रुपन्देही, ३ कात्तिक । कृषि राज्यमन्त्री राधिका तामाङले कृषिलाई आधुनिकीकरण गर्न बजेट छट्टयाउँदा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।
सैनामैना नगरपालिका आज भएको एक कार्यक्रममा उहाँले मुलुकलाई आर्थिक रुपमा सबल बनाउन कृषिमा विशेष बजेट छुट्टाएर काम गर्ने विगतमा सरकारको इच्छाशक्ति नहुँदा कृषि क्षेत्र पछाडि परेको बताउनुभयो ।
सरकारले कृषिमा विशेष कार्यक्रमसहित बजेट छुट्टयाउनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो – “कृषि प्रधान देश भन्ने भाषणमा मात्रै सीमित भएको छ । कृषिको उत्पादन र बजारीकरण वृद्धि गरेर गर्व गर्न लायकको मुलुक बनाउनुपर्छ ।”
कार्यक्रममा कृषि तथा पशुपालन र महिला सशक्तीकरण अभियानमा उत्कृष्ट घोषित जयदुर्गा महिला समूहमा आबद्व महिलालाई हेफर इन्टरनेसनल नामक गैरसरकारी संस्थाले रु ७० हजारको अन्तर्राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार प्रदान गरेको थियो । रासस







