काठमाडौं । ट्रेकिङ पथ प्रदर्शकहरुको साझा संगठन ट्रेकिङ गाइड एशोसिएसन अफ नेपालको छैटौं अधिवेशन राजधानीमा सम्पन्न भएको छ । अधिवेशनले पेशागत सुरक्षालाई मुख्य अजेन्डासहित अघि बढाउनेमा जोड दिएको हो ।
अध्यक्ष कर्णबहादुर घलेको अध्यक्षतामा पर्यटन बोर्डको सभाहलमा भएको अधिवेशनले नयाँ कार्यसमिति चयनका लागि अभ्यास गरिरहेको छ ।

उद्घाटन कार्यक्रममा महासचिव राजेन्द्र रम्तेलले संस्थाको गतिविधिबारे सभालाई जानकारी गराए भने कोषाध्यक्ष काले शेर्पा पिनासले संस्थाको आर्थिक प्रतिवेदन पेश गरे । त्यस्तै, उपाध्यक्ष राजेन्द्र आचार्यले स्वागत मन्तव्यको क्रममा आफू कम्पनी स्थापना गरेर व्यवसायमा लागेकाले टिगानमा नरहने घोषणा गरे । कार्यक्रममै वर्तमान महासचिव रम्तेललेपनि आफू कम्पनीको मालिक भएकाले अब टिगानको कार्यकारी पदमा रहन विधानता नमिल्ने भएकाले आफू कुनै पदको दाबी नगर्ने घोषणा गरे ।
खुल्लासभामा बुद्धिजम सम्वन्धि पाँच दिने तालिम दिएका करिव ९० जना सहभागिलाई प्रमाणपत्र समेत वितरण गरे भने वर्तमान कार्यसमितिका पदाधिकारीलाई मायाको चिनो प्रदान गरे ।
संस्थाको गतिविधि बारे मञ्चमा बोल्ने वक्ताहरुले गाइडहरुको पेशागत हितको विषयमा नीति बन्नुपर्ने विषयलाई जोडतोडले उठाए । अध्यक्ष घलेले भने ‘हामी उमेर र शरीरमा बल छाउन्जेलको लागि मात्रैको कामदार हौं । हाम्रो शारीरिक क्षमता कमजोर हुँदै जाँदा हाम्रो पेशाहरु संकटमा पर्छन । हामीलाई कामबाट निकालिन्छ । यस्तो अवस्थामा हामी रोजिरोटी विहिन हुन्छौं । यो आम पथ प्रदर्शकहरुको साझा समस्या हो । यसखाले समस्याको दीर्घकालिन समाधानको लागि अब सोच्नुपर्दछ । हामीले राज्यको निकाय, ट्रेकिङ एजेन्सीहरुलाई समेत यसबाट ध्यानाकर्षण गराउँदै आएका छौं । यस अधिवेशनले यस विषयलाई मूख्य एजेन्डाको रुपमा अघि बढाओस् ।’
घलेले थपे ‘हामीलाई एजेन्सीले हायर एण्ड फायर’ गरिरहेको छ । यसबाट हामीले व्यवसायीक मागहरु बढायौं भने कम्पनीले तपाईलाई कमप्लेन आएको छ । हामी काम दिन सक्दैनौं । भनेर कामबाट निकालिन दिनु हुन्छ । यसबाट हामी पेशागत संकटमा पर्छौं । यस्तो मनलाग्दी अवस्थामा हामीले कसरी हाम्रो पेशालाई दिगो बनाउने भन्ने बारे सोच्नुपर्ने बेला आएको छ । खासखासमा राज्यको नीतिपनि सही रुपमा बन्नुपर्ने देखिन्छ ।’
२४ भाद्र २०७५, आइतबार
161
Shares







