वि. सं. २०५५ सालबाट राजनीतिक जीवन शुरु गरेका सागर किराती पहिलो ऐतिहासिक स्थानीय तहको निर्वाचनमा महाकुलुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । मृदुभाषी, स्पष्टा वक्ता र यूवाहरुको नेतृत्वदायी भूमिकामा जिल्लाको राजनीतिमा छाप छोडेका किरातीले अन्ततः महाकुलुङ गाउँपालिकाका जनताको विश्वास जिते । अनि ती जनताहरुकै जनप्रतिनिधी भएर काम गर्ने सुनौलो अवसर पाए । वि.सं. २०५७ सालमा खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा तत्कालिन माओवादीसँग विलय भएपछि किराती पनि भूमिगत जीवन र राजनीतिमा लुकामारी खेल्न थाले । कहिले तत्कालीन शाही सेनासँग त कहिले नेपाल प्रहरी र कहिले शसस्त्र प्रहरीसँग पौठेजोरी खेल्दै पार्टीले दिएको जीम्मेवारी पूरा गरे । अबको पाँच वर्षपछि महाकुलुङ गाउँपालिकालाई कस्तो रुपमा देख्न सकिन्छ भन्ने विषयमा सगरमाथा अनलाईनले अध्यक्ष किरातीसँग गरेको कुराकानीको मुख्य अंश ।
निर्वाचनको बेला जनतासँग तपाईले गर्नु भएको प्रतिबद्धता कसरी कार्यान्वयन गर्दैहुनुहुन्छ ?
महाकुलुङ गाउँपालिकाको माटो सुहाउँदो, त्यहाँको आवश्यकतालाई ठ्याक्कै सम्बोधन गर्नको लागि योजनाहरु अगाडि बढाउँदा खेरी राम्रो हुन्छ भन्ने सोचका साथ हाम्रो भिजनहरु प्रतिबद्धता पत्र मार्फत सार्वजनिक गरिसकेका छौं । यसलाई कसरी पूरा गर्ने, कसरी कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा महाकुलुङ गाउँपालिकामा मात्र होइन नेपालमा रहेको निकै ठूलो राजनैतिक तरलता, अस्थिरता र अन्यौलता अहिले लगभग अन्त्य हुने अवस्थामा छ । यस्तो परिस्थितिलाई व्यवस्थापन गर्ने तर्फ हामी जाँदैछौं भने आर्थिक परिचालनका हिसाबले र सँगसँगै प्रशासनिक सेवा सुविधा लिने दिने हिसाबले यहाँ निक्कै ठूलो तरलता र अन्यौलता छाइरहेको स्थिति छ । त्यसैले अहिले सिंहदरबारमा रहेको अधिकार गाउँगाउँमा गएको छैन । सैद्धान्तिक रुपमा गएको भए पनि व्यवहारिक रुपमा गएको छैन ।
महाकुलुङ गाउँपालिकामा अहिले देखिएको विकासको टड्कारो समस्या के के छन् ? यसलाई समाधान गर्नको लागि कस्तो भूमिका खेल्नुहुन्छ ?
अहिलेसम्म महाकुलुङमा सडकले छोएको छैन । सडक पु¥याउनु नै यस गाउँपालिकाको सबैभन्दा ठूलो समस्या हो । सोताङ गाउँपालिकासम्म सडकको ट्रयाक ओपन भएता पनि हाम्रो गाउँपालिकामा अहिलेसम्म भएको छैन । त्यो सडक हिउँदको समयमा मात्र उपयोग हुन्छ । सोताङसम्म नै भएपनि यातायातको साधन प्रयोग गरेर आवतजावत गर्नको लागि हिउँदे प्रयोजनको निम्ती दुधकोशीमा बेलीब्रिज लगाउने भनेर सम्बन्धित मन्त्रालयहरुमा र सम्बन्धित तहहरुमा पहल भैरहेको छ । महाकुलुङको जनताहरुको पहिलो चाहना भनेकै गाउँपालिकामा सडकको ट्रयाक ओपन गर्ने हो । त्यसैले हामी पहिलो प्राथमिकताका आधारमा सडकलाई नै दिनेछौं । यो हिउँद लाग्ने बित्तिकै सोताङ बजारबाट हाम्रो गाउँपालिका भित्र्याउने योजनामा छौं । यातायात पछि हाम्रो गाउँपालिकामा सञ्चारको छ । नेपाल टेलिकमको सेवा सहजै रुपमा लिनु पर्ने हो । त्यो सेवा महाकुलुङको जनताले लिन सकेका छैनन् ।
गुदेल विमानस्थलको बारेमा तपाईको योजना के छ ?
यो विमानस्थल शुरुवात गर्दै गर्दा नै राजनीतिक रुप र रंग भरेर अगाडि बढाइयो । फेरी यसो भन्दै गर्दा म विकास विरोधी चाँही होइन । नेपाली कांग्रेस चाँही विमानस्थल बन्नु पर्छ भन्थ्यो । यता माओवादी चाँही विमानस्थल बनाउन दिनु हुँदैन भनेर त्यसको खरो विरोधीको रुपमा हामीलाई प्रस्तुत गरेका थिए । किनकी विकास निर्माण कामलाई कोही कसैको पेवा बनाउन खोज्छ, कोही कसैको थाप्लोमा हाल्न खाज्छ भने त्यो विल्कुल रुपमा राम्रो हुँदैन त्यो योजना ठीक ढंगले अगाडि बढ्न सक्दैन भन्ने कुरामा हामी स्पष्ट छौं । अहिले हामी गाउँपालिकामा निर्वाचित भएर आएका छौं । यो विमानस्थल निर्माणको लागि स्थानीय सरकारको तर्फबाट सकेसम्म सम्पन्न गर्ने गराउने तर्फ पहल अगाडि बढिरहेको छ ।
किरातीहरुले पितृकार्य गर्दा गोरुको मासु चलाउने प्रचलन छ ? झनै महाकुलुङ गाउँपालिकामा त अधिकांश कुलुहरु छन् ? यसलाई कसरी हेर्नुभएको छ ?
सिद्धान्तमा नेपाल धर्म निरपेक्षता देश भएको छ । तर व्यवहारमा भने धर्म निरपेक्षता भएको छैन । अब गाई काटे बापत जेल जानु पर्ने, सजाय भोग्नु पर्ने जुन खालको स्थिति छ । अब हामी जनप्रतिनिधी निर्वाचित भएर आउँदा नीति, नियम, कानूनभित्र रहने कुरा भयो । तर निती, नियमभित्र रहँदै गर्दा खेरी कतिपय आफ्नो सँस्कार, सँस्कृति र पहिचानका कुरा स्वतन्त्र रुपमा लागू गर्न पाउँने व्यवस्थाबाट वञ्चित भएको छ । यस्तो साँस्कृतिक पहिचानलाई स्वतन्त्र रुपमा मान्न पाउँनु पर्छ भनेर हामी राज्यको माथिल्लो तहसम्म लैजाने प्रयास गर्नेछौं ।
अबको ५ वर्ष पछिको महाकुलुङ गाउँपालिका कस्तो देखिन्छ ?
महाकुलुङ गाउँपालिकालाई ५ वर्षपछि अहिलेको भौगोलि स्थितिभन्दा फरक हुन्छ भनेर म भन्दिन । तर मेरो आफ्नो स्प्रिट के हो भने महाकुलुङ गाउँपालिकामा भित्र बसोबास गर्ने जातजाति र भाषिक समुदायमा जातिय सदभाव कायम राख्ने र आत्मीयता एवं भाइचारामैत्री हुने छ । विकास निर्माणको क्षेत्रमा हामी महाकुलुङ गाउँपालिकाको मुहारमा केहि न केहि परिवर्तन आउँने छ । साँढे ३ वर्षभित्र ढिलोमा पनि ५ वटा वडामा सडकको ट्रयाक ओपन गर्नेछौं । जलविद्युतको लागि पनि निक्कै संभावना छ । त्यसलाई हामी संभाव्यता अध्ययन गरेर केहि प्रतिशत मात्रामा भए पनि उपयोगमा ल्याइने छ ।
२९ भाद्र २०७४, बिहिबार
973
Shares







