मन्त्रिपरिषद्बाट उच्च अदालतको स्थान तय

7 Shares

काठमाडौँ, २९ भदौ । नेपाल सङ्घीयतामा गएको सङ्केत दिने गरी आज बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशमा उच्च अदालतको स्थान तोकेको छ ।

प्रदेशको राजधानी नतोकिँदासम्म अस्थायी रुपमा प्रदेश नं १ को विराटनगर (मोरङ), प्रदेश २ नं को जनकपुर (धनुषा), प्रदेश नं ३ को पाटन (ललितपुर), प्रदेश नं ४ को पोखरा (कास्की), प्रदेश नं ५ को तुलसीपुर (दाङ), प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को दीपालयमा उच्च अदालत राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

बैठकले उच्च अदालतको इजलासलाई समेत प्रदेशअनुरुप विस्तार गरेको छ । यसअनुसार प्रदेश १ मा विराटनगर, इलाम, धनकुटा र ओखलढुंगा, प्रदेश नं २ मा राजविराज, जनकपुर र वीरगन्ज, प्रदेश नं ३ मा हेटौँडा र पाटन, प्रदेश नं ४ मा पोखरा र बाग्लुङ, प्रदेश नं ५ मा बुटवल तुलसीपुर र नेपालगन्ज, प्रदेश नं ६ मा जुम्ला र सुर्खेत तथा प्रदेश नं ७ मा महेन्द्रनगर र दीपायलमा उच्च अदालतका इजलास रहनेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको बिहीबारदेखि हुने भारत भ्रमणमा दीर्घकालीन रुपका नयाँ सन्धि नगर्न र दुई देशबीचका पुराना सन्धिबाट नेपालले पाउने भनिएका लाभ नपाएको विषय उठाउन मन्त्रिपरिषद्ले सुझाव दिएको छ ।
मन्त्री कार्कीले भन्नुभयो, “महाकाली सन्धिबाट नेपालले पाउने भनिएको सिँचाइ, बिजुलीलगयात लाभ नपाएका विषय तथा दुई देशबीच यसअघि गरिएका समझदारी र आश्वासन कार्यान्वयन गरी भ्रमण फलदायी बनाउन मन्त्रिपरिषद्ले प्रधानमन्त्रीलाई सल्लाह दिएको छ ।”

त्यस्तै, बैठकले जातीय भेदभाव तथा छुवाछूत अन्त्य तथा दलित अधिकार प्रवद्र्धनसम्बन्धी कार्यविधिलाई स्वीकृति प्रदान गरेको छ । बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई तोकेको छ ।

चाडपर्वमा छुट

मन्त्रिपरिषद् बैठकले दसँै, तिहार र छठ जस्ता राष्ट्रिय चाडपर्वमा नेपाली जनतालाई राहत दिने उद्देश्यले काठमाडौँ उपत्यकाका ११ स्थान र अन्य २५ जिल्लाका विभिन्न स्थानमा साल्ट टे«डिङ र नेसनल टे«डिङबाट असोज १ गतेदेखि नुन, चिनी र चामलमा सहुलियतसहित बिक्री गर्न लगाउने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताउनुभयो ।

पहाडमा रु ९ मा प्रति केजी नुन उपलब्ध गराइने छ भने चामलमा प्रतिकिलो रु १० र चिनीमा रु पाँच छुट दिइने छ । अन्य जिल्लामा चिनीमा र चामलमा रु पाँच र नुनमा रु दुई छुट दिने निर्णय गरिएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार