२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

नेपालमै पहिलो लक्षचण्डी रुद्र महायज्ञ सखडामा हुने



काठमाडौँ, ११ असोज । छिन्नमस्ता सखडा शक्तिपीठ सप्तरीको आयोजनामा मुलुकमा पहिलो पटक आगामी चैत १६ गतेदेखि सप्तरी जिल्लास्थित छिन्नमस्ता मन्दिर, सखडामा श्री लक्षचण्डी रुद्र महायज्ञ हुने भएको छ ।

यहाँ सोमबार आयोजित पत्रकार सम्मेलनमा पीठाधीश महाचन्द्र ठाकुरले उक्त महायज्ञ उच्च कोटीको महायज्ञ भएको बताउँदै महायज्ञमा नेपाल र भारतका शङ्कराचार्य, पीठाधीश, मठाधीश, सन्त, महन्थको सान्निध्यमा तीन हजार ५०० पण्डितको सहभागिता हुनेछ । उक्त महायज्ञको वाचन पण्डित कुवेर सुवेदीले गर्ने कार्यक्रम रहेको छ ।

आयोजकका अनुसार उक्त पीठमा सतचण्डी रुद्र महायज्ञ दुईपटक, सहस्रचण्डी रुद्र महायज्ञ र शिवशक्ति रुद्र महायज्ञ सम्पन्न भइसकेको छ । बालसन्त जगतगुरु मोहनशरण देवाचार्यजी महाराज तथा काशीपीठका स्वामी सुबोधानन्द गिरिजी महाराजको विशिष्ट उपस्थितिमा तथा छिन्नमस्ता सखडा पीठाधीशको संयोजकत्वमा अहिले विभिन्न जिल्लामा राष्ट्रिय शान्ति रथयात्रा भइरहेको छ ।

राष्ट्र र समाजमा विद्यमान प्रतिकूलताको निवारण हुने विश्वास गरिएको उक्त लक्षचण्डी महायज्ञले मुलुकमा शान्ति, समृद्धि र भाइचाराका लागि सहयोग पु¥याउने बताइएको छ । रासस

प्रकाशित मिति : ११ आश्विन २०७३, मंगलबार  ४ : ५३ बजे