ओखलढुंगा– ओखलढुंगाका अति दुर्गम गाउँ पात्लेको तालकोटसम्म सडक पुगेपछि स्थानीयले फूलमालाले स्वागत गरेका छन् । ओखलढुंगा सदरमुकामबाट पहिलो पटक सडकको ट्रयाक खुलेपछि सवारीसहित पुगेका अतिथिहरुलाई स्थानीयले फूलमालाले स्वागत गरेका हुन् । साविक पात्ले गाविसको बागचिन्दो–रचने–तालकोट सडक उद्घाटनमा स्थानीयले नाचगानसहित खुसियाली समेत मनाए । 

५ किलोमिटर सडक २४ लाखमा खनिएपछि मोलुङ गाउँपालिकाको सबैभन्दा दुर्गम गाउँमा सडक पुगेको छ । वडा कार्यालय नजिकै सडक पुगेपछि आवत जावत् र ढुवानीका लागि सहज भएको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताए । वडा कार्यालयले सडक सञ्जालमा तालकाेट जाेड्न बजेट व्यवस्थापन गरेर सडक निर्माण गरेकाे हाे । वडा कार्यालय सम्म सडक पुर्याउन निकै चुनाैति पार गरेकाे अध्यक्ष सुनुवारले बताए ।
आफ्नै गाउँपालिकाको सबैभन्दा दुर्गम गाउँमा सडक पुगेपछिको खुसियालीमा सडक उद्घाटनका लागि पुगेका संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार गायिक सिता माझीसँगै चाने पनि । ‘निर्वाचनमा भाेट माग्न आउँदा मैले फेरि अाउँदा गाडी चढेर आउछु पनि भनेको थिए, अहिले म खुसी छु, वडा अध्यक्षले महत्वूर्ण काम गर्नुभएकाे छ ।’
गाउँमा सडक पुगेपछि स्थानीय खुसी भएका छन् । सडकले गाउँको जीवनस्तर सुधार गर्ने अपेक्षा लिइएको दलित अगुवा पदम परियारले बताउनुभयो । सडक उद्घाटनमा प्रतिनिधी सभाका सांसद सुनुवार, प्रदेश सभाका सांसद अम्बीरबाबु गूरुङ लगायतका अतिथिहरु पुगेका थिए ।







