४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

कामको सन्तुष्टि नै पहिलो सफलता हो : टंकराज होङेलु



काठमाडौं । ‘जीवनमा सफल बन्नको लागि रुची भएको पेशा र व्यवसायको ट्रयाक पक्रेपछि निरन्तर रुपमा लागिरहनु पर्छ, त्यो जुनसुकै क्षेत्रमा होस’ भन्ने सैद्धान्तिक मान्यता छ युवा व्यवसायी टंकराज होङेलु कुलुङको । छोटो समयमै मार्केटिङ व्यवसायको क्षेत्रमा सफलताको खुड्किलो पार गरेका कुलुङ एक सफल व्यवसायी हुन भन्दा दुई मत नहोला ।
कुलुङले विगत सम्झदै भने ‘शुरुमा मैले मार्केटिङ गर्दै गर्दा मलाई ह्यारेसमेन्ट भएको थियो, त्यसलाई मैले विस्तारै मुकाविला गर्दै अगाडि बढिरहे ।’ कामप्रतिको लगाव र निरन्तरताले गर्दा अहिले म यो स्थानमासम्म आउन सफल भएको उनले बताए । ‘सबैभन्दा पहिले ज्ञान हुनु प¥र्यो, सही तालिम लिन सक्नु प¥र्यो, सेकेण्ड सेकेण्डमा हामीले सिकेका कुराहरुलाई व्यवहार र व्यवसायमा लागू गर्नु पर्छ, अनिमात्र सफलता पाउन सकिन्छ’ कुलुङले भने ।

त्यत्ति मात्र होइन जीवनमा सफल हुनको लागि ठाउँ अनुसार अनुशासन कायम गर्न सक्नु पनि एक हो । अनुशासन सँगसँगै समयलाई पनि उत्तिकै महत्व दिनु पर्छ । समय त आफ्नो गतिमा चलिरहेको हुन्छ । समय सँगसँगै त सफल नभइएला तर प्रयास जारी राखीरहनु पर्छ । आफू को हो, किन छु, के गर्दै छु, स्पष्ट हुनु पर्छ । के का लागि गर्दैछु । त्यसको वर्तमान, निरन्तरता र धर्यता हुन जरुरी छ । मान्छेमा धर्यता र निरन्तरता छैन भने उसले काम गरेको अर्थ हुँदैन । अर्को हाम्रो जस्तै व्यवसायमा सफल हुनका लागि अल्छेपन हटाउनु प¥र्यो । मानिस भएपछि गल्ती हुन्छ, त्यो गल्तीलाई स्वीकार्नु सक्नु प¥र्यो । आत्मासात गर्दै अगाडि बढ्न सक्नु प¥र्यो । अबको दुई वर्षपछि के हुने भन्ने कुराको लागि आजैदेखि काम गर्न शुरु गर्नु प¥र्यो । त्यसको लागि के के कुरा आवश्यता पर्छ पूर्व तयारी गरेर अगाडि बढ्नु पर्छ । कामलाई साच्नु भएन । आजको काम आजै सिध्याउनु पर्छ, भोलीको लागि तयारी हुनु प¥र्यो । पर्सिको लागि योजना तय गर्नु प¥र्यो । यी कुराहरुलाई आत्मासाथ गरेर जुनसुकै क्षेत्रमा लागे पनि सफल हुन सकिन्छ भन्ने मान्यता समेत कुलुङको छ ।
वि.सं. २०४६ साल असोज १२ गते सोलुखुम्बुको महाकुलुङमा जन्मिएका टंकराज होङेलु कुलुङ सफल यूवा व्यवसायिको रुपमा दरिएका छन् । कुलुङको बाल्यकाल सगरमाथाको काख चौरीखर्कको छुमोवामा बित्यो । कुलुङको बुबा व्यापार गर्ने शीलशीलामा खुम्बु पुगेका थिए । त्यसपछि उनको परिवार खुम्बुमा गएर बस्न थालेका हुन् ।

वि.सं २०६३ सालमा एस एल सी उत्तिर्ण गरेपछि कुलङ उच्च शिक्षा अध्ययनको लागि काठमाडौं आएका थिए । गाउँबाट काठमाडौं आउँदा वकिल र पत्रकारमध्ये एक बन्ने सपना बोकेर राजधानी छिरेका कुलुङको यी दुई समनामध्ये कुनै सपना साकार हुन सकेन । उनले देखेको सपना साकार पार्न त्यत्ति सजिलो पनि थिएन, र छैन पनि । तर उनले अहिले पत्रकारीता भने अध्ययन गरिरहेका छन् ।
परिवारको पहिलो सन्तान भएकाले आर्थिक पक्षलाई मजबुत बनाउनको लागि उनी व्यवसाय तर्फ आकर्षित भएका हुन् । क्याम्पस पढ्दा पनि उनले दिउँसोको समयलाई सदुपयोग गरिरहे । विभिन्न तालिमहरु लिए । व्यत्तित्व विकास, रेडियो जकी, भिडियो जकी लगायतका तालिम लिए । त्यत्ति मात्र होइन उनले आरजे र भिजेको प्राविधिक पक्षहरुको समेत तालिम लिएका छन् । कक्षा १२ मा अध्ययन गर्दै गर्दा असारको समयमा एउटा विज्ञापन खुल्यो । उनले त्यो विज्ञापनको माध्यमबाट काम गर्न शुरु गरेका थिए ।
उनले मार्केटिङमा सेल्सम्यान भएर काम शुरु गरेका थिए । वि.सं. २०६८ सालमा म्यानेजरमा बढुवा भए । त्यो भन्दा अगाडिको ३ वर्ष कहिले हिमाल, कहिले पहाड घुम्दै, मार्केटिङ गर्नु पर्ने थियो । जुनबेला उनले धेरै संघर्ष र परिश्रम गरे । जसले अहिले उनी व्यवस्थापक भएर व्यवसाय सम्हालिरहेका छन् । तर उनी भने अझै सफलतामा पुग्न बाँकी रहेको तर्क गर्छन् । ‘अझै पनि मेरो धेरै उद्देश्यहरु छन्, केहि उद्देश्यहरु पूरा भएका छन्, केहि हुने तयारीमा छन्, र केहि त बाँकी नै छ’ उनले भने ।
‘कामभित्रको सन्तुष्ट चाँही सबैभन्दा महत्वपूर्ण हो, कुन काम गर्दा सबैभन्दा बढि सन्तुष्ट मिल्छ त्यही काम गर्ने हो’ उनले भने, ‘कोही न कोही, कुनै न कुनै व्यवसायसँग जोडिएका हुन्छन्, व्यवसायमा सफलता पाउनु छ भने निरन्तरता सबैभन्दा ठूलो र महत्वपूर्ण कुरा हो ।’ समय सापेक्ष परिवर्तन हुन सक्नु पर्दछ । समाज र परिस्थिति अनुसार परिवर्तन हुन सक्नु पर्दछ । त्यो व्यत्तिनै सफलताको सिढी चढ्न सफल हुन्छ भन्ने उनको भनाई छ ।
चुनौती यो क्षेत्रमा धेरै आउँछन् । जत्ति पनि समस्या र चुनौतीहरु आउथ्यो, ती समस्या र चुनौतीहरु फेस गर्दा गर्दै अब त जस्तोसुकै समस्या र चुनौती आए पनि केहि फरक पर्दैन । अब जस्तो अवस्था र परिस्थिति आए पनि सकारात्मक दृष्टिकोणले हेर्ने बानी भैसकेको छ । अहिले जे जति प्रगती छ । यो सबै हिजोका सपनाहरु थिए । त्यो केहि मात्रामा भएपनि पूरा भएको जस्तो लागेको छ । मैले सोचेको जस्तो कुराहरु ढिलोचाँडो लागू भैरहेको उनले बताए ।
उनी व्यवसायमा मात्र होइन सामुदायिक हित र चेतनाको लागि समेत एक दरिलो खम्बाको रुपमा उभिएका छन् । सामुदायिक कामका जसरी पनि समय मिलाएर एकैछिन भए पनि पुग्छन् । उनले भर्खरै कुलुङ भाषाको गीतको म्यूजिक भिडियोमा अभिनय समेत गरेका छन् । ‘दैनिक खर्चलाई केहि बचाएर मैले कुलुङ भाषाको गीतको म्यूजिक भिडियोमा लगानी गरेको हो’ उनले भने, ‘मलाई पहिले देखि नै साथीहरुले मोडलिङमा पनि आउनु प¥र्यो भनेर भन्थे, त्यो राम्रो भएर भनेको हो या फुर्काउनुलाई भन्नु भएको हो, उनीहरुनै जानून्, मैले शुरुमै कुलुङ सँस्कृतिको जीवन्त कथावस्तुमाथी लेखिएको गीतमा अभिनय गरेको छु ।’ व्यवसायलाई मात्र होइन रुचीको विषयमा पनि केहि गरेर देखाऔं भन्ने मान्यता भएकाले गीतको म्यूजिक भिडियोमा लगानी गरेको बताए । साभारः चाम्फुरी मासिक 

प्रकाशित मिति : ३० आश्विन २०७४, सोमबार  ३ : २८ बजे