६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

नेपालको सबैभन्दा पुरानो जाती किराती हो : सांसद राई

नाछिरिङ सोस्खा तोष वृत्तचित्र तथा साखेल्वा गीत विमोचन



काठमाडौं । नेपालमा बसोबास गर्ने आदिवासीमध्ये अस्थित्वमा रहेको सबैभन्दा पुरानो जाति किराती भएको सांसद हेमकुमार राई ‘सुरवीर’ ले बताएका छन् । नाछिरिङ सोस्खा तोस (भूमेपूजा) वृत्तचित्र तथा साखेल्वा गीत विमोचन कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै सांसद राईले ईतिहास बोकेको किराती समुदायलाई राज्यले उपेक्षा गरेको समेत बताएका हुन् ।

नाछिरिङ समुदायको भाषा, सँस्कार, सँस्कृति र परम्परागत मूल्य मान्यतालाई भावि पुस्तामा पुस्तान्तरण गर्न समेत सांसद राईले आग्रह गरे । किराती समुदायको भाषा, सँस्कार र सँस्कृतिलाई भावि पुस्ताले अपनत्व हुने गरी अहिलेको प्रतिस्पर्धी समय र प्रविधिसँगै लैजानु पर्ने उनले बताए ।
जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीरकुमार नाछिरिङ राईले सक्कली नाछिरिङ हामी हौं भन्दै झुण्ड बनाएर जानेलाई वास्ता नगरी आफ्नो भाषा, सँस्कार र सँस्कृति बचाउन तर्फ सबै नाछिरिङ समुदाय लाग्नुपर्ने बताए ।

‘झुण्ड मन पराउनेले नाछिरिङमा फुटको शुरुवात गरेको छ’ जिसस प्रमुख राईले भने, ‘जसले काम गर्छ, उसैले ताली र गाली दुबै पाउँछ, जसले कामै गर्दैन उसले केहि पनि पाउँदैन ।’
उपप्राध्यपक डा. तारामणी राईले नाछिरिङ भाषा विश्व भाषाहरुको अध्ययन गर्ने सँस्थाले हराउँदै गएको सूचीमा राखेको तथ्यांक सुनाए । भाषा, सँस्कार, सँस्कृति बचाउनको लागि दस्तावेजीकरण गर्नुपर्ने समेत डा. राईले बताए ।

भाषाको अध्ययन अनुसन्धानमा अरु समुदायको व्यक्तिलेभन्दा आफ्नै समुदायको व्यक्तिले गरेको अध्ययन अनुसन्धान बढि प्रभावकारी हुने समेत डा. राईले बताए ।
किराती मुन्धुमविद् भोगीराज चाम्लीङले राई जाती हो की होइन भन्ने विषयमा तार्किक बहस र छलफल हुनुलाई सकारात्मक रुपले हेर्नुपर्ने बताए । समस्या मात्र थुपारेर समाधान नहुने भन्दै समग्र किरातीहरुलाई एउटै मूलधारमा ल्याउन व्यापक बहस, छलफल र उपायाको खोजी गर्नुपर्ने आवश्यकता भएको उनले बताए ।

‘किरातीहरु दुवो जस्तै फैलियौं, तरुल जस्तै गाडियौं र सती साल जस्तै ठिङ्ग उभिन सक्ने क्षमता भएकाले अहिलेसम्म रह्यौं’ मुन्धुमविद् चाम्लीङले भने ।
सोलु काठमाडौं रिदुम मिन्ताम नाछिरिङ समाजका अध्यक्ष भिम नाछिरिङ राईले नाछिरिङ भाषा लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । देशको विभिन्न क्षेत्रमा बसाईसराई गर्दै नाछिरिङ समुदाय गएपछि भाषा, सँस्कार र सँस्कृति पनि लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।

नाछिरिङ भाषा, सँस्कार, सँस्कृति र परम्परालाई दस्तावेजीकरण गर्नका लागि समाजले सोस्खा तोष वृत्तचित्र निमार्ण गरेको अध्यक्ष राईले बताए । पछिल्लो समयमा नाछिरिङ समुदायका महिलाहरुले लगाउने विभिन्न किसिमका गरगहनाहरु समेत लोप भएको राईले बताए ।
किरात रदु नाछिरिङ साखाम केन्द्रका अध्यक्ष शकलबहादुर नाछिरिङले नाछिरिङ समुदायमा भ्रम छर्नको लागि केहि समुहले अशली नाछिरिङ हामी हौं भन्दै भ्रामक प्रचार गरेकोमा भ्रममा नपर्न आग्रह गरे । नाछिरिङको एउटै मात्र सँस्था भएको पनि अध्यक्ष नाछिरिङले बताए ।

‘सम्पूर्ण नाछिरिङ दाजुभाई तथा दिदीबहिनीहरुलाई नाछिरिङ समुदायको एउटै सँस्था हो, एउटै भाषा, सँस्कार, सँस्कृति हो भन्ने सन्देश दिन सबैलाई अनुरोध गर्दछु’ अध्यक्ष नाछिरिङले भने ।
कार्यक्रममा नाछिरिङ समुदायमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

नाछिरिङ समुदायमा याेगदान दिएका व्यक्तीहरुलाई सम्मान गर्दै सोलु काठमाडौं रिदुम मिन्ताम नाछिरिङ समाजका अध्यक्ष भिम नाछिरिङ राई ।

नाछिरिङ समुदायमा याेगदान दिएका व्यक्तीहरुलाई सम्मान गर्दै सोलु काठमाडौं रिदुम मिन्ताम नाछिरिङ समाजका अध्यक्ष भिम नाछिरिङ राई ।

नाछिरिङ समुदायमा याेगदान दिएका व्यक्तीहरुलाई सम्मान गर्दै सोलु काठमाडौं रिदुम मिन्ताम नाछिरिङ समाजका अध्यक्ष भिम नाछिरिङ राई ।

नाछिरिङ समुदायमा याेगदान दिएका व्यक्तीहरुलाई सम्मान गर्दै सोलु काठमाडौं रिदुम मिन्ताम नाछिरिङ समाजका अध्यक्ष भिम नाछिरिङ राई ।

नाछिरिङ समुदायको सोस्खा तोष (भूमेपूजा) वृत्तचित्र समेत प्रर्दशन गरिएको थियो । कार्यक्रममा नाछिरिङ भाषाको गीत समेत सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा देशका विभिन्न जिल्लाका ३ सयभन्दा बढि नाछिरिङहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७५, शनिबार  ३ : १३ बजे