२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

भोलि शतबीज छर्ने पशुपतिमा दर्शनार्थीको भीडभाड


८ मंसिर २०७६, आइतबार  

0
Shares

काठमाडौं । बालाचतुर्दशीअन्तर्गत आज दिवंगत पितृका नाममा दीपदान गरिँदै छ । साँझ दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइन्छ ।

आइतबार साँझ दीपदान अर्थात् बत्ती बाल्नका लागि काठमाडौंको पशुपतिनाथसहितका शिव मन्दिरहरुमा भक्तजनहरु पुग्नेक्रम जारी छ । प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्न लाखौं भक्तजनहरु पशुपतिनाथ मन्दिर आउँछन् । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको छ ।

त्रयोदशीको दिन साँझ दीपदान गरेर उनीहरु रातभर भजनकीर्तन गरी जाग्राम बस्छन् र भोलिपल्ट चतुर्दशीको दिन आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्छन् ।

Sagarmatha

पशुपति क्षेत्रको १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहृयेश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गर्ने प्रचलन छ ।

शतबीजमा हाल धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ । तर, नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा। डा। रामचन्द्र गौतम भन्छन्, ‘हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्छ, अरु होइन ।’

भगवान् शिव मृगरूप लिएर घुमेको भनिने क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवगंत आत्माले पनि मुक्ति पाउने धार्मिक विश्वास छ ।

माता पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज छर्न नहुने समितिका अध्यक्ष गौतमले बताए । ‘धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त के, नामसमेत लिनु नहुने उल्लेख गरिएको छ,’ उनले भने ।

शतबीज छर्न पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुहृयेश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ४ : ०० बजे