सोलुखुम्बु । खुम्बुपासाङल्हामु गाउँपालिकाभित्र सञ्चालन गरिएका एनजिओ र आईएनजिओलाई प्रस्तावित योजना तथा कार्यक्रमहरु गाउँपालिकाको कार्यालयमा पेश गर्न सूचना जारी गरेको छ । गाउँपालिकाभित्र सञ्चालन गरिएका एनजिओ र आईएनजिओले वैशाख मसान्तभित्र योजना तथा कार्यक्रम पेश गर्न भनिएपनि सो समयभित्र कसैले पेश नगरेकाले पुनः ताकेता पत्र जारी गरिएको खुम्बुपासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए ।
‘गाउँसभाबाट योजना, कार्यक्रम, बजेट पारित गर्नका लागि समस्या भएकाले यहि जेठ १५ गतेभित्र अनिवार्य रुपमा सँस्थाले योजना तथा कार्यक्रमको विवरण पेश गर्नु पर्छ’ अध्यक्ष शेर्पाले भने, ‘होइन भने स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कारवाहि गरेने छ ।’
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ६ दफा २५ को उपदफा १ मा गैर सरकारी संघ सँस्था, उपभोक्ता समिति, सहकारी सँस्था लगायतका सामाजिक तथा सामुदायिक संघ सँस्थाले स्थानीय तहसँगको समन्वयमा रही कार्य गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी उपदफा २ को ‘क’ मा स्थानीय तहसँग भएको सम्झौताको आधारमा कुनै अध्ययन सर्वेक्षण वा कार्यक्रम सञ्चालन गर्ने, ‘ख’ मा आफ्नो वार्षिय योजना, कार्यक्रम तथा बजेट स्थानीय तहको वार्षिक योजना, कार्यक्रम तथा योजना समावेश गराउने उल्लेख गरिएको छ ।
झनै उपदफा ३ मा त ‘यस दफाको विपरित कुनै संघ सँस्थाले काम गरेमा स्थानीय तहले त्यस्तो काम कारबाहिको कार्यान्वयन गर्न रोक लगाउन सक्नेछ’ भन्ने व्यवस्था गरिएको छ ।

स्थानीय तह आफैले पनि यस सम्बन्धी कानून बनाउन छुट दिएको छ ।
४ जेष्ठ २०७५, शुक्रबार
385
Shares







