काठमाडौँ । ‘हट एयर’ बेलुन माथि बसेर उडी पर्यटकहरुको प्रमुख गन्तव्य स्थल पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ ।
बेलुन प्रालि नेपाल नामक कम्पनी काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउने लक्ष्य अनुरुप सफल साहसिक खेल बेलुनमा बसेर पोखराको क्षेत्रको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँने तयारी गरेको छ । सो उडान शनिबार बिहानबाट सुरु हुने प्रालिका सञ्चालक सदस्य प्रवीण महर्जनले जानकारी दिए ।

शनिबार बिहान बिहान ९ बजे पोखराको लेकसाइडबाट पहिलो उडान सुरु हुनेछ, हामीसँग दुईवटा बेलुन छन्, पहिलो चरणमा एउटा मात्र उडाइने छ । सो उडानमा एउटामा बेलुनमा एक पटकमा आठ जनाले उडान भर्न मिल्ने महर्जनले बताए ।

प्रदेश ४.न पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि केन्द्र बनाउने उद्देश्यसहित उडान सुरु गर्न लागिएको उहाँको भनाइ छ । सो हट एयर बेलुनले पर्यटकीय नगरी पोखराको धम्पुसबाट उडान गरी मार्दी खोलाको तीरमा अवतरण गर्नेछ । यस व्यवसायबाट २५ जनाले रोजगारी पाउने बेलुन प्रालि नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सो उडानका लागि प्रालिले स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग बेलुन खरीद गरिसकेको छ । खेलका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ भने उडान सुरक्षित बनाउन भारतबाट तालिम प्राप्त बेलुन पाइटल ल्याइएको छ । नेपालमै पनि पाइलट उत्पादनका लागि निकट भविष्यमै तालिम सुरु गरिने महर्जनले जानकारी दिए ।
हट बेलुन प्रालिले नेपाली पर्यटकलाई प्रतिव्यक्ति रु ११ हजार तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १६० अमेरिकी डलर शुल्क लिई एक पटकमा आठ पर्यटकलाई उडाइने बताए । नेपालको आर्थिक मेरुदण्डको रूपमा रहेको साहसिक खेलमार्फत पर्यटकलाई थप आकर्षित गरिने प्रालिले विश्वास लिएको छ ।
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिरणबाट इजाजत लिई सुरु गर्न लागिएको साहसिक खेलसँगै निकष्ट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बन्जी जम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य सहासिक कार्यक्रमहरु प्रस्तुत गर्दै जाने प्रालिले जनाएको छ ।







