२३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026

सहमति जुटाएर संविधान संशोधन गर्न काँग्रेस तयार–वरिष्ठ नेता पौडेल


२ कार्तिक २०७३, मंगलबार  

14
Shares

काठमाडौँ, २ कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सबैको सहमतिमा नमिलेका कुरा संविधान संशोधनमार्फत मिलाउन सबै उदार हुनुपर्ने बताउनुभएको छ ।

तराई–मधेसका समस्याको समुचित समाधान कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा विभिन्न पेसा, व्यवसायमा आबद्ध विज्ञसँग आज यहाँ गर्नुभएको अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले अहिले उठेको सीमाङ्कन, नागरिकता, समावेशीताजस्ता विषयको समस्या समाधान गर्न काँग्रेसले अगुवाइ लिनुपर्ने बताउनुभयो ।

उहाँले २०७४ माघ ७ गतेसम्म स्थानीय, प्रादेशीक र सङ्घीय निर्वाचन गर्नुपर्ने अवस्था रहेको धारणा राख्दै संविधान कार्यान्वयन भएन भने के हुन्छ त्यतातर्फ पनि सोचेर समस्याको निकास खोजौँ भन्नुभयो ।

Sagarmatha

वरिष्ठ नेता पौडेलले राजनीतिक दल, नेता र कार्यकर्ताप्रति वितृष्णा बढ्न नदिई राजनीतिलाई मर्यादित तुल्याउन सरोकारवाला सबैको क्रियाशील सहभागिता आवश्यक छ भन्दै तराई मधेसको समुन्नति, जीविकोपार्जन र जीवनस्तर उकास्न राष्ट्रिय अभियान सञ्चालनको आवश्यकता औँल्याउनुभयो ।

सो कार्यक्रममा पूर्वमन्त्री विद्याधर मल्लिकले सीमाङ्कन, समावेशीतालगायत अहिले उठेका समस्याको सहमतिका आधारमा छिटो समाधान खोजिनुपर्ने बताउनुभयो ।

वरिष्ठ अधिवक्ता रामकृष्ण निराला, मिथिलेसकुमार सिंह, अधिवक्ता विजय सिंह र देवेन्द्र झाले तराई–मधेस काँग्रेसको आधार क्षेत्र भएकाले त्यहाँका जनताले उठाएका मागलाई त्यहीको जनताको मागअनुरुप राजनीतिक र संवैधानिक रुपमा निकास खोज्न काँग्रेसले अगुवाइ गर्नुपर्ने धारणा राख्नभयो ।

लेखक सीके लालले काँग्रेसले तराईका आफ्ना नेता कार्यकर्तालाई के गर्दा तपाईँहरु शीर ठाडो गरेर त्यहाँ जान सक्नुहुन्छ भनेर राय लिएर समस्याको निकास खोज्न सल्लाह दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शीतलप्रसाद महतोले मुलुकको अग्रगामी रुपान्तरणका लागि काँग्रेसले स्पष्ट धारणासहित अघि बढ्नुपर्ने जोड दिँदै पार्टीका नेता कार्यकर्ताले तराईमा जाँदा शीर ठाडो हुने गरी निर्णय गर्नुपर्छ भन्नुभयो ।

सो कार्यक्रममा विभिन्न पेसा र व्यवसायमा आबद्ध रहनुभएका विनयकुमार कुसीयत, ठाकुररमण आचार्य, डा अञ्जनीकुमार झा र रतिश झालगायतले तराई मधेसमा विकासको साथसाथै अहिले उठेको सीमाङ्कन, समावेशीता, नागरिकतालगायत विषयलाई सहमतिबाट छिटो समाधान खोज्न आग्रह गर्नुभयो । रासस

प्रकाशित मिति : २ कार्तिक २०७३, मंगलबार  १ : ५५ बजे