नियुक्ति, फिल्ड भत्ता र तलब माग्दै पुनः निर्माणका प्राविधिक कर्मचारी आन्दोलित

0 Shares

शिव ढुंगाना

ओखलढुंगा, २७ भदौ । भुकम्पपछिको पुनः निर्माणमा सहयोग गर्न पुनः निर्माण प्राधिकरणले ओखलढुंगाको गाउँ गाउँमा खटाएका प्राविधिक कर्मचारी नियुक्ति, फिल्ड भत्ता र तलव माग गर्दै आन्दोलनमा उत्रिएका छन् । आवश पुनः निर्माणमा सहयोग गर्न ओखलढुंगाका गाउँ गाउँमा खटाइएका इन्जिनियर, ओभर सियर र सव ओभरसियरले साउन देखी तलब र नियुक्ति पत्र समेत नपाएपछि काम छोडेर आन्दोलनमा उत्रिएका हुन् ।
दुई महिनादेखी तलव र नियुक्ति नपाएपछि उनीहरु सदरमुकामस्थित पुनः निर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाइमा भेला भएर धर्ना शुरु गरेका छन् । एक हप्तासम्म माग पुरा नभए कार्यालयमा तालाबन्दी गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
फिल्ड भत्ता माग गर्दै आएका उनीहरुले साउनदेखि नियुक्ति विनै काम गर्दै आएका थिए । नियुक्ति नै नदिएपछि तलव समेत नपाएको पुनः निर्माणमा खटिएका ओभरसियर राजेन्द्र धमलाले बताए । साउनदेखि ओखलढुंगामा खटिएका १०४ इन्जिनियर, ४७ ओभरसियर र ५१ जना सव ओभरसियरले नियुक्ति र तलव पाएका छैनन् ।
प्राविधिक कर्मचारीको मागका विषयमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख तथा पुनः निर्माण आयोजना कार्यन्वयन इकाइ ओखलढुंगाका प्रमुख सुवास वस्नेतले नीतिगत निर्णय गर्न भएको ढिलाइले समस्या भएको बताए । नियुक्तिबारे निर्णय भएकाले एक हप्ताभित्रै नियुक्ति हुन सक्ने वस्नेतको भनाइ छ । सेवा सुविधाका विषयमा जिल्ला तहमा केही गर्न नसकिने पनि वस्नेतले बताए ।
यातायात खर्च र भत्ता माग गरे पनि नदिएपछि घरबाट पैसा मागेर खाना खानु पर्ने बाध्यता रहेको सव इन्जिनियर पवन रेग्मीले गुनासो गर्नुभयो । सेवा सुविधाका अतिरिक्त काममा खटाउनु अघि ग्रामीण भेगमा बनाइने घरका बारेमा तालिम दिइनु पर्ने भएपनि प्रशिक्षण नदिएपछि गाउँमा सहयोग गर्न समस्या भएको उनीहरुले बताएका छन् । गाउँलले सोधे भने गाउँमा मिल्ने एउटा मात्र घरको डिजाइन भएकाले विकल्प दिन नसकिएको रेग्मीको भनाइ छ । तालिम नपाएर आफुहरुले प्रभावकारी काम गर्न नसकेको भन्दै तत्काल तालिम दिन समेत उनीहरुले माग गरेका छन् ।
ओखलढुंगामा अनुदान वितरण धमाधम वितरण भएर भुकम्प पीडितहरु घर बनाउन जुटेको ससमयमा प्राविधिक कर्मचारीहरु तलब र नियुक्ति माग गर्दै आन्दोलनमा उत्रिएपछि पुनः निर्माणको काम प्रभावित हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार