६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

जनताको सेवा गर्न आतुर छु : सन्तोष कट्टेल



वि. सं. २०४० सालमा जन्मिएका सन्तोष कट्टेल सोलुखुम्बुको युवा नेताको अग्रपंक्तीमा दरिएका छन् । २०५४ सालको स्थानीय निकायको निर्वाचनबाट राजनीति जीवन शुरु गरेका कट्टेलको राजनीतिक उमेर २० वर्ष भैसकेको छ । तत्कालिन समयमा केदार माध्यमिक विद्यालय नेचाबेतघारीको नेपाल विद्यार्थी संघको ईकाइ सभापतिबाट जिम्मेवारी लिदैँ सक्रिय राजनीतिमा प्रवेश गरेका थिए ।
उच्च शिक्षा अध्ययनको लागि सोलुखुम्बुबाट काठमाडौं पसेका कट्टेलले पशुपति बहुमुखि क्याम्पसमा उच्च शिक्षा अध्ययन गरे । उनले सो क्याम्पसमा अध्ययन गर्दा ३ कार्यकालसम्म नेविसंघको क्याम्पस ईकाई सभापति भएर सक्रिय विद्यार्थी राजनीति गरे । उनी ३ कार्यकालसम्म नेविसंघको केन्द्रीय सदस्य भएर जिम्मेवार भूमिकामा काम गरि सकेको अनुभव छ । आगामी मंसिर १० गते हुने प्रदेश सभा निर्वाचनमा कट्टेलले पनि उम्मेदवार हुने आकांक्षा राखेका छन् । उनको उम्मेदवारी र एजेण्डाको विषयमा सगरमाथा अनलाईनका सम्पादक बुद्धवीर बाहिङले गरेको कुराकानीको मुख्य अंश ।

तपाईको उम्मेदवारी अलि छिटो भएन र ?

विद्यार्थीकालदेखि नै सक्रिय राजनीति गर्दै आएको छु । र अहिलेसम्म हिसाव गर्दा मैले राजनीति गरेको २० वर्ष भैसकेछ । त्यसैले म अब राजनीतिमा पनि किशोरावस्था पार गरी यूवाअवस्थामा प्रवेश गरेकाले मेरो उम्मेदवारी छिटो भएको छैन । त्यसैले मैले यस पटकको प्रदेश सभाको लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेको हो ।

प्रदेश सभाको उम्मेदवारको लागि तपाईको मापदण्ड पुग्छ त ?

मापदण्ड नपुगी त उम्मेदवारको दावी गर्न सकिदैन । प्रदेश सभाको उम्मेदवारको लागि मेरो उम्मेदवारीको मापदण्ड अवश्य पुग्छ । म पशुपति क्याम्पसको ईकाइ सभापति हुँदै नेपाल विद्यार्थी संघमा रहेर तीन कार्यकाल केन्द्रीय समितिमा रहेर काम गरेको छु । मैले नेविसंघको केन्द्रीय समितिमा रहँदा सदस्य सचिव भएर काम गरे । पदाधिकारीको लेबलमा बसेर समेत काम गरेको अनुभव छ । त्यसैले उम्मेदवारको लागि आफूलाई योग्य ठानेर प्रदेश सभाको उम्मेदवारको आकांक्षी बनेको हो ।

प्रदेश सभा उम्मेदवारको लागि क्षेत्र नं. १ मा तपाईभन्दा अग्रज नेताहरु छन्, उनीहरुलाई पन्छाएर तपाईलाई किन उम्मेदवार बनाउने ?

अहिले मूलधारमा रहेका राजनैतिक पार्टीमा ६० प्रतिशतभन्दा बढि युवाहरु मुख्य भूमिकामा छन् । त्यसैले अब युवाको भूमिका खोजिरहेका छन् जनताहरुले । केहि गर्न सक्ने, समाजलाई सकारात्म र विकासप्रेमी क्षमतावान युवाहरुलाई खोजी गरिरहेका छन् । त्यस कारण अहिले युवाको नामबाट पनि होस । पार्टीलाई दिएको योगदानको कदर पनि गरियोस । यत्ति मात्र होइन त्याग, तपस्य, बलिदान र भावनाका कारणले पनि युवाको सन्दर्भमा मैले पाउनु पर्छ भन्ने मेरो दावी छ । यदि अरु सगँै लागेका अग्रज र अरु ठाउँबाट राजनीतिमा लागेका अग्रज नेताहरुलाई म सम्मान गर्छु । उहाँहरुको पनि लाग्ने कुरामा जायज होला । तर म उहाँहरुभन्दा अब्बल छु भनेर म लाग्ने हो ।

प्रदेश सभा निर्वाचनमा तपाईको एजेण्डा के के छन् ?

मेरो एजेण्डा खास गरी सोलुखुम्बुको क्षेत्र नं. १ लाई समृद्ध बनाउनु नै हो । त्यसमा रहेको ४ वटा क्लस्टर छ । महाकुलुङ, सोताङ, दुधकौशिका र नेचासल्यान यी ४ वटा क्लस्टरलाई विकास निर्माणको कुरामा अगाडि लिएर जाने सन्दर्भमा म त्यो काम गर्नेछु । र अहिले मैले भन्दा पनि पछि गरेर देखाउने कुरा हो । त्यसकारणले गर्दा शुरुमा पनि म के भन्छु भने समृद्ध सोलुखुम्बुको क्षेत्र नं. १ मा रहेका ४ वटा क्लस्टरलाई एकदमै उर्जाशिल बनाउने, क्वालीफाइड बनाउने, शिक्षित बनाउने, भौतिक पूर्वाधारबाट सम्पन्न गराउने र विकास निर्माणका कुरामा सबैभन्दा ठूलो कुरा सडक हो, सडकलाई यो ४ वटा क्लस्टमा रिङरोड बनाउने मेरो योजना छ । त्यसपछि विद्युत हो । विद्युतको कुरामा सम्पूर्ण ढंगले यो क्षेत्रभित्र रहने विद्युतलाई व्यवस्थित रुपमा अगाडि लैजाने मेरो एजेण्डा छ ।

उम्मेदवारको टिकट वितरण प्रणाली हेर्दा बाहुबल र पैसाको खेलमा लेनादेना हुन्छ ? यस्तो परिस्थितिमा तपाईले टिकट पाउन सक्नुहुन्छ ?

मेरो यसमा फरक मत छ । जुन तरिकाले कांग्रेस एउटा भावना हो, विचार हो । नीति अनुसार चल्नु पर्छ । विचार अनुसार चल्नु पर्छ । त्यो विचारभित्र समाहित भएका, पार्टीभित्र रहेका हामीभन्दा अग्रज नेताहरु । पार्टीको केन्द्रीय समितिमा रहेका, पार्टीको सभापति र कार्यसमितिमा रहेका आदरणीय अग्रजहरुले बुझ्न के जरुरी छ भने, अब पार्टीभित्र मूल्याङकन गर्न जरुरी छ । मूल्याङकन गरिसकेपछि कस्ता नेतालाई त्यो ठाउँ दिने, कस्ता नेतालाई व्याक गर्ने भन्ने कुरा पार्टीले पहिलो कुरा सिद्धान्तः तय गर्न सकेन, भने पार्टी विखण्डन तर्फ जान्छ । त्यसकारणले गर्दा यो सिद्धान्तः तय गर्ने एउटा मापदण्ड क्लियर गर्नका लागि, कुन कुन मापदण्ड पूरा गरियो भने, पार्टीको जिम्मेवारी पाउने भन्ने कुरा क्लियर हुनुपर्छ । पार्टीले पनि संसदीय पद्धतीको एक किसिमको तयारी गरेर एउटा मापदण्ड बनायो भने, त्यस्तो प्रक्रियाभित्र छिर्न सके मापदण्डमा परियो । मापदण्डमै परिएन भने त्यो नेता व्याक हुनुपर्ने परिस्थिति ल्याउनको लागि एउटा मापदण्ड बनाउन जरुरी छ । विगतमा भएका निर्वाचनलाई हेर्दा अत्यन्तै बाहुबल प्रयोग गर्न सक्ने, पैसावाल नेताहरुले मात्रै टिकट पाएको उदाहरणहरु प्रशस्त छन् ।

ए त्यसो भए अबको निर्वाचनमा पार्टीले कस्तो प्रक्रिया अपनाउनु पर्ला ?

अबको निर्वाचन भनेको वैचारिक, नीति, कार्यक्रम र विकासको राजनीति हुनुपर्छ । यत्ति मात्र होइन विचारसँग भिजेका, लामो समयसम्म संघर्ष गरेका र लोकतान्त्रिक आन्दोलनदेखि बीचमा भएका परिवर्तनकामी आन्दोलनमा सक्रिय भएर लागेका नेतालाई पहिलो श्रेणीमा राख्नु पर्छ । विगत २०४६ साल पछाडि आन्दोलनका मुभम्यान्टमा लागेका र कांग्रेसभित्र निरन्तर रुपले लागिरहेका, हिजोका दिनमा पार्टीभित्र विखण्डन गर्नेतर्फ होइन की पार्टीलाई समेटेर लिएर जान सक्ने हिम्मत राख्नेका पक्षमा वकालत गरिरहेकोलाई पहिलो प्राथमिकतामा राखेर लैजानु पर्छ ।

स्थानीय तह निर्वाचनको नतिजा हेर्दा मतदाताको विश्वास त्यत्ति धेरै पाउनु भएन नी ? अब विश्वास जित्नको लागि कस्तो नीति तथा कार्यक्रम ल्याउनु हुन्छ ?

हामी प्राविधिक रुपमा मात्र चुनाव हारेका छौं । समग्रमा सोलुखुम्बुको स्थानीय तहको मत हेर्ने हो भने हामी नै अगाडि छौं । हाम्रो अलिकति प्राविधिक रुपमा कमजोरी भए, त्यसमा पार्टीले आधिकारीक उम्मेदवार दिने, त्यसमा बागी र विद्रोही उम्मेदवारले चुनाव लडेर जाने । त्यसले गर्दा पनि हाम्रो केहि ठाउँमा हार व्यहोर्नु प¥यो । र प्रदेश अन्तर्गतको क्षेत्र १ को ४ वटा क्लस्टरमा हामीले हा¥यौं भन्दा प्राविधिक कुराले हा¥यौं, तर जनता कांग्रेसको पक्षमा छन्, है भन्ने कुराको सन्देश त्यो लोकप्रिय मतले पनि देखाएको छ । त्यसकारणले गर्दा अझै पनि हामीमा के कमजोरी भएको छ । ती कमजोरीलाई अबको दिनमा नदोहो¥याउनको लागि बागी र विद्रोही उम्मेदवारी हामी दिने छैनौं भन्ने प्रतिबद्धता हुनु प¥यो । पाटीको नेतृत्वले एउटा मापदण्ड बनाओस भन्ने आग्रह गर्न चाहन्छु । त्यसमा संघको निर्वाचनमा उम्मेदवारी दिन्छु भन्ने नेताहरुले प्रदेशमा आएर उम्मेदवारी नदिनु होला । त्यसो गर्दा नेताहरुलाई सजिलो हुन्छ । र प्रदेशको प्रत्यक्ष निर्वाचन लड्छु भन्ने नेताहरुले कृपया समानुपातिकमा नबस्दिनु होला । त्यो गर्दा खेरी पहिलाको जस्तो एक जना चुनाव लड्नेमा हाम्रो दशौं जनाको उम्मेदवारी पथ्र्यो । अब अहिले त्यो छैन । अब हामीले संघमा एक जना र प्रदेशमा जाने दुई क्षेत्रमा पनि हाम्रो त्यत्रो विवाद छ जस्तो मलाई लाग्दैन ।

अन्त्यमा सोलुखुम्बेली नागरिकलाई तपाईको के सन्देश छ ?

म क्षेत्र नं. १ अन्तर्गतका सोलुखुम्बेली आम नागरिक, न्यायप्रेमी जनसमुदायलाई के आग्रह गर्न चाहन्छु भने, म एउटा युवा अनटेष्टेड छु । तपाईहरुले टेष्ट गरेर हेर्नुस । समग्रतामा २०४८ सालदेखि अलिेसम्म कांग्रेसले जितिरहेको छ । कांग्रेसलाई जिताउनको लागि पहल गर्नुस । हामीले चुनाव जितेर आइसकेको अवस्थामा धेरै कुराको कायापलट हुन्छ । स्वभाविक रुपले हामी परिवर्तनकारी भएको हिसावले म यो देशको लोकतान्त्रिक आन्दोलनको अग्रणी मोर्चामा रहँदै गर्दा म धेरै चोटी मरेर बाँचेको छु । त्यसकारणले गर्दा म घर, व्यवहार, परिवार, इष्ट, मित्र, कुल, कुटुम्ब सबै छोडेर पार्टीमा लागेको भएर यो मेरो बोनसको लाईफ हो । यो बोनसको लाईफ जनताको सेवा गर्नलाई आतुर छ । जनतको सेवा गर्नु पर्छ भन्ने सोचाई राख्छु । त्यसकारणले मलाई लोभ पनि छैन, पाप पनि छैन । त्यकारण जनताको पक्षमा बोल्ने कुरामा म अगाडि बढ्ने हो । क्षेत्र १ का जनतालाई म के आग्रह गर्न चाहन्छु, र आश्वस्त पार्न चाहन्छु भने, भलै हामीभन्दा इत्तर मत राख्नेलाई पनि म सम्मान गर्दै अगाडि बढ्छु । वहाँहरुले ल्याएका एजेण्डामा राम्रो कुरालाई राम्रै भन्छु । जनतको विपक्षमा छ, नराम्रो कुराई म कुनै हालतमा पनि चुनावमा लड्दा होस या नलड्दा होस, जहिले पनि खबरदारी गर्ने काम म त्यो क्षेत्रको युवा नेता भएकाले त्यहाँका जनताको स्वभिमान गिर्न नदिने काममा जहिले पनि रहिरहने छु । र अरुले पनि कसैले आँच आउने काम गर्छ भने त्यसको खबरदारीका लागि पहरेदारको रुपमा जहिले पनि रहिरहने छु । क्षेत्र नं. १ का न्यायप्रेमी जनसमुदायसँग यहि प्रतिबद्धता जनाउन चाहन्छु ।

प्रकाशित मिति : १२ आश्विन २०७४, बिहिबार  ८ : ३३ बजे