काठमाडौं । पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानका महासचिव बच्चुनरायण श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथालाई आरोहीहरुले व्यक्तिगत प्रतिष्ठा र स्वार्थसँग जोड्न नहुने बताएका छन् । सगरमाथा आरोही दिकी शेर्पाको सम्मान कार्यक्रममा बोल्दै महासचिव श्रेष्ठले सगरमाथा आरोहण सफल भएसँगै अधिकांश आरोहीहरु विदेशीने क्रम भएकाले नेपालमै बसेर पर्यटन क्षेत्रको विकासमा सहयोग गर्नुपर्ने बताएका हुन् ।

‘दुःख लाग्छ विश्व कीर्तिमानी सगरमाथा अरोहीहरु तेञ्जिङनोर्गे शेर्पा, आप्पा शेर्पा लगायत अन्य आरोहीहरुलाई नेपालमा राख्न सकिएन’ श्रेष्ठले भने, ‘हिमाल आरोहीहरुलाई राज्यले मृत्युपछि मात्र सम्मान गरेको छ, अब उनीहरुलाई जीवित हुँदै सम्मान गर्नुपर्छ ।’

नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष सन्तवीर लामाले हिमाल आरोहणको क्रममा भएगरेका दुर्घटनामा आकस्मिक उद्धारको लागि बजेटनै तयार गरेर योजना ल्याउनु पर्ने बताएका छन् । आफूहरुले यस्तो योजना ल्याउनको लागि सरकारसँग पहल गरिरहेको पनि अध्यक्ष लामाले बताए ।

नेपाल पर्वतीय लिडर संघका अध्यक्ष केशर श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा विभिन्न संघसंस्थाबीच अस्वास्थ्य प्रतिस्पर्धा भएको स्मरण गर्दै आफूले नेतृत्व गरेको संस्था कसैको प्रतिस्पर्धी नभएको बताए । अध्यक्ष श्रेष्ठले पर्वतीय लिडर संघले नेपालमा आएका पर्यटकहरुलाई नेपालमा भएगरेका पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिने र ट्रेकिङको क्षेत्रमा घुम्न प्रोत्साहन गर्ने मात्र काम भएको बताए ।

सगरमाथा आरोही दिकी शेर्पाले ‘लैङ्गीक समानताका लागि सकारात्मक सोच’ भन्ने नारा लिएर सगरमाथा सफल रुपमा आरोहण गरेका थिए । ‘नारीहरुले पनि अवसर पाए जुनसुकै काम गर्न सक्छन्, भन्ने प्रमाणीत गरेर देखाईदिए’ आरोही शेर्पाले भने, ‘अबको दिनमा केही गर्न सक्छु भन्ने आत्माविश्वास, आँट र साहास पलाएको छ ।’

सगरमाथा आरोहणको अनुभव सुनाउँदै आरोही दिकी शेर्पा ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/ywBB7eK1NMg
नेपाल पर्वतीय लिडर संघद्धारा प्रदान गरिएको सम्मानपत्र लिदै सगरमाथा आरोही दिकी शेर्पा ।

नेपाल पर्वतीय लिडर संघद्धारा प्रदान गरिएको सम्मानपत्र लिदै सगरमाथा आरोही दिकी शेर्पा ।
१२ असार २०७५, मंगलबार
1.3k
Shares







