७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

राजनीतिक दलहरूसँग संवादको तयारीमा निर्वाचन आयोग


९ आश्विन २०८२, बिहिबार  

0
Shares

काठमाडौं । आगामी फागुन २१ गतेको चुनावको तयारीका विषयलाई लिएर निर्वाचन आयोग राजनीतिक दलहरूसँग संवादको तयारीमा छ ।

आयोगका अधिकारीहरू निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने र त्यसपछि राजनीतिक दलका प्रतिनिधिहरूसँग संवाद गर्ने तयारीका सम्बन्धमा छलफल चलिरहेको बताएका छन् ।

राजनीतिक दलहरूसँग निर्वाचन आचारसंहिता, प्रचलित ऐनको पालना, उम्मेदवार छनोटसम्बन्धी कानुन कार्यान्वयन लगायतका विषयमा आयोगले स्मरण गराउने र राजनीतिक दलहरूले व्यवहारिक विषय राख्ने अभ्यास विगतमा पनि रहेको र त्यसलाई निरन्तरता दिन खोजिएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता नामावली संकलनका लागि भोलि शुक्रबारदेखि कात्तिक महिनाभर समय उपलब्ध गराउने र त्यसपछि मतदाता नामावली सार्वजनिक गर्ने तयारी छ । यसबीचमा राजनीतिक दलसँग समेत संवाद हुने घिमिरेले जानकारी दिए । विषयका आधारमा राजनीतिक दलहरूसँग संवाद हुने पनि उनले बताए ।

राष्ट्रिय सभाको निर्वाचनको विषयमा समेत आयोगले राजनीतिक दलहरूको राय लिन खोजेको छ । आयोग आगामी माघमै राष्ट्रिय सभाको निर्वाचन हुने विश्वासमा रहेको एक आयुक्तले बताए ।

‘राष्ट्रिय सभाको निर्वाचन समयमै गर्नुपर्ला । यसका लागि आयोगलाई कुनै अप्ठ्यारो हुँदैन । सात प्रदेशमा सात निर्वाचन अधिकृत तोक्ने हो, मतदाता फिक्सड नै छन् । निलम्बनमा परेका र मृत्यु भएकालाई घटाउने काम हो’, ती आयुक्त भन्छन, ‘सरकार र दलहरूको धारणा अन्यथा आउँदैन होला ।’

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ७ : २९ बजे