२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

द्धन्द्धकालमा खस्केको व्यवसाय अझै लयमा फर्केको छैन : गंगाराज बाहिङ


२९ आश्विन २०७४, आइतबार  

161
Shares

काठमाडौं । १० वर्षे द्धन्द्धकालपछि नेपालको पर्यटन क्षेत्रमा आउने पर्यटकहरुको संख्यामा अझैसम्म उल्लेख्य रुपमा बढ्न सकेको छैन । झनै पर्यटकीय क्षेत्रमा चर्को घरभाडा तिरेर व्यवसाय गर्नेहरुको व्यवसाय त दिनप्रतिदिन धारासायी बन्दै गएको छ । द्धन्द्धकालभन्दा अगाडि जत्ति धेरै सामान बिक्रि हुन्थ्यो । अहिले त्यो बेलाको जस्तो बिक्रि हुन सकेको छैन । पहिलेको भन्दा केहि बढि ट्रेकिङ पसल भएर पनि यस्तो भएको होला पर्यटन व्यवसायी गंगाराज बाहिङले भने ।

वि. सं. २०२५ सालमा ओखलढुंगाको मोली पंखुमा जन्मिएका गंगाराज बाहिङ पर्यटन व्यवसायी हुन् । बाहिङको बाल्यकाल पंखुमै बितेको थियो । पंखुबाटै प्रारम्भिक शिक्षा शुरु गरेका बाहिङले ओखलढुंगा सदरमुकामबाट निम्म माध्यमिक विद्यालयसम्मको अध्ययन पूरा गरे । उनको दाई जागीरको शिलशिलामा झापाको अनरमणीमा भएकाले उनले एस एल सी त्यहीबाट वि. सं. २०४५ सालमा उत्तिर्ण गरेका थिए ।
गाउँघरमा जन्मिएका अधिकांश मानिसको उच्च शिक्षा अध्ययनको गन्तव्य काठमाडौं उपत्यका हुन्छ । बाहिङको पनि उच्च शिक्षाको गन्तव्य काठमाडौं नै भयो । काठमाडौंमा ताहचाल क्याम्पसबाट आइएड उत्तिर्ण गरे । पढाईसँगै ट्रेकिङ सपमा सेल्सम्यान भएर काम गरेको अनुभवले केहि वर्षको अन्तरालपछि तीन जना मिलेर सामूहिक रुपमा ट्रेकिङ पसल शुरु गरेका थिए ।

सन् २००१ बाट ट्रेकिङ पसल खोलेर व्यवसाय शुरु गरेका थिए । र अहिले पनि सोही पसलबाट व्यवसायलाई निरन्तर रुपमा अगाडि बढाइरहेका छन् । सन् १९९४ देखि ६ वर्षसम्म ट्रेकिङ पसलमै सेल्सम्यान बनेर उनले काम गरेका थिए । ३ लाख ५० हजारको लगानीबाट उनले पार्टनरमा पसल शुरु गरेका थिए । ३ जनाको समूहबाट शुरु गरेको ट्रेकिङ पसल उनले केहि वर्षपछि आफैले सम्हाल्दै आएका छन् । उनले ट्रेकिङ पसलमात्र होइन डाउन ज्याकेट बनाउने कारखाना समेत खोलेका छन् । उनको पसलमा राखिएका अधिकांश डाउन ज्याकेटहरु आफ्नै कारखानामा बनाएर बिक्रिमा राखेका छन् ।

१० वर्षे माओवादी द्धन्द्धकालमा उनको व्यवसाय खस्केको थियो । तर उनको सम्पर्कमा रहेका ट्रेकिङ व्यवसायीहरुलाई व्यवसाय निरन्तरताको लागि सम्पर्क गरेर थोरै भएपनि सामान सप्लाई गरेका थिए । जसले उनको जीविकोपार्जन सहज भएको थियो । उनको पसल निरन्तर रुपमा चल्न मद्दत समेत ग¥र्यो । पछि विस्तारै पर्यटकहरुको आगमनसँगै व्यापार पनि बढ्दै गएको उनको भनाई छ ।
देशको अस्थिर राजनीतिले उनको व्यवसायलाई प्रत्यक्ष रुपमा प्रभाव पारेको छ । स्थानीय तहको निर्वाचनसँगै प्रदेश र प्रतिनिधी सभाको निर्वाचन पश्चात उनको व्यवसाय अहिलेको भन्दा राम्रो गरी चल्ने विश्वास राखेका छन् । ‘ट्रेकिङका सामानहरु बढि हुने भएकाले देशको राजनीतिले पनि हाम्रो व्यवसायमा प्रत्यक्ष रुपमा असर पार्छ, राजनीति अस्थिर हुने बित्तिकै हाम्रो व्यापार पनि घट्छ’ बाहिङले भने ।
उनले यही व्यवसायमा जीवन सुम्पेका छन् । र निरन्तर रुपमा यही पेशालाई अगाल्ने उनको सोच छ । विकल्पको पेशा र व्यवसायतिर लाग्ने हो भने शुरुबाट थाल्नु पर्ने भएकाले यही व्यवसायलाई निरन्तर रुपमा लैजाने उनले बताए । विना अनुभवको पेशा र व्यवसायमा धेरै संघर्ष र चुनौती भएका कारण पनि उनले यही व्यवसायलाई निरन्तरता दिने बताए ।

ट्रेकिङ पसल भएपनि उनको पसलमा विदेशी पर्यटकभन्दा बढि नेपालीहरुले नै समान किन्ने गरेका छन् । यदि नेपालीहरु आएनन् भने पसल नै चलाउन नसक्ने उनले बताए । नेपालीहरुको आम्दानी बढ्दै जानु र जाडो मौसममा डाउन ज्याकेट लगायतका कपडाहरु सस्तो र सुलभ मूल्यमा हामीले उपलब्ध गराउने हुनाले उनीहरु किन्न यहाँ आउने गरेका छन् । उनको पसलमा ७५ प्रतिशत नेपालीहरु आउने गरेका छन् । बाहिङको पसलमा गोरटेक्स ज्याकेट, डाउन ज्याकेट, सिलपिङ ब्याग लगायत ट्रेकिङ सम्बन्धी सम्पूर्ण सामानहरु उनको पसलमा पाइन्छ ।

उनले पसलबाट आएको आम्दानीले काठमाडौंमा जग्गा किनेर घर बनाएका छन् । पसलबाट उनले छोरालाई सिभिल इञ्जिनीयर पढाई रहेका छन् । व्यवसाय बाहेक उनले सामाजिक सेवा पनि गर्दै आएका छन् । समुदायलाई विभिन्न समयमा आर्थिक सहयोग समेत गर्ने गरेका छन् ।

जुनसुकै पेशा र व्यवसायमा सफलता पाउनको लागि निरन्तरता दिनु पर्छ । झनै व्यापार भनेको त अहिले पसल राखे भोली नै फाइदा हुने कुरा हुँदैन । निरन्तर रुपमा गरिरहे समय अनुसार केहि फाइदा हुन्छ । त्यही भएको फाइदालाई व्यवसायमा लगानी गर्दै लगे एक दिन अवश्य सफलता पाउन सकिने उनले बताए ।

जुन पेशा र व्यवसायमा तपाई हुनुहुन्छ, त्यो पेशा र व्यवसायलाई निरन्तरता दिनुस । घाटा भयो, अब छोडेर विकल्प खोज्छु भनेर कहिल्यै आत्तिनु हुँदैन । आफूले गरेको पेशामा निरन्तर रुपमा लागिरहनु पर्छ एक दिन अवश्य सफल होइन्छ । त्यसैले योजनाका साथ अगाडि बढ्नुस असफलता कहिल्यै तपाईको जीवनमा आउँदैन, भन्ने सन्देश आम पाठक वर्गलाई दिन चाहन्छु । साभारः चाम्फुरी मासिक

प्रकाशित मिति : २९ आश्विन २०७४, आइतबार  ४ : ११ बजे