१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

अन्तरिक्ष यात्रा गर्न सकिने तर एउटा टिकटको मूल्य पाँच करोड ३० लाख


२५ श्रावण २०७८, सोमबार  

0
Shares

काठमाडौ. । हालै सफलतापूर्वक अन्तरिक्ष यात्रामा गएर फर्किएका अर्बपति रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टिकले अन्तरिक्ष पर्यटकहरुका लागि टिकटको बिक्री पुनः खुला गरेको छ ।

वर्षौंयता अन्तरिक्ष यात्राको टिकट बिक्री पुनः खुल्ला गरिएको भन्दै भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष यात्रामा लैजाने कम्पनीको रकेटयुक्त सब अर्बिटल जहाजको टिकट बुकिङ खुल्ला भएको जनाएको छ । यसअघिको मूल्यभन्दा निकै सस्तो अर्थात् चार लाख ५० हजार अमेरिकी डलरमा टिकट बिक्री गरिने कम्पनीले जनाएको छ।

एक दशकदेखि अन्तरिक्ष पर्यटनमा सुरु गर्ने बताइरहेको भर्जिन ग्यालेक्टिकका मालिक रिचार्ड ब्रान्सन जुलाई १२ गते सफलतापूर्वक अन्तरिक्षमा पुगेर फर्किएसँगै अन्तरिक्ष पर्यटनलाई व्यवसायिक रुपमा सुरु गर्ने निधो गरेको हो । आगामी वर्ष सन् २०२२ देखि व्यवसायिक कार्य शुरु गरिने कम्पनीले उल्लेख गरेको छ ।

अन्तरिक्षमा जाने टिकट बुकिङका लागि कम्पनीले विभिन्न तीन खाले टिकट प्याकेट उपलब्ध गराएको छ । जसमा एउटामात्र सिट रिजर्भ गर्नका लागि चार लाख ५० हजार डलर तिर्नुपर्नेछ ।

साथै परिवार वा साथीभाइ सबैले सँगै यात्रा गर्नका लागि एउटा रकेट जहाजका पूरै ६ वटा सिट पनि बुकिङ गर्न सकिनेछ । त्यसको मूल्य नखुलाए पनि त्यसलाई किफायती मूल्य पर्ने कम्पनीका सीईओ माइकल कोलग्लेजिएर बताउँछन् । त्यस्तै माइक्रो ग्राभिटी अनुसन्धान तथा व्यवसायक अन्तरिक्षयात्री तालीमका लागि भने एउटा सिट रिजर्भ गर्दा ६ लाख डलर तिर्नुपर्नेछ ।

पहिले नै अनुरोध गरेका मानिसहरुलाई प्राथमिकताका आधारमा साथै कम्पनीको अन्तरिक्षयात्रा समुदायअन्तर्गत एक हजार डलर डिपोजिट राखेका मानिसहरुलाई हाल उपलब्ध टिकटहरु सुरुमा बिक्री गरिनेछ ।

हालसम्म यसरी डिपोजिट राख्ने मानिसहरुको संख्या झण्डै एक हजार रहेको भर्जिन ग्यालाक्टिकको सञ्चार विभागकी उपाध्यक्ष एलेना क्रेन बताउँछिन् ।

कम्पनीका अनुसार स्पेस फर ह्युमानिटी नामक परोपकारी अभियानका लागि आर्थिक सहयोग गरेका मानिसहरु मध्येबाट दुई जनालाई गोला प्रथाबाट निस्शुल्क रुपमा अन्तरीक्षयात्रामा लगिनेछ ।

स्मरण रहोस् स्पेस फर ह्युमानिटीले अन्तरिक्षलाई प्रजातान्त्रिक बनाउनुपर्ने कुरामा पैरवी गर्दै आएको छ । यो अभियानमा विश्वका १९० देशका एक लाख २५ हजार मानिसहरुले आर्थिक सहयोग गरेका कम्पनीले बिहिबार जनाएको छ ।

भर्जिन ग्यालाक्टिकले अन्तरिक्ष यात्रामा लैजाने भन्दै एक दशकअघिबाटै टिकट बेच्न थालेको थियो । त्यतिबेला नै साढे दुई लाख डलरसम्ममा टिकट किनेकाहरु अन्तरिक्षयात्राका लागि पहिलो प्राथमिकतामा हुनेछन् । यसरी टिकट खरीद गर्नेहरुको संख्या ६०० जना जति छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ७ : ४१ बजे