाले धनकुटा नगरको उम्मेदवार टुंगो लगाएको छ । काग्रेसको तर्फबाट धनकुटा नगरको मेयरमा पार्टीका कोषाध्यक्ष दिनेश राईलाई उम्मेदवार घोषणा गरेको छ ।
सो पार्टीले आज घोषणा सभाको आयोजना गरी औपचारिक रुपमा उम्मेदवारको घोषणा गरेको हो । नगरको उपमेयरमा रेनु श्रेष्ठलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ धनकुटा बहुमुखी क्याम्पसकी अवकाश प्राप्त अधिकृत हुन् । १० वटा वडा रहेको धनकुटा नगरपालिकामा पार्टी सचिव विजयसन्तोषी राईले उम्मेदवारहरुको घोषणा गर्नुभएको थियो । धनकुटा नगरको वडा नं. १ मा रुकमान तामाङ, वडा नं. २ मा तिर्थसिंह दाहाल, वडा नं. ३ मा पदम भण्डारी, वडा नं. ४ मा महेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ । धनकुटा नगरपालिकाका कर्मचारी श्रेष्ठ नेकपा एमालेले वडा अध्यक्षको उम्मेदवार नबनाएपछि केही दिन अगाडी मात्र नगरपालिकाको जागिर राजीनामा दिएर काग्रेसबाट उम्मेदवार बनेका हुन् । त्यस्तै वडा नं. ५ मा धनबहादुर राई, वडा नं. ६ मा नरेश श्रेष्ठ, वडा नं. ७ मा मोहन श्रेष्ठ, वडा नं. ८ मा मानुभक्त राई, वडा नं. ९ मा सीताराम न्यौपाने र वडा नं. १० मा भुपलाल तामाङलाई उम्मेदवार बनाएको नेपाली काग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले बताउँनुभयो ।
तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा नेपाली काग्रेसले धनकुटा नगरको उम्मेदवार घोषणा गरेपनि बाँकी नगरपालिका र गाउँपालिकाको उम्मेदवार घोषणा गर्न सकेको छैन । नेकपा एमालेले केही दिन अघि मात्र धनकुटा नगरको उम्मेदवार औपचारिक रुपमा घोषणा गरेको थियो भने उसले पनि अन्य नगर र गाउँपालिकाको उम्मेदवार घोषणा गर्न सकेको छैन । त्यस्तै नेकपा माओवादी केन्द्र लगायत अन्य पार्टीले अहिलेसम्म कुनै पनि तहको उम्मेदवार घोषणा गर्न सकेका छैनन् । सोही घोषणा सभाको अवसर पारेर नेकपा एमालेको तर्फबाट २०५४ को स्थानीय निकायको निर्वाचनबाट धनकुटा नगरका मेयर बनेका वाङ्दी लामा सहित विभिन्न पार्टीबाट एक दर्जन भन्दा बढी नेपाली काग्रेस पार्टीमा प्रवेश गरेको सचिव राईले बताउँनुभयो । दोस्रो चरण अन्तरगत स्थानीय तहको निर्वाचन धनकुटा लगायतका चार वटा प्रदेशमा आगामी असार ९ गते सम्पन्न हुदैछ ।
१६ जेष्ठ २०७४, मंगलबार
0
Shares







