१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

बृहत् पोखरा सफाइ अभियान सुरु



पोखरा, १ कात्तिक । पोखरामा जारी सफाइ अभियान बृहत् पोखरा सफाइ अभियानमा रुपान्तरित भएको छ ।

अभियानअन्तर्गत १८औँ हप्ताको फिर्के–बुलौंदीखोला बृहत् सफाइ अभियान ड्यामसाइडस्थित फेवाताल किनारमा सम्पन्न भएलगत्तै पोखराका २९ वटै वडादेखि लेखनाथसम्म सफाइ कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो ।

सफाइ अभियानको १९औँ हप्ताबाट पोखरा उपत्यका बृहत् सफाइ अभियानमा रुपान्तरण गर्ने महत्वपूर्ण निर्णय गर्दै अघि बढाइएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

१९ औँ हप्ताको सफाइ अभियान पोखरा–१ स्थित सांस्कृतिक सम्पदाको रुपमा परिचित गाईघाटबाट सुरु गरी झन्डै चार टन फोहरमैला सङ्कलन गरिएको सामाजिक अभियन्ता एवम् टोल विकास संस्था वडा समन्वय समिति पोखरा–१ का अध्यक्ष चन्द्रबहादुर गुरुङले बताए ।

त्यस्तै २० औँ हप्ताको सफाइ अभियान वडा नं १ स्थित हरिचोकदेखि बागबजार चोक, ट्याक्सी चोक, भीमकाली पाटन हुँदै टुँडिखेलसम्म गरिएको थियो ।

उक्त सफाइ अभियानमा झन्डै सात टन फोहर सङ्कलन गर्दै वडावासीलाई सार्वजनिक स्थलमा फोहरमैला नफाल्न अनुरोध गरिएको नमुना आमा समूहका अध्यक्ष कल्पना बाँस्तोलाले जानकारी दिए । रासस

प्रकाशित मिति : १ कार्तिक २०७३, सोमबार  ३ : ३८ बजे