फ्रान्स । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. आरोही मौरिस हर्जोगले नेपालको अन्नपूर्ण प्रथमको सफल आरोहण गरेपछि मात्रै विश्वमा हिमाल चढ्ने क्रम बढेको बताएका छन् । हर्जोगले सन् १९५० जुन ३ तारिखको दिन अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका हुन् ।

फ्रान्सको पर्वतारोहण गतिविधि हुने प्रसिद्ध हिमाली क्षेत्र शामोनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हर्जोगको प्रशंसा गर्दै सम्झिएका थिए । हर्जोगले पर्वतारोहण क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको प्रशंसा गर्दै ओलीले उनलाई नेपालीले सँधै सम्झिरहने बताए ।
आरोही हर्जोग कुनैबेला फ्रान्सको हिमाली क्षेत्र शामोनी–मो ब्लाक नगरपालिकाका मेयर समेत भएका थिए । सोही नगरपालिकाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा शुक्रबार दिउँसो एक कार्यक्रमसमेत आयोजना गरी सम्मान गरिएको थियो ।
नेपाल र फ्रान्सबीचको साँस्कृतिक सम्बन्धको चर्चा गर्दै हिमाल आरोहण गर्ने फ्रान्सेली नागरिकहरुप्रति प्रधानमन्त्री ओलीले आभार प्रकट गरे । सो अवसरमा शामोनीका मेयर एरिक फुर्नियमार्फत प्रधानमन्त्री ओलीलाई त्यही बनेको आइस एक्स उपहार समेत प्रदान गरे । लियोन, फ्रान्समा १५ जनवरी १९१९ मा जन्मेका हर्जोगको १३ डिसेम्बर २०१२ मा निधन भएको थियो ।








