खानेपानी,सरसफाइ र स्वच्छता क्षेत्रमा जलवायु परिवर्तनको असर : गंगादत्त नेपाल

1.2k Shares

खानेपानी,सरसफाइ र स्वच्छता क्षेत्रमा जलवायु परिवर्तनको असर देखिन थालेको छ । पछिल्लो समय विश्वको तापक्रम दिनप्रतिदिन बढ्दै गइरहेको अध्ययनले देखाएको छ । यसैको सेरोफेरोमा नेपाल खानेपानी तथा ढल निकास विभाग खानेपानी सुरक्षा योजनाका सहजकर्ता तथा विज्ञ ग‌ंगादत्त नेपालसँग सगरमाथा अनलाइनडटकमले गरेको कुराकानीको मुख्य अंश ।
जलवायु परिवर्तन भनेको के हो ?
जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो । पृथ्वीमा सौर्य विकिरण मार्फत तापशक्ति प्राप्त हुन्छ । यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलित रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पूनः अन्तरिक्षमा फिर्ता पठाउँछ । जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुनगई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ ।


गत पछिल्लो २०० वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्याँस र ओजन तह विनास गर्ने क्लोरोफ्लोरो कार्बन जस्ता अन्य विषाक्त ग्यांसको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम बृद्धि हुँदैछ । हरितगृह ग्याँसका प्रमुख स्रोतहरूमा वनजङ्गलको विनास,कोइला,खनिजजन्य इन्धनको अत्यधिक प्रयोग, औद्योगिकीकरण आदिजस्ता क्रियाकलापहरू पर्दछन ्। जलवायु परिवर्तन लामो समयको जलवायु सम्बन्धी तथ्याङ्कको नियमिततामा देखिने स्थायी प्रकृतिको परिवर्तन हो । जसअनुसार बेला(बेलामा मौसममा आउने उतार चढावलाई वातावरणीय परिवर्तन मान्न सकिन्न ।
जलवायु परिवर्तनको मुख्य कारण के के हुन् ?
सन् १९६० को दशकपछि पृथ्वीका विभिन्न स्थानहरुमा भएको द्रूत औद्योगिक विकास तथा जनसंख्या बृद्धिले ल्याएका नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भएको तथ्य वैज्ञानिकहरू बताउँछन्। मूलतः जीवावशीष इन्धनको अत्यधिक प्रयोग र तिनबाट उत्सर्जित हरितगृह ग्याँसका साथै वनजङ्गलको विनास भै त्यस्तो ग्यांस अवशोषण गर्न नसक्नाले भूमण्डलीय तापक्रम बढेको अनुमान गरिन्छ। कोइला, खनिज तेल र ग्याँसजस्ता वस्तुको बढ्दो दहनले वायुमण्डलमा बढी कार्बन डाइअक्साइड पुग्दछ। जङ्गल फँडानी र भूक्षयीकरणले पनि वायुमण्डलमा बढी कार्बन डाइअक्साइड पठाउँछ र खेतीपातीदेखि चिस्यान प्रविधि (रेफ्रिजेरेसन) का गतिविधिबाट हरितगृह ग्याँंससमेतसिृर्जना भइरहेका हुन्छन्। पृथ्वीमा जलवायु परिवर्तनका कारणले सन् १९०६ देखि २००५ सम्ममा औसत तापक्रम ०.७४ डिग्री सेल्सियसले बढेको छ। त्यस्तै सन् १९६१ र २००३ का बीचमा समुद्रसतहमा प्रतिवर्ष १.८ मिलिमिटरले बृद्धि भएको छ र जलवायुमा आएको यस्तो अस्वाभाविक परिवर्तनका कारण सामाजिक, आर्थिक, पर्यावरणीय र विकासका संरचनामा नकारात्मक असर पुगेको कुरा विभिन्न तथ्याङ्क र प्रमाणले पुष्टि गरेका छन् (स्रोतः विश्ब मौसमविज्ञान सस्था२०१५) ।
विश्वव्यापीरूपमा बढेको यस समस्याका लागि विश्वका औद्योगिक तथा धनी राष्ट्र जिम्मेवार रहेको यथार्थ विभिन्न अध्ययन प्रतिवेदनले सार्वजनिक गरिसकेका छन्। हरितगृह ग्याँसको प्रमुख कारकको रूपमा देखिएको कार्बन डाइअक्साइडको उत्सर्जन नै विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तनको कारक मानिएको छ। धनी र औद्योगिक मुलुकले कार्बन डाइअक्साइड अत्यधिक उत्सर्जन गरे पनि नेपाल जस्ता विकासोन्मुख तथा अति कम विकसित मुलुकहरूले यसलाई खप्नसक्ने हैसियत प्राप्त गर्न अझै बढी कठिनाइ भोग्नु परिरहेको छ।
कुन कुन क्षेत्र र वस्तुमा पर्दैछ, जलवायु परिवर्तनको असरहरू ?
जलवायु परिवर्तनको मूलकारक नेपाल जस्ता विकासोन्मुख मुलुक होइनन् तर हालका दिनमा विश्व जलवायु परिवर्तनले हिमालय लगायत मानव जीवन,सामाजिक जीवन, आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पु¥याउनथालेको छ । फलस्वरूप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, सुख्खाखडेरी जस्ता प्राकृतिक विपद्को जोखिम समेत बढिरहेको अवश्था छ । हिमालय क्षेत्र नजिकका भू(भागमा मात्र होइन,यसको नकरात्मक प्रभाव दक्षिण एसिया र सम्पूर्ण विश्वको वातावरणीय सन्तुलनमा समेत पर्न गएको यथार्थता सर्वविदितै छ ।
हिमनदी विश्व तापमान बृद्धिका कारण प्रभावित हुने सबैभन्दा बढी संवेदनशील मापक भएको छ । तलका नदीको वहाव,तिनीहरूको आकार,हिमपात र त्यसको पग्लिने क्रमको अनुपातमा निर्भर गर्दछ । साविकको समय भन्दा पहिले विरुवामा फूल लाग्ने र चराले चाँडै अण्डा पार्ने गरेको पाइएको छ । यसले गर्दा पंक्षी तथा अन्य जनावरको खाद्य चक्रमा असन्तुलन हुनगई सिङ्गो पारिस्थितिक प्रणालीमा नै खलल हुने सम्भावना बढेको छ । उच्च तथा चिसो स्थानको तापक्रम बढ्नाले झिँगा र लामखुट्टे जस्ता रोगबाहक कीरा ती भागमा पुग्ने र रोग तथा महामारी फैलिने चुनौती बढ्दै गएको छ । तराईमा अत्यधिक गर्मी बढ्ने र हिमाली क्षेत्रमा समेत तापक्रम बढेर हिउँ पग्लने क्रममा विस्तार हुँदैछ । यसबाट प्रकोपजन्य जोखिम उत्पन्न त भएको छ नै नागरिक सुरक्षा र संरक्षणका थप समस्या जस्तै नयाँ र अत्यधिकमात्रमा रोगको फैलावट,कृषिजन्य उत्पादन चक्रमा परिवर्तन र उत्पादनमा ह्रास आदिका कारण भोकमरी हुनगई व्यापक वसाई सराई देखापर्ने निश्चित छ र यसको सुरुआत भइसकेको पनि छ । उदाहरणका लागि वर्षाको प्रकार र तापक्रममा आएको परिवर्तनले देशका विभिन्न क्षेत्रमा बाढी,पहिरो,भू(क्षय र खडेरीजस्ता प्रकोपका घटना बढ्दै गएका छन् । पहाडी भागमा व्यापक बाढीपहिरो जानका साथै स(साना खोल्सा, मूलकुवा आदि पानीका स्रोत मुहान सुक्दै जान थालेका छन् भने तराई भागमा भूमिगत पानीको सतह घट्न गएको छ । यसैगरी तापक्रमको वृद्धिसँगै झिंगा तथा लामखुट्टेको पनि बृद्धि भई मलेरिया, पहेँलो ज्वरो, डेङ्गु, इन्सेफलाईटिस जस्ता सरुवा रोगको प्रकोप बढ्नाका साथै कृषि तथा पशुपालन क्षेत्रमा पनि नयाँ(नयाँ झार तथा रोगकीराको आगमनले नकारात्मक असर पारेको छ । तापक्रमका साथै वर्षातको समय, मात्रा र अवधिमा आएको परिवर्तनका कारणले कृषि उत्पादन र खाद्य सुरक्षामा थप नकरात्मक प्रभाव देखिन थालेको छ भने जलवायुको परिवर्तित अवस्था अनुसार खेतीपातीमा सुधार गर्ने सीप र दक्षताको अभावका कारण कृषक थप मारमा परेका छन् ।
नेपालमा जलवायु परिवर्तन र यसका असर कस्तो छ ?
नेपालमा प्रतिवर्ष औसत ०.०४ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । यो विश्वव्यापी औसत वृद्धिभन्दा धरै बढी हो । त्यसमा पनि उच्च पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अझ बढिरहेको छ । हिमतालको निर्माण र फुट्ने क्रम जलवायु परिवर्तनको सम्भवतः सबभन्दा टड्कारो प्रभाव हो भन्न सकिन्छ । नेपालमा २० वटा त्यस्ता खतरनाक ताल छन् जो कुनैपनि बेला फुट्न सक्दछन् । जलवायु परिवर्तनले गरीबीलाई अझ जोखिममा पार्दछ र सीमान्तकृत एवं जोखिममा परेका समूहलाई अझ कठिनाइ बेहोर्न पर्ने अवस्था हुन्छ । उदाहरणका लागि, दक्षिणपूर्वी एसियामा करिब २२ करोड १० लाख जनसङ्ख्या गरीबिको रेखामुनी रहेको छ । यस क्षेत्रका गरीब खासगरी सामुद्रिक तटीय क्षेत्र र होचा भू(भागमा बसोबास गर्दछन् । यी गरीब मानिसको खेतीपातीका निम्ति अत्यन्त थोरै जमीन हुुन्छ अथवा यिनीहरू ज्याला मजदुरी र सामुद्रिक निर्भरताबाट जीविका चलाउँछन् । यिनीहरू जलवायु परिवर्तनको बढ्ता जोखिममा छन् किनभने उनीहरूको अत्यन्त न्यून आयले परिवर्तित परिस्थितिको चुनौती सामना गर्नेगरी कृषि, स्वास्थ्य सेवा साथै अन्य प्रकारका सुरक्षात्मक उपायका निम्ति थोरै वा विल्कुलै दक्षता, सीप र पहुँच पुग्दैन ।
देशको खानेपानी तथा सरसफाई क्षेत्रमा के कस्तो जलवायु परिवर्तनको असरहरु देखा पर्दैछ ?
विश्वव्यापी रुपमा भइरहको मौसम परिवर्तन जस्ता कारणहरुले गर्दा नेपालको हिमाल, पहाड तथा तराईका भित्री मधेशहरुमा पानीका मुहानहरु दिन प्रतिदिन सुक्ने क्रम बढिरहेको छ । यसरी भएका पानीका मुहानहरु सुक्नाले नेपालका अधिकांश गाउँ बस्तीहरुमा बसोबास गर्ने मानिसहरुको दिनचर्या कष्टप्रद हुँदै गइरहेको छ । यस्ता बस्तीहरुमा पानीको सम्भाव्य स्रोतहरु टाढा हुने वा भएका तथा श्रोतहरु सुक्दै जानु तथा पम्पिङजस्ता जटिल प्रविधि प्रयोग गर्नुपर्ने बाध्यता हुनाले बढी लागत लाग्ने हुँदा खानेपानी आयोजना निर्माण तथा सञ्चालन कठिनाइ भइरहेको बाध्यात्मक अवस्थामा पुगिसकेका छन् । यस अवस्थामा यस्ता गाउँ बस्तीहरुमा आर्थिक वर्ष २०६८।६९देखि खानेपानी तथा ढल निकास विभाग अन्तर्गत सुख्खा क्षेत्र खानेपानी आयोजना कार्यान्वयनमा ल्याईएको छ । विभागद्धारा विभिन्न तहमा चेतनामूलक कार्यशाला र प्रशिक्षण भईरहेका छन् । प्राकृतिक तथा मानवीय, बाह्य तथा आन्तरिक कारणहरुले गर्दा नेपालका पहाडी भाग तथा भित्री मधेशमा रहेका पानीका मुहानहरु दिन प्रतिदिन सुकिरहेका छन् । भएका पानीका प्राकृतिक मुहानहरु सुक्नाले वा सुक्दै गइरहेकाले नेपालको थुप्रै गाउ ँबस्तीहरुमा रहेका मानिसहरुको दिनचर्या कष्टप्रद हुँदै गइरहेको छ । पिउने पानीकै अभावका कारण कतिपय बस्तीका बासिन्दाहरु बसाई सर्नुपर्ने बाध्य हँुदा, पानीको श्रोत सुक्ने क्रमले अझै व्यापकता पाएको अवस्था छ । यस्तो परिरिस्थतिमा सम्पूर्ण नेपाली जनताको सुरक्षितपिउने पानी तथा सरसफाइको अधिकार सुनिश्चित गराउने राज्यको दायित्वलाई भएकोले त्यस तर्फ ध्यान जानुपर्ने हुन्छ ।
के कस्ता उपाय वा सचेतना अपनाएमा जलवायु परिवर्तनको असरलाई कम गर्न सकिन्छ ?
अहिले विश्वमा उत्सर्जन हुने करिव ६० प्रतिशत कार्बन डाइअक्साइड वनजङ्गलले सोस्ने गर्दछ। यसबाट के देखिन्छ भने विश्वमा यसको प्रभाव घटाउनका लागि हामीले सकेसम्म बढी वनजङ्गल बढाउने प्रयत्न गर्नुपर्छ। जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र यसलाई लाभमा परिणत गर्नका लागि बृहत् रूपमा वृक्षारोपणको अभियान चलाउनुपर्छ। प्रत्येक घर र कार्यालयमा कम्तीमा एउटा रूख मात्रै रोप्न र संरक्षण गर्न सक्ने हो भने पनि हामीले निकै धेरै लाभ हासिल गर्न सक्छौँ। त्यसैगरी,सडकको दायाँ(बायाँका किनारामा वृक्षारोपण गर्नुपर्छ। त्यसो गर्दा गाउँ र सहरको शोभा मात्र बढ्दैन, मानव स्वास्थ्यका लागि आवश्यक अक्सिजन पनि उत्पादन हुन्छ ।
यदि अहिलेकै गतिमा जलवायुमा परिवर्तन भइरहने हो भने प्रकृतिबाट अपूर्व वरदानका रूपमा पाएका सुन्दर हिमताल र नदीनाला यिनीहरू भविष्यमा सङ्कटमा पर्ने निश्चित छ। त्यसो भयो भने हामीले निकै ठूलो ऊर्जा सङ्कटको सामना गर्नुपर्नेछ । हाम्रो मुलुकमा रहेका हिमशृृङ्खला पग्लिने वा क्षय हुने क्रमसँगै पर्वतारोहणका कारण ती शृङ्खलामा फोहोरमैला र प्रदूषण बढेको छ । यसलाई हामीले व्यवस्थित गर्नुपर्छ । चुरे पहाडको संरक्षणका लागि पनि हामीले त्यत्तिकै ध्यान दिनु परेको छ । लगातार रूपमा चुरे पर्वत शृङ्खलामा भइरहेको क्षयीकरणले हाम्रो भु(सन्तुलनमा नै समस्या खडा गर्ने देखिएको छ । देशभरि नै वातावरण मैत्री सार्वजनिक यातायात प्रणालीको विकास गरी प्रत्येक घरमा ऊर्जा बचतको प्रविधि लागू गरिनुपर्दछ र सम्पूर्ण उद्योगलाई कम कार्बन उत्सर्जन गरेको सुनिश्चित गर्न नियमन गरिनु पर्दछ । यसैगरी विद्यालयको सम्पूर्ण तहमा वातावरण शिक्षाको पाठ्यक्रम समावेश गर्नु र भएका पाठ्यक्रमको अद्यावधिक र स्तरीकरण गरिनु जरूरी छ । हरितगृह ग्याँस उत्पादनमा कमी ल्याउन वैकल्पिक ऊर्जाको प्रयोग एक प्रमुख उपाय हो । त्यसैले आजैदेखि ऊर्जाको रूपमा पेट्रोलियम पदार्थको उपयोगमा कमी ल्याई वैकल्पिक ऊर्जा जस्तै जलविद्युत,सौर्यशक्ति,बायोग्याँसको उपयोगमा वृद्धि गर्न आवश्यक छ ।
विकसित देशका तुलनामा नेपालले हरितगृह ग्यास नगण्य मात्रामा उत्सर्जन गरे पनि तापक्रमवृद्धिका कारण वातावरणमा क्रमशः बहुआयामिक असर देखा परिरहेका छन् । सन् २००७ को जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी कार्यदल र सन् २००९मा जलवायु परिवर्तन सम्बन्धी कोपनहेगन सम्मेलनको प्रतिवेदनले विश्वभरिको जलवायुको तथ्याङ्कलाई आधार मान्दै विश्वको तापक्रम बढ्दै गएको, वर्षामा थपघट भएको र विश्वका विभिन्न ठाउँमा यसका असर देखा परेको कुरा वैज्ञानिक रूपमा पुष्टि गरेको छ भने भविष्यमा हरितगृह ग्यासको मात्रा अहिलेका अनुपातमा बढ्दै गएको खण्डमा अझ स्थिति भयावह हुने कुरालाई इङ्गित गरेको छ । तसर्थ हरितगृह ग्याँस उत्सर्जनमा कमी ल्याउन स्थानीय,राष्ट्रिय र अन्तर्रािष्ट्रय स्तरमा साझा प्रयासको खाँचो टड्कारो देखिएको छ ।

यसैगरी जलवायु परिवर्तन सम्बन्धी महासन्धिको प्रावधान र पक्ष राष्ट्रहरूको सम्मेलनले गरेका निर्णयहरू लगायत अनुकूलन, प्रभाव न्यूनीकरण, आर्थिक स्रोत, प्रविधि विकास एवम् हस्तान्तरण, क्षमता अभिबृद्धि, जलवायु समानुकूलन जस्ता अवयवहरूलाई समेटी जलवायु परिवर्तनका प्रभावलाई सम्बोधन गर्ने प्रभावकारी खाका निर्माण हुन नसक्नु आजको प्रमुख समस्या रहेको छ । विश्वव्यापी मुख्य सवालको रूपमा रहेको जलवायु परिवर्तनलाई विज्ञान र प्रविधिको कोणबाट हेर्न सक्ने क्षमता भएको निकायको पनि अभाव छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार