काठमाडौं । रागाँदिप काठमाडौं समाजको संयोजनमा ३ अनाथ बालबालिकालाई ८ लाख २२ हजार ९ सय २५ रुपीयाँ रकम सहयोग गरिएको छ । गएको भदौ १३ गते राँगादिपमा गएको पहिरोमा परी आमाबुबा सहित एकै परिवारका ४ जनाको मृत्यु भएपछि अनाथ भएका ३ बालबालिकालाई सो रकम सहयोग गरिएको हो । परिवारको ३ सदस्य भने गाउँबाहिर रहेकाले बाँच्न सफल भएका थिए ।

पहिरोमा परी पूर्णबहादुर राई, धनमाया राई, गंगामाया राई र ३ वर्षिय बालक अरुण राईको मृत्यु भएको थियो । आमाबुबाको पहिरोमा मृत्यु भएपछि १५ वर्षिया उर्मिला राई, ८ वर्षिया शुसिला राई र ६ वर्षिय आशिस राई अनाथ भएका छन् । उनीहरुको जीविकोपार्जन र शैक्षिक सहयोगको लागि राँगादिप काठमाडौं समाजको संयोजनमा ओखलढुंगा जिल्ला समाज युके र ओखलढुंगा किरात समाज युकेको सहकार्यमा उक्त सहयोग रकम संकलन गरिएको राकासका अध्यक्ष डम्बर राईले बताए ।
सो सहयोग रकमलाई मुक्तिनाथ विकास बैंक शाखा कार्यालय मोलुङमा ३ वर्षे मुद्धती खाता खोली राखिएको छ । सो रकमको व्याज तीनैजना बालबालिकाको नाममा जम्मा हुने पनि राकास अध्यक्ष राईले बताए ।

अहिले ती ३ अनाथ बालबालिका एसओएस बालग्राम भक्तपुरको संरक्षणमा छन् । उनीहरुलाई बालग्रामलेनै पालनपोषण, शिक्षादिक्षा र हेरचाह गरिरहेको छ । राकासले सामाजिक क्षेत्रमा धेरै काम गर्दै आएको छ । विशेष गरी ओखलढुंगामा भएको विभिन्न प्राकृतिक विपत्तीमा परेकाहरुको लागि काम गर्दै आएको छ । राकास ओखलढुंगाको राँगादिपबाट काठमाडौंमा आएर बसोबास गर्ने समुदायले सामाजिक सेवाका लागि स्थापना गरेको संस्था हो ।
यसैबीच बेलायत निवासी वारेन राई र युजन राईले ३ अनाथ बालबालिकालाई न्यानो कपडा प्रदान गरेका छन् । विद्यार्थी जीवनबाट भर्खरै रोजगारीमा लागेका राई दाजुभाईले अनाथ बालबालिकालाई जाडो मौसममा न्यानो कपडा वितरण गरेका हुन् ।
वारेन र युजन गीतकार तथा समाजसेवी संगीता बायुङ राईकी छोरा हुन् । उनीहरुले पठाएको न्यानो कपडा ठूलीआमा प्रेमकुमारी राईले अनाथ बालबालिकालाई हस्तान्तरण गरेका थिए ।








