काठमाडौं । प्रतिनिधी सभाका सदस्य सांसद यज्ञराज सुनुवारले रागाँदिप काठमाडौं समाजले मानविय र सामाजिक भावनालाई सम्मान गरी विपत्तिमा परेकाहरुलाई सहयोग गरेको बताएका छन् । राँगादिप काठमाडौं समाजको संयोजनमा स्व. पूर्ण राई परिवार सहयोग समितिको सहयोग रकम वितरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सांसद सुनुवारले मानविय भावनाले ओतप्रोत भई सामाजिक काममा राकास अग्रणी स्थानमा उक्लिएको बताएका हुन् ।

ओखलढुंगा मोलुङ गाउँपालिका ८ राँगादिपमा गएको भदौ १३ गते घरमाथिबाट आएको पहिरोले घर पुरीदा एकै परिवारका ४ जनाको मृत्यु भएको थियो । रातको समयमा पहिरो गएकाले सुतिरहेका पूर्ण राई सहित श्रीमती, दिदी र नाबालक छोरा गरी एकै परिवारको ४ जनाको ज्यान गएको थियो । दुई छोरी र एक छोरा मावली गाउँमा भएकाले उनीहरु बाँच्न सफल भए । ‘मलाई पूर्णले हप्तामा एक पटक फोन गर्थे, सुनुवार र बाहिङ भाषा मिल्दोजुल्दो भएकाले बाहिङ भाषामै फोनमा बोल्थिउ,’ सांसद सुनुवारले विगत सम्झिए, ‘त्यो अप्रिय घटना मलाई फिल्मको कहानी जस्तो लाग्छ ।’
राँगादिपमा थुप्रै अप्रिय घटना भएको भए पनि राकासका समाजसेवी पदाधिकारी भइञ्जेल विपत्तिमा परेकाहरुको उद्धार हुने प्रदेशसभा सदस्य ओखलढुंगा क्षेत्र ‘क’का सांसद अम्बिरबाबु गुरुङले बताएका छन् । ‘राँगादिपमा थुप्रै अप्रिय र कहालीलाग्दो घटनाहरु भए, तर ती विपत्तिमा परेकाहरुलाई राकास जस्तै सामाजिक उत्तरदायित्व बोकेका समाजसेवी व्यक्तिहरुले निरन्तर सहयोग गरिरहनु भएको छ,’ सांसद गुरुङले भने, ‘राकासको पदाधिकारीहरुको राष्ट्रिय मात्र होइन अन्तराष्ट्रिय सञ्जाल पनि भएकाले विपत्तिमा परेकाहरुलाई आर्थिक सहयोग गर्न सहज भएको छ ।’

ओखलढुंगा जिल्लाको प्रमुख जिल्ला अधिकारी मनुका न्यौपानेले कानूनी ब्यवधानलाई सबैले व्यवहारिक रुपमा समाधान गरी अनाथ बालबालिकालाई उद्धार गर्न सहयोग गरेको बताएका छन् । ‘जन्मिएका प्रत्येक शिशुहरुलाई देशको अशल नागरिक बनाउनु हामी सबैको दायित्व हो,’ प्रजिअ न्यौपानेले भने, ‘नागरिकता भन्दा राष्ट्रियता ठूलो हो, नागरिकताले देशभित्र मात्र काम गर्छ, तर राष्ट्रियता, देशप्रतिको भावना कहिल्यै मर्दैन भन्ने सन्देशलाई राकासको संयोजनमा यहाँहरुले चरितार्थ पारिदिनु भयो ।’

मोलुङ गाउँपालिका अध्यक्ष मणिराज राईले विपत्तिमा परेकाहरुको उद्धारको लागि कानूनी प्रक्रियाभन्दा व्यवहारिक पक्षलाई जोड दिएर उद्धार गरेको बताएका छन् । ‘गाउँपालिकाको नियमानुसार गाउँकार्यपालिकाको निर्णय बिना एक पैसा पनि कुनै पनि नाममा केहि गर्न पाईदैन, तर मैले आफ्नै व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेको छु,’ अध्यक्ष राईले भने, ‘म जनप्रतिनिधी हुनुभन्दा अघि पनि नेपाल रेडक्रस सोसाइटीसँग थुप्रै उद्धारको काममा सहभागी भएको छु, झनै जनप्रतिनिधी भएपछि त गाउँपालिकाको हरेक नागरिकले जनप्रतिनिधीको महशुस गर्न पाउने वातावरण बनाउनु मेरो पहिलो दायित्व हुनेछ, र मैले त्यही अनुसार काम गरेको छु ।’

सिद्धिचरण नगरपालिका ओखलढुंगाका उपमेयर इच्छाकुमारी गुरुङले आदिवासीहरुको स्वभाव र चलिआएको चलनमा अरु कसैले सहयोग लिनु हुँदैन भन्ने मान्यताका कारण स्व. पूर्ण राईको छोराछोरीलाई एसओएस बालग्राम भक्तपुरमा पठाउन समस्या झेल्न परेको बताए । ‘आदिवासी परिवारमा कसैको सित्तैमा खान, लिन हुँदैन भन्ने मान्यता छ,’ उपमेयर गुरुङले भने, ‘यदि कसैको सित्तैमा खाए, लिएमा भारा, सेक लाग्छ भन्ने प्रचलन हामी आदिवासीहरुमा अझै कायमै छ ।’

स्व. पूर्ण राई परिवार सहयोग समितिका संयोजक, राकासका सल्लाहकार तथा समाजसेवी लबसिं राईले नेपालभित्र विश्वासको खाँचो भएको बताएका छन् । सहयोग समितिको संयोजक भैसकेपछि बाबुआमा गुमाएका अनाथ बालबालिका लागि आर्थिक सहयोग संकलन गर्दा पारदर्शीताको कुरा पटक पटक उठेको संयोजक राईले तीतो अनुभव सुनाए । ‘ओखलढुंगा जिल्लाबाट बेलायतमा बसोबास गरिरहेकाहरुले गाउँघर सम्झिएर आफ्नो छाक काटेर अनाथ बालबालिकालाई सहयोग गर्नुभयो,’ संयोजक राईले भने, ‘नेपालमा अहिले विश्वासको अत्यन्तै अभाव खट्किरहेको बेला त्यो पैसा संकलन गरेर हामीलाई पठाउनु भयो, जुनबेला मैले भनेको थिए, तपाईहरुले दुःख गरी, आफ्नो गाँस काटी पठाउनु भएको पैसा सम्बन्धित पीडित बालबालिकाको हातमा पु¥याउने बाँचा गरेका थियौं, हाम्रो बाँचा अनुसार अहिले पीडित बालबालिकाले त्यो पैसा पाउनु भएको छ ।’

एसओएस बालग्राम भक्तपुरका प्रिन्सिपल खगेन्द्रकुमार नेपालले हरेक बालबालिकाको गाँस, बास र कपास सहित बाँच्न पाउनु पर्ने अधिकार भएको बताएका छन् । एसओएस नेपालले नेपालभरिनै अनाथ बालबालिकाहरुको अभिभावकत्व प्रदान गर्दै आएको बताएका हुन् । ‘संसारमा सबैभन्दा पीडादायिक अवस्था भनेको आफन्त नहुनु हो,’ प्रिन्सिपल नेपालले भने, ‘खान नपाए दुईदिनपछि चोरेर भएपनि खान्छ, लाउन नपाए दुईदिनपछि खोसेर भएपनि लाउँछ, तर माया नपाए, चोरेर माया पाउँदैन, खोसेर माया पाउँदैन, त्यसैले यो जीन्दकीको अभावले मान्छेलाई सँधै पीडा दिन्छ, र यही पीडामा त्यो घाउ निको पार्न, त्यो घाउ बल्झिन नदिनलाई जसको आफन्त छैन, जसको आमाबुबा छैन, उनीहरुका लागि आमाबाबु जस्तै माया दिन एसओएस नेपालको स्थापना गरिएको हो ।’

ओखलढुंगा जिल्ला समाज युकेका पूर्व अध्यक्ष तथा भूतपूर्व ब्रिटिस आर्मीका क्याप्टेन नानीबहादुर मगरले विश्वको जुनसुकै क्षेत्र, भुगोलमा भए पनि आफ्नो जन्मभूमी र माटोप्रति सदा सम्मान र आदार गरिरहने बताएका छन् । ओखलढुंगा जिल्लाका विभिन्न प्राकृतिक विपत्तीमा परेका पीडितहरुलाई आफूले सकेको आर्थिक सहयोग गर्न पाएकोमा गर्व महशुस भएको बताएका हुन् । ‘ओखलढुंगा जिल्लाबासीलाई परेको असर हामी बेलायत सात समुन्द्र पारी बसेकालाई पनि थियो,’ पूर्व अध्यक्ष मगरले भने, ‘ओखलढुंगामा चिसो हिँउ पर्दाखेरी हामी पनि कठ्याङ्ग्रीन्छौं युकेमा, ओखलढुंगामा टन्टलापुर घाम लाग्दाखेरी हामीलाई पनि पसिना आउँछ युकेमा, हरेक तपाईहरुको फेसबुक म्यासेज, हरेक समाचार हामीले कमेन्ट गर्न नपाए पनि, लाइक गर्न नपाए पनि सुनिराखेकै हुन्छौं, हेरिराखेकै हुन्छौं ।’

राकासका पूर्व अध्यक्ष तथा मोलुङ गाउँपालिका वडा नं. ८ का वडा सदस्य दिपक राईले सिंगो गाउँ शोकमा डुबेको बेला देश विदेशमा रहनु भएपनि गाउँलाई सहयोग गरेकोमा आभार व्यक्त गरे । ‘सिंगो गाउँ शोकमा डुबेको बेला हामीसँग त्यो बाध्यतालाई स्वीकारर्नु बाहेक विकल्प थिएन,’ पूर्व अध्यक्ष राईले भने, ‘प्रकृतिको नियतीलाई स्वीकार गर्नुपर्छ, स्थानीय जनप्रतिनिधीको हैसियतले म भन्छु, जुनसुकै प्राकृतिक विपत्तिको बेला सिंगो ओखलढुंगेली नागरिक तपाईको साथमा छ ।’

राकासका अध्यक्ष डम्बर राईले प्राकृतिक विपत्तिको बेला विदेशी भूमिमा रहेर पनि गाउँघरलाई सम्झिएर माया, सदभाव मात्र होइन आर्थिक सहयोग समेत गरेकोमा आभार प्रकट गरे । समाजले विभिन्न सामाजिक काम निरन्तर रुपमा गरिरहने प्रतिबद्धता पनि अध्यक्ष राईले व्यक्त गरे ।

कार्यक्रम राकासका सचिव महेश राईले सञ्चालन गरेका थिए । कार्यक्रममा राकासका पदाधिकारी लगायत ओखलढुंगा राँगादिपबाट काठमाडौंमा आएर बसोबास गरिरहेका व्यक्तिहरुको उलेख्य उपस्थिति रहेको थियो ।

रागाँदिप काठमाडौं समाजको संयोजनमा ३ अनाथ बालबालिकालाई ८ लाख २२ हजार ९ सय २५ रुपीयाँ रकम सहयोग गरिएको छ । गएको भदौ १३ गते राँगादिपमा गएको पहिरोमा परी आमाबुबा सहित एकै परिवारका ४ जनाको मृत्यु भएपछि अनाथ भएका ३ बालबालिकालाई सो रकम सहयोग गरिएको हो । परिवारको ३ सदस्य भने गाउँबाहिर रहेकाले बाँच्न सफल भएका थिए ।

पहिरोमा परी पूर्णबहादुर राई, धनमाया राई, गंगामाया राई र ३ वर्षिय बालक अरुण राईको मृत्यु भएको थियो । आमाबुबाको पहिरोमा मृत्यु भएपछि १५ वर्षिया उर्मिला राई, ८ वर्षिया शुसिला राई र ६ वर्षिय आशिस राई अनाथ भएका छन् । उनीहरुको जीविकोपार्जन र शैक्षिक सहयोगको लागि राँगादिप काठमाडौं समाजको संयोजनमा ओखलढुंगा जिल्ला समाज युके र ओखलढुंगा किरात समाज युकेको सहकार्यमा उक्त सहयोग रकम संकलन गरिएको राकासका अध्यक्ष डम्बर राईले बताए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/AYTUfFU2Od8
१४ मंसिर २०७५, शुक्रबार
420
Shares







