३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

१०१ वर्षकी भगवती भण्डारीले राष्ट्रिय परिचय पाइन्



पाँचथर । फिदिम नगरपालिका वडा न ४ की १०१ वर्षिया भगवती भण्डारी राष्ट्रिय परिचय पत्र लिने नेपालकै पहिलो व्यक्ति बनेकी छिन । सोमबार फिदिममा भण्डारीले राष्ट्रिय परिचय पत्र बितरण शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी गृहमन्त्री रामबहादुर थापाको हातबाट परिचय पत्र थापेर पहिलो ब्यक्ति बनेकी हुन ।

यसैगरी प्रमुख अतिथी थापाले भण्डारीको हातबाट परिचय पत्र लिएर दोस्रो व्यक्ति बने । नेपालमै पहिलो पटक पाँचथरबाट शुरु गरिएको राष्ट्रिय परिचय पत्र बितरण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथी गृहमन्त्री थापाले राष्ट्रिय परिचय पत्र बितरण कार्यक्रमको शुभारम्भ पाँचथरबाट शुरु गरिए पनि यो देशको ७७ जिल्लाबाटै क्रमश २ वर्ष भित्रमा शुरु गरिने बताए । मन्त्री थापाले यो परिचय पत्र नागरिकको शान्ति सुरक्षा,सुशासन र समृद्धी सित गाँसिएको हुनाले यसको महत्व रहेको बताए ।
कार्यक्रममा बोल्दै बिशेष अतिथी १ न प्रदशेका मुख्यमन्त्री शेरधन राईले घाम उदाउने प्रदेशबाट राष्ट्रिय महत्वको कार्यक्रमको शुभारम्भ भएकोमा खुशी व्यक्त गर्दै संघीयता कार्यन्वयन गर्दै समृद्धीको बाटोमा १ न प्रदेश गइरहेकोले केही चुनौती भए पनि त्यसलाई टेकेर अघि बढ्नुको बिकल्प नरहेको बताए ।
राष्ट्रिय परिचय पत्र बितरणका लागि गत असार ९ गते पाँचथरबाट बिबरण संकलन शुरु गरिएको थियो । पहिलो चरणमा एक लाख १७ हजार थान परिचय पत्र मध्ये सात हजार सिंहदरबारका कर्मचारीलाई र बाकी पाँचथरबासीलाई दिने कार्यक्रम अन्र्तगत पाँचथरबाट शुरु गरिएको राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका निर्देशक चोलेन्द्रप्रसाद न्यौपानेले बताए । परिचय पत्रका लागि पाँचथरबाट ५२ हजार २ सय ५७ जनाले विवरण दर्ता गराएको न्योपानेले बताए ।

मानिसको जैविक तथा वैयत्तिक विवरण सबै एकै कार्डमा अटाउन सक्ने सो परिचय पत्र पाउने नेपालको पहिलो ब्यक्ति पाँचथरका हजुर आमा भगवती भण्डारी भएकोमा धन्यवाद व्यक्त गर्दै गृहसचिव प्रेमकुमार राईले यो ऐतिहासिक कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । राष्ट्रिय परिचय पत्र पाउने पहिलो व्यक्ति हुन पाएकोमा बुद्धा भण्डारीले नेपाल सरकारको जय होस भन्दै धन्यबाद समेत दिइन । कार्यक्रममा १ न प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि इन्द्रबहादुर आङबो संघीय तथा प्रदेशका सांसदहरुको समेत उपस्थिती हरेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७५, सोमबार  ११ : २१ बजे