वि.सं. २०२० सालमा काँगेल सोलुखुम्बुमा जन्मिएका उत्तमकुमार बस्नेत प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार हुन् । बाम गठबन्धनबाट बस्नेतलाई साझा उम्मेदवारका रुपमा अगाडी सारिएको हो ।
बस्नेतको बुबा कर्मचारी भएकाले बुबाको सरुवासँगै प्रारम्भिक शिक्षा पनि सोलुखुम्बुको सदरमुकाम सल्लेरी, भोजपुरहुँदै खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा अध्ययन गरेका थिए । उच्च शिक्षा अध्यनको क्रममा उनी उपत्यकाको पुल्चोक इञ्जिनीयरिङ कलेज पढे । पछि सिभिल इञ्जिनीयर भएपछि भुटानमा समेत केहि समय काम गरे ।

उच्च शिक्षा अध्ययनकै क्रममा उनले भारत लगायत युरोपका देशहरुमा गएर पनि पढेका छन् । त्यत्ति मात्र होइन अधिकार सम्पन्न बागमती एकिकृत स्रोतको बोर्ड सदस्य भएर काम गरेको अनुभव पनि छ उनीसँग । गुठी संस्थानको बोर्ड अफ डाइरेक्टर भएर काम गरे । समाज कल्यान परिषद अन्तर्गत चार वर्ष राष्ट्रिय बाल कोषको सभापति भएर काम गरे । पार्टीको तर्फबाट विभिन्न मन्त्रीहरुको सल्लाहकारको रुपमा पनि उनले काम गरेको अनुभव छ ।
वि. सं २०३४ सालबाट सामाजिक सेवासँगै राजनीतिमा लागेका उनले बामपन्थी विचारबाट प्रभावित भएर सक्रिय राजनीतिमा लागेका थिए । विद्यार्थी राजनीतिमा उनले ललितपुरमा लामो सयम सचिव भएर काम गरेका थिए । वि.सं. २०४०÷४१ सालमा नेपाल कम्युनिष्ट पार्टीको चौथो महाधिवेशपछि जिल्ला सचिव भएर काम गरेका छन् । चुनावी नारामा मात्र सिमित सोलुखुम्बुको विकासलाई कसरी व्यवहारमा प्रयोग गर्छन् । अनि अबको ५ वर्षपछि सोलुखुम्बुका जनताले के पाउँछन् भन्ने विषयमा बाम गठबन्धन अन्तर्गत प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार उत्तमकुमार बस्नेतसँग सगरमाथा अनलाईनका प्रधान सम्पादक बुद्धवीर बाहिङले गरेको कुराकानीको मुख्य अंश ।
तपाईको मुख्य एजेण्डा के के छन् ?
मेरो मुख्य एजेण्डा सोलुखुम्बु जिल्लामा जुन बलिदान भयो २०३१ सालको टिम्बुरबोटे काण्ड, १० वर्षे सशस्त्र जनयुद्धमा सहादत शहीदहरुको लगानी, रगत बगीसकेपछि त्यसको प्रतिफल पनि जुन जनताले पाउनु पथ्र्यो त्यो पाएका छैनन् । किन भने त्यसको नेतृत्व कहिले पनि उद्देश्य मूलक नभएको र व्यत्तिगत स्वार्थ लिप्तभएको काणले गर्दा, त्यो बलिदान दिन सक्ने जिल्लाको जनता भएको नाताले, त्यो जनताको बलिदानलाई परिपूरक गर्न पसिना बगाउनु, सीपालु हाम्रा त्यहाँका मेहनती जनताहरु हुनुहुन्छ । उहाँहरुको सपना पूरा गर्न म ती कुराहरुको समृद्धि दिने विषयमा सबैतिर वितरण गर्नु पर्छ भन्ने मान्यताका साथ त्यो काम पूरा गर्छु । त्यसको आधारहरु के हुन् भन्दा हामीसँग तीन वटा चिज छन् । हामीसँग पर्यटन, जडिबुटी र जलस्रोत अथाह छ । यी तिनवटा चिजलाई अधिकतम दोहन गरेर हामी त्यसलाई विकास गर्छौं । तल्लो भेगमा जुन खालको हावापानी छ त्यहाँ कृषि, पर्यटनलाई व्यवसायीकरण गर्ने, माथिल्लो भेगमा हामी आफै आत्मानिर्भर बन्ने । धेरै परनिर्भर अन्तरनिहीत अर्थतन्त्रको हामी विश्वास गर्ने भएको हुँदा त्यो चिजहरु पूरा गर्नको लागि हाम्रा अथाहा ती प्राकृति स्रोतको सदुपयोग गरेर, भविष्यको लागि पनि राखेर, त्यसलाई खेर नजाने गरी हामी प्रयोग ग¥र्यौं भने हाम्रो जिल्लालाई समृद्धि बनाउन सक्छौं । र हाम्रो जिल्लाको विशेषता संसारको अग्लो ठाउँमा रहेको हिमाल र गर्मी ठाउँमा हुने चिज सबै हुने हुँदा हामी प्राकृतिक रुपले भरिपूर्ण भएको जिल्ला हुँदा यीनै कुराहरु मेरा प्रमुख मुद्धा हुन् ।
स्थानीय तहमा बामगठबन्धनले पाएको जनमतलाई संरक्षण गर्न के गर्नु हुन्छ ?
स्थानीय तहको निर्वाचनमा जनता सचेत भएर मत दिएका हुन् । जनताले परिवर्तन खोजेका हुन् । त्यसको ज्वलन्त नतिजा र जनताले चाहेको पनि बाम एक भएर आइदिओस भन्ने चाहना भएको हुँदा त्यो मत जनता आफैले सुरक्षा गर्छन् । हामी सुरक्षा मात्रै गर्ने होइनौं, हिजो नमिल्दा अन्त गएका मत पनि थपिएर आउने भएको हुँदा हामीलाई अत्याधिक मत जनताले दिने पक्का छ । यो एकताबाट खुशी भएर, हौसेर थप मत आउने पूर्ण विश्वासको साथ जनताहरुको जुन खालको सकारात्मक प्रतिक्रिया आइरहेको छ । त्यसले गर्दा अत्याधिक मत थपिने र अन्य पार्टी छोडेर आउने छन् । तपाई स्वतन्त्र कर्मचारी, बुद्धिजीवि, शिक्षक, व्यवसायीहरुले पनि हामीलाई जुन सद्भाव देखाइरहनु भएको छ, त्यसले हाम्रो मत जोगाउनु पर्ने होइन हामीलाई अत्याधिक मत थपिएर आउने ढृड विश्वास छ ।
प्रदेश ‘क’ मा तपाईको बागी उम्मेदवार बनेर लोचनकुमार शर्मा आउनु भएको छ, यसलाई तपाईले कसरी लिनु भएको छ ?
सर्वप्रथमतः हामी आन्तरिक प्रतिस्पर्धी थियौं । उहाँले पनि दावी गर्नु भएको हो । उहाँ मात्रै होइन अरु साथीहरु पनि हुनुहुन्थ्यो । साथीहरुको बीचमा मलाई जुन नेतृत्वले टिकट दियो । सबैभन्द पहिले बाम एकिकरणको जुन गठबन्धन भैसकेपछि नयाँ सिनारी आयो । सिनारी आएपछि हाम्रो सर्वसम्मतबाट प्रतिनिधी सभा उम्मेदवारमा हामीले पार्टीका जिल्ला अध्यक्ष मानवीर राईलाई दिएका थियौं, त्यसलाई पनि माओवादीको भागमा गएपछि, उहाँलाई प्रदेश ‘क’ मा पठाएपछि उहाँ आफैले प्रष्ट पार्नु भएको छ की अहिले धेरै कारणले साथीहरुको सबै कुरा मिल्ने र म साथीहरुले सद्भाव देखाउनु हुन्छ र सबै कुराले मिल्ने चुनाव हाक्छु भनेर जुन हाम्रो सर्वोच्च कमाण्र बन्नु भएको छ । त्यो हिसाबले पनि के बुझ्न सकिन्छ भने उहाँ र मेरो व्यक्तिगत प्रतिस्पर्धामा पार्टीले जिम्मेवारी अहिले तत्काललाई मेरो कार्यभारमा हालेको हो । उहाँले अहिले बागी उम्मेदवार बन्नु भएको छ । त्यो दुःखद घटना हो । म उहाँको व्यक्तिगत रुपमा केहि टिका टिप्पणी गर्दिन, पार्टीले उहाँको बारेमा प्रष्ट पारेको छ । अझैपनि हामीबीचमा एकताको सम्भावना र सहकार्य गर्ने वातावरण छ । मलाई विश्वास छ उहाँले एकताको लागि फेरी सहकार्य गर्न आउनु हुन्छ । मलाई अझै पनि ढृड विश्वास छ, उहाँ सहकार्य गर्नु हुन्छ ।
लोचनकुमार शर्मासँग सहकार्य गर्नको लागि तपाई के पहल गर्नुहुन्छ ?
लोचनजीसँग र मेरो लामो समयसम्मको बाम आन्दोलनको भूमिका जनताले देख्नु भएको छ । व्यक्तिगत रुपमा उहाँको केहि गुनासो छैन । पार्टीभित्र जुन गुनासो राख्नु भएको थियो त्यो सम्बोधन पार्टीले गर्ने छ । मलाई अझै के विश्वास छ भने उहाँसँग सहकार्य हुन्छ ।
प्रदेश ‘क’ का उम्मेदवारहरुमा उत्तममध्येको उत्तम तपाईलाई हो भन्छन्, यसलाई कसरी लिनु भएको छ ?
जनताको माया मप्रति छ । किन भने जनताले मलाई २०३४ सालदेखि त्यहाँको विकासमा मेरो राजनीति जीवन, सामाजिक जीवनबाट शुरु भएको छ । जब स्कूल पढ्थे । योङ्ग स्टार क्लबको संस्थापक अध्यक्ष भएर सामूहिक रुपमा काम शुरु गरे । त्यसपछि मेरो जीवन सामाजिक रह्यो । विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका निभाए वि. सं. २०३५/३६ सालमा । त्यसैले निरन्तर त्यहाँको जनतासँग गाँसिएको हो ? र त्यहाँका ठूलठूला शक्तिहरुसँग सँधै जुधिरहेको हुँदा त्यो माया मैले सँधै पाएको हुँ, उहाँहरुले मलाई विश्वास गर्नु भएको हो । जहाँ प्रकाशजीको कुरा छ । अब उहाँ असल व्यवसायी हो । राम्रो व्यापारी हो । उद्योग वाणिज्य संघमा हुनुहुन्छ । राजनीतिमा शोखले, महत्वकांक्षाले हुँदैन । जनतालाई सेवा गर्न त्याग चाहिन्छ । जीवनमा धेरै चिज त्याग्नु पर्छ । धेरै दुःख, सुख धेरै आन्दोलन पार गरेर यो ठाउँमा आइपुगेको हुँदा हामीले त्याग गर्न सिकेका छौं । त्याग गर्न जानेको छौं । यो हाम्रो त्यागले निजी स्वार्थभन्दा नी जनताले हितको लागि हिजो लडेको हुँदा अहिले पनि म जनताको हितको लागि आवश्यक परे जस्तो सुकै त्याग, बलिदान गर्न सक्ने मेरो ढृड विश्वास भएको हुँदा जनताले के विश्वास गर्छन्, यसले आवश्यकता परे जस्तोसुकै पनि बलिदान गर्न सक्छ । त्याग गर्न सक्छ भन्ने त्यो माया हो । त्यो मायालाई म अटुट राख्दछु ।
बाम गठबन्धन बाहेक अरु मतदाताहरुले तपाईलाई किन भोट दिने ?
मैले राजनीतिमा बहुल विचार, बहुल समाज भएपछि सबैलाई सम्मान गर्नुपर्छ । हाम्रो भौगोलिक अवस्था, जातीय सन्तुलन र सबैले अधिकार पाउने कुरामा त्यहाँका क्षेत्रिय, लिङ्गीयता सबै आन्दोलनमा सक्रिय सहभागीता भएको र सबै रंगहरुले फूल्न पाउँनु पर्छ । सबैको अधिकार सुरक्षित हुनु पर्छ । कसैले कसैलाई निषेध गर्नु हुँदैन । जब सबैले सबैलाई, आफू सम्मानको अवस्था महशुस हुन्छ तब अरुलाई सम्मान गर्न जानिन्छ । त्यो आन्दोलन समेत रहेको हुँदा त्यो हिसाबले पनि त्यहाँका सबै वर्ग, जाति, क्षेत्र, कर्मचारी सबै वर्गले मलाई अलि बढि माया गर्ने कारण के भने हरेकको आन्दोलनमा मैले साथ दिएको छु । हरेक सही मुद्धामा मैले उहाँहरुलाई साथ दिएर लडेको हुँदा त्यो विश्वास उहाँहरुले मलाई गर्नु भएको हो । धेरै कुराहरुमा हिजो जुन जुन पार्टीमा थिए । त्यो बेला पार्टीको विचारमा उभिएर राष्ट्रिय स्वाधिनता, जातिय मुद्दाहरु ती सबै कुराहरुमा सबै आन्दोलनकारीहरुको आन्दोलनमा सरिक भएको र न्यायपूर्ण आन्दोलनमा सँधै मेरो साथ भएको हुँदा न्यायपूर्ण आन्दोलनमा साथ दिने मान्छे हो भन्ने विश्वास जनतालाई भएको हुँदा उहाँहरुले मलाई उत्तम भन्नु भएको हो । मलाई मन पराउनु भएको हो । किनभने अरु कारणले होइन । सँधै उहाँहरुको साथमा थिए र छु ।

तपाईले मुख्य चुनौती के देख्नु भएको छ ?
जनता साथमा छन्, मैले चुनौती नै देखेको छैन । जनताले चुनौतीलाई पार गरिसकेका छन् । हिजोको ईतिहासलाई हेर्दा मूलतः अहिलेसम्म राजनीतिक सँस्कारले हेर्दा पैसाले मत किन्ने । र पैसा कमाएर फेरी किन्न आउने, त्यसको विरुद्धमा मैले त्यो खेल नियम नै बदलौं, पात्र बदलौं भन्ने अभियान चलाईसकेको हुँदा उनीहरु अत्तालिएको हुँदा पुरानै खेल खेल्न खोजिरहनु भएको छ । पुरानो खेललाई रोक्न जनता सक्षम छन्, त्यसैले मैले चुनौती देखेकै छैन । प्रतिस्पर्धी उम्मेदवारहरु पराजित भैसक्नु भएका छन्, एजेण्डाले, मुद्धाले, जनताको मत जित्न नसक्ने भएपछि उहाँहरुले त्यो हतकाण्ड अपनाउनु भएको हो । त्यो हतकाण्ड २० औं वर्ष पछि भैसक्यो । त्यसले गर्दा मैले उहाँहरुलाई चुनौतीको रुपमा लिएको छैन । जनता साथमा हुनुहुन्छ । जनता साथमा भएपछि जस्तासुकै चुनौती पनि हामी पार गर्न जानेका छौं, सिकेका छौं, पार गर्छौं ।
कुनै पार्टीमा स्थिरता छैन भनेर विपक्षीहरुले आरोप लगाउँदै आएका छन्, यसलाई चिर्दै कसरी अगाडि जानुहुन्छ ?
चेतनाको स्तर बढ्दै गएपछि, मुद्धाहरुमा, एजेण्डाहरुमा जहाँ जहाँ मिल्छ त्यहाँ जाने हो । पार्टी भनेको धर्म होइन । जुन जुन बेलामा जुनजुन मुद्धाहरु सही भए, आवश्यकता भए त्यो त्यो ठाउँमा लागेको छु । म बापन्थीभन्दा बाहिर कहिल्यै गइन । र पछिल्लो चरण २०४८ सालमा जनमोर्चाको उम्मेदवार हुँदा हुँदै एमालेको सूर्यलाई मत मागे । त्यो पार्टीको नीति थियो । बाम गठबन्धनकै नीति थियो । पार्टी फुट्दै जाँदा तीन चार टुक्रा भए चौथो महाधिवेशनमा । त्यो टुक्रा हुँदा त्यसकै एउटा अंशमा रहिरहे । त्यहाँभन्दा बाहिर कहिल्यै रहिन र माओवादी आन्लोनमा लामो समय रहेपछि, माओवादीका आन्दोलनका नेताहरु मोहन वैद्य, नेत्रविक्रम र बाबुराम । म बाबुरामजीहरुको खेमामा रहेर काम गरे र हामीले एउटा ठूलो आँट गरेर नयाँ शक्ति बनाउने तर्फ लागियो । ६ जिल्लाको संयोजक भएर मैले केन्द्रीय सदस्य भएर काम गरे । त्यहाँ पनि जुन कुरो मैले उठाउथे त्यो कुरो मानेर त उहाँहरु आज एकै ठाउँमा आउनु भयो त ? म जहाँ थिए उहाँहरु त्यहा आइपुग्नु भो । भनेपछि दुर्दशी अलि सपना देखेको रहेछु । सानो प्रभाव प¥र्यो होला । तर कुरो त मैले सही कदम उठाएको रहेछु । त्यसले गर्दा मैले कहिले पार्टी बदल्ने, आन्दोलनमा आवश्यक पर्दा जहाँ जान पनि तयार हुनु पर्छ । आन्दोलन भनेको आन्दोलन हो । न्यायपूर्ण आन्दोलन जसले गरे पनि समर्थन गर्नु पर्छ । त्यसमा म रहने छु । पार्टी परिवर्तन गर्ने यस्ता चिज गरेको छैन । मान्छेले त्यो मेरो आन्दोलनको ईतिहास नबुझेका प्रतिपक्षहरुले आरोप लगाएको हुन् । जनताले बुझेका छन् ।
स्थानीय तहको मतलाई जोड्दा बाम गठबन्धनको जीत सुनिश्चित छ ? अबको ५ वर्षपछि प्रदेश ‘क’ का जनताले के पाउँछन् ?
हाम्रो प्रदेश ‘क’ मा अथाहा जलस्रोत छ, त्यसमा सबै गरिब जनताको पनि शेयर हुनु पर्छ भन्ने मेरो मान्यता हो । हुने को त शेयर हुने भो, नहुँने जनताको पनि शेयर हुन पर्छ भन्ने मेरो योजनाहरु छन् । जो जनताले पैसा हाल्न सक्दैनन् । तीनीहरुलाई कसरी सुनिश्चित गर्ने ? पहिलो आन्दोलन मेरो त्यहाँ हुन्छ । त्यहाँको स्रोतको मालिक त्यहाँको स्थानीय जनता हुनु पर्छ । यो मेरो चुनावी नारा मात्र होइन, त्यो कानुनी रुपले त्यसलाई कसरी स्थापित गर्न सकिन्छ, मेरो पहिलो धारण त्यहाँ छ । किन भने म आफै सिभिल इञ्जिनीयर भएकाले त्यहाँ के के छन्, अलिअलि मैले त्यो आन्दोलनमा लागेको हिडेको हुँदा अलि केहि बुझेको छु । र जनतालाई पहिले आफ्नो प्राकृति स्रोतको मालिक बनाउने अभियानमा म लाग्छु । त्यसपछाडि पूर्वाधारका विकासहरु गर्ने । हामीले सामान्य परिवर्तन होइन आमूल परिवर्तन गर्ने कुरा गरेका छौं । सोलुको विकास एकाध ठाउँमा विद्यालय बनेका छन्, अलिअलि घरहरु बनेका छन् । हामीले खोजेको त्यस्तो विकास होइन । आमूल परिवर्तनमा फड्को मार्नु पर्छ । नेताले सबै चिज बनाइदिने होइन । हामीले यस्ता चिजहरु पहिचान गर्नु पर्छ, जुन पहिचान गर्दा खेरी त्यो चिज बन्ने वित्तिकै आवश्यक फड्को मारिन्छ । आमूल परिवर्तनको लागि जनताको साथ पार्टीको घोषणा पत्र त्यसमा टेकेर आफ्नो सिर्जनामा निरन्तर म भूगोलमा भएको हुँदा मैले पहाड, कुना, कन्दरा सबै देखेको हुँदा त्यहाँ मैले अथाहा अथाहा चिजहरु, सम्भावनाहरु देखेको छु । त्यो सम्भावनाहरुलाई चुनौतीमा लिँदै अवसरमा बदल्ने जनताको उन्नतीको कार्यमा लाग्ने छु । बामपन्थी आन्दोलनमा योगदा पु¥याई रहेको छु । त्यही नै मेरो प्रतिबद्धता हो । त्यो नै विश्वास हो । जनताले साथ दिएपछि नहुँने कुरा असम्भव केहि छैन ।
अत्यमा सोलुखुम्बेली मतदाताहरुलाई के भन्नु हुन्छ ?
म के भन्न चाहान्छु भने जुन विश्वास मलाई जनताले गर्नु भएको छ । त्यो विश्वासलाई म ढृडताका साथ पालना गर्छु । नेपालको ३५/३६ वर्षे आन्दोलनको हरेक आन्दोलनमा सक्रिय सहभागी भएर निभाएको हुँदा त्यो आन्दोलनको व्याज मैले खोजेको छैन । त्यो आन्दोलनको जगमा हिजो रगत बगाउन तयार भएको थिए, अब पसिना बगाउनु पर्छ । भन्ने मान्यताका साथ म पसिना बगाउन जनतालाई लिएर जिल्लाको समृद्धि विकासमा मेरो योगदान दिनेछु ।
त्यो विश्वासलाई अभिमत तयार गर्ने मतपत्र हो । त्यो मतपत्रको रुपमा मलाई दिनुस, तपाईको विश्वासलाई मैले जसरी हिजोसम्म कायम राखे । त्यो नै मेरो आफ्नो आत्माविश्वास पनि हो । त्यसरी मैले विश्वासको मत मागेको छु । त्यो विश्वासको मत सबैले दिनु हुनेछ । यही नै मेरो सम्पूर्ण सोलुखुम्बु बासीहरु यहाँका बुद्धिजीवी, कर्मचारी, व्यवसायी, महिला, आदिवासी/जनजाती, आन्दोलनका नेताहरु, संघसंस्थाहरु सबैसँग मेरो हार्दिक हार्दिक अनुरोध छ ।
https://www.youtube.com/watch?v=oUxlnp0Id2o&t=35s
यो पनि पढ्नुस
१४ कार्तिक २०७४, मंगलबार
798
Shares







