२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

नयाँ वर्षमा सौराहा भरिभराउ


नारायण अधिकारी

३० चैत्र २०७४, शुक्रबार  

140
Shares

चितवन । पर्यटकीय क्षेत्रमा नयाँ वर्ष भन्नेबित्तिकै अंग्रेजी नयाँ वर्षलाई लिने गरिन्थ्यो । अंग्रेजी नयाँ वर्षमा अन्तरिक र बाह्य पर्यटकले यहाँका होटल तथा रिसोर्ट भरिभराउ हुन्थे ।

सौराहाको राप्ती नदी किनारमा शुक्रबार दृश्यावलोकन गर्न पुगेका पर्यटक ।

पर्यटन व्यवसायीलाई पनि पर्यटक भनेपछि विदेशीमात्रै लाग्ने गथ्र्याे । अहिले अवस्था त्यस्तो छैन । पछिल्ला वर्षहरुमा विसंको पहिलो दिन वैशाख १ गते नयाँ वर्ष मनाउनेहरु आन्तरिक र बाह्य दुवै हुने गरेका छन् ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार विसंको पहिलो दिन वैशाख १ गते नयाँ वर्ष मनाउन आउनेहरुको संख्या वर्षेनी बढ्दो छ । उहाँले भन्नुभयो, “तीन वर्षयता नयाँ वर्ष मनाउन यहाँ आउने संख्या वर्षेनी बढ्दै गएको छ ।”
त्यसअघिका वर्षहरुमा अंग्रेजी नयाँ वर्ष मनाउन पर्यटक आउने भए पनि नेपाली नयाँ वर्षमा पर्यटकीय क्षेत्र प्रायः सुनसान जस्तो हुन्थे । पछिल्ला वर्षहरुमा नेपाली नयाँ वर्षमा आन्तरिक र बाह्य पर्यटकले होटल भरिभराउ हुने गरेका छन् ।
गतवर्ष नेपाली नयाँ वर्षमा ८० प्रतिशत सौराहाका होटल बुकिङ भएका थिए । यसवर्ष ९० प्रतिशत होटल बुकिङ भइसकेको घिमिरेले बताए । उनका अनुसार ६० देखि ७० प्रतिशत आन्तरिक तथा बाँकी बाह्य पर्यटक सौराहामा छन् । अंग्रेजी नयाँ वर्षमा शतप्रतिशत होटल बुकिङ हुने गर्छ । सौराहाका ११० होटलमा पाँच हजार ५०० पर्यटक राख्न सकिन्छ । धेरै आन्तरिक पर्यटक आज आएर भोलि फर्किने गर्छन् । बाह्य पर्यटक दुई÷तीन दिनसम्म बस्न सक्छन् ।
रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरी सौराहाका होटल रेष्टुरेण्टहरु पर्यटकले भरिएको बताए । उनका अनुसार बिहीबारदेखि नै पर्यटकको चहलपहल बढेको छ । त्यसो त विदेशीले भन्दा नेपाली पर्यटकले बढी खर्च गर्ने उनी बताउँछन् । उनले भने, “नेपालीको गोजीमा एक हजार भयो भने ९०० खर्च गर्छन् विदेशले एक हजार भयो भने ३०० सम्म मात्रै खर्च गर्छन् ।”
आम्दानीको हिसाबले स्वदेशी पर्यटक फाइदाजनक हुने उनले बताए । यस वर्ष नयाँ वर्षको अघिल्लो दिन शुक्रबार तथा नयाँ वर्षको दिन शनिबार परेकाले पनि नयाँ वर्ष मनाउन आउनेको संख्या बढी भएको उनको भनाइ छ । पछिल्ला वर्षहरुमा नेपालीहरुमा भ्रमण र खर्च गर्ने प्रचलन बढ्दो छ । यतिबेला विद्यालयको परीक्षा सकिएर नयाँ कक्षा सञ्चालन भइनसकेकाले पारिवारिक भ्रमण पनि बढी हुने गर्छ ।
रेवानले नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सौराहाकै केही होटलले पनि सांस्कृतिक कार्यक्रम राखेका छन् । सौराहा आउने पर्यटक राप्ती किनारको बगरमा बसेर निकुञ्ज नियाल्दै रमाउँछन् । पर्यटकले हात्ती, डुंगा र जिप सफारी पनि गर्छन् । देशको तेस्रो पर्यटकीय गन्तव्य मानिने चितवन राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ एकसिंगे गैँडा, बाघलगायत जंगली जनावर हेर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार  ८ : १० बजे