४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

कुलुङको मानव अधिकार हनन्



निनाम लोवात्ती
डिसेम्बर १० अर्थात् मङ्सिर २४ का दिन ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईँदैछ । त्यस्तै गरेर सोही अवसरमा नेपालले पनि विभिन्न कार्यक्रमसहित सप्ताहव्यापी रुपमा ‘१७ औं राष्ट्रिय मानव अधिकार दिवस मनाइ रहेको छ । हुनत गत वर्ष पनि ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपाललमा विभिन्न कार्यक्रमसहित सप्ताहव्यापी रुपमा ‘१६ औं मानव अधिकार दिवसका अवसरमा ‘मानव अधिकार राष्ट्रिय महाभेला’ नै आयोजना गरेको थियो । सो अवसरमा पहिलो पटक कुलुङ जातिको आधिकारिक संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृत उत्थान संघ (किरात कूलू गूसखोम)’ ले पनि भाग लिने अवसर पाएको थियो । यसरी हेर्दा गत वर्षदेखि कुलुङ जातिको जातीय संस्थाले पनि अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र राष्ट्रिय मानव अधिकार दिवसमा भाग लिन थालेको छ, भाग लिने अवसर पाउन थालेको छ । हुन पनि नेपालका अन्य जातजाति र भाषाभाषी जस्तै अलग्गै जाति भएर पनि हालसम्म सरकारबाट अलग्गै जातीय स्वपहिचान पाउन नसकेका कुलुङ जातिले आफ्नो माग र आवाजलाई मानव अधिकार हनन्को दृष्टिकोणबाट पनि नेपालका अन्य जातीय संघ-संस्था, नेपालका मानव अधिकारवादी संघ-संस्थाका साथै विश्वभरका देशका सरकार प्रमुख एवम् विश्वभरका मानव अधिकारवादी संघ-संस्था सामू आफ्नो माग राख्ने र आवाजलाई सशक्त ढंगले बुलन्द गर्ने अवसरका रुपमा लिएका छौं, मानव अधिकार दिवसलाई ।

खासमा पहिले त कुलुङ को हुन्, अलग्गै जाति नै हुन् कि राईको एक थर मात्रै हो ? भन्ने सम्बन्धमा नै प्रस्ट्याउनुपर्ने देखिन्छ । किनभने, ‘कुलुङ’ भनेको अलग्गै जाति नभएर राई जातभित्रको एक थर मात्रै हो भन्ने धेरै मानिसले बुझेका छन्, जानेका छन् । तर, त्यस्तो होइन । किनभने, कुलुङ जाति नै हो । र, कुलुङभित्र चाहिँ ३८० वटाभन्दा थर, उपथरहरु रहेको छ । त्यसैले गर्दा नै कुलु-कुलुङबिचमै एकआपस्तमा विवाहहुन्छ । त्यस्तै कुलुङ जातिको ऐतिहासिक भूमि ‘महाकुलुङ भूमि’ पनि रहेको छ । साथै अरु जातिका भन्दा फरक र मौलिक भाषा, पिता–पूर्खा एवम् वंश–परम्परा, इतिहास, भूगोल, वेशभुषा, रीतिथिति, चाडबाड, धर्म, संस्कार, संस्कृति, परम्परागत कानुन, चालचलन, बाजागाजा, गरगहना, संस्कार, संस्कृति, हामी भन्ने भावना आदि पनि रहेको छ । त्यसैले कुलुङ अलग्गै जाति हो र, राई जातभित्रको एक थर होइन भन्ने सम्बन्धमा प्रस्ट हुन सबै विद्धान तथा विद्धत वर्गमा खास गरिकन समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्रीका साथै भाषाविद (भाषाशास्त्री) हरुमा यो पङ्तिकारको विशेष अनुरोध रहेको छ ।

त्यसो भए कुलुङको जनसंख्या कति छ त ? कुलुङ भाषा बोल्ने मातृभाषी संख्या कति छन् ? निश्चय नै सो सम्बन्धमा नेपालका अन्य जातजाति, समुदाय, भाषाभाषी, वर्ग, समूह आदिले जान्ने, बुभ्mने अधिकार राखेका हुन्छन् नै । त्यसैले आउनुहोस्, कुलुङ जातिका बारेमा छोटकरीमा जान्ने बुझ्ने प्रयास गरौं । त्यसरी हेर्दा, भन्नु पर्दा विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनाअनुसार विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या ३३ हजार ३८८ आएको छ । त्यस्तै कुलुङ मातृभाषी संख्या ३७ हजार ९१२ रहेको भने, र आफ्नो पूर्खाको भाषा ‘कुलुङ’ भनी लेखाउनेको संख्या चाहिँ ४० हजार ४७९ रहेको छ । जबकि विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा चाहिँ कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय ३१ र ३३ हजार १७० रहेको थियो । तर, कुलुङ जातिको आधिकारिक संस्था “नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम)” ले गरेको आन्तरिक जनगणनाअनुसार चाहिँ नेपालभरिमा कुलुङ जातिको जनसंख्या लगभग एक लाख १० हजार रहेको देखिन्छ ।

‘कुलुङ’जातिका सम्बन्धमा वास्तविकता यस्तो रहेको भए तापनि हालसम्म आदिवासी जनजनति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन’ (आजउराप्र) २०५८ को दफा दुई (क) अनुसार ‘कुलुङ’जाति छुट्टै जातिका रुपमा सूचीकृत भएका छैनन्, राईमै गाभिएका छन् । जुन कुरो सुन्दा साह्रै दुःख लाछ, पीडावोध हुन्छ । २१ औं शताब्दी भनिएको यो जमानामा त्यो पनि लोकतन्त्र र गणतन्त्र लागू भई सकेको देश नेपालमा यस्तो स्थिति रहनु भनेको बिडम्वना नै हो । हुन पनि आदिवासी जनजनति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन’ (आजउराप्र) २०५८ को दफा दुई (क) मा व्याख्या गरिएअनुसार ‘‘…छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्छ ।’ भनिएको छ । यसरी हेर्दा ‘कुलुङ’ जाति सहजै आदिवासी जनजाति सूचीमा सूचीकृत हुनुपर्ने देखिन्छ । किनभने, कुलुङ जातिमा प्रष्ठिानको ऐनले तोकेभन्दा पनि बढी आधारहरु रहेका छन् । जस्तै माथि नै पनि भनियो कि ‘कुलुङ’ जातिको ऐतिहासिक ‘महाकुलुङ’ भूमि समेत रहेको छ । त्यस्तै गरेर अरु जातिको भन्दा छुट्टै मातृभाषा पनि रहेको छ, फरक खालको भेषभुषा पनि रहेको छ । साथै ‘कुलुङ’ जातिको वंश वा पूर्खाहरु कहाँबाट आए ? सोको इतिहास र वंश–वृक्ष रहेको छ ।

अर्को महत्वपूर्ण उदाहरण भनेको हालसम्मको नेपालको हालसम्मको जातीय बनोटको आधारमा केही उदाहरणहरु प्रस्तुत गर्नु पर्दा जसरी बाहुन नेपालको एउटा जात मानिन्छ । अनि जसरी बाहुनभित्र निरौला, पाण्डे, घिमिरे, पोखरेल, गौतम, दाहाल आदि थरहरु हुन्छ । त्यस्तै क्षेत्रीको थापा, कार्की, बस्नेत, कटुवाल, बुढाथोकी, डाँगी, राउत आदि थर हुन्छ । अनि मगरको पनि आले, पुन, सिञ्जाली, खपाङ्गी, तिलिजा, मास्की, राम्जाली आदि थरहर हुन्छ । साथै लिम्बुको पनि आङ्देम्बे, चेमजोङ, इङ्नाम, लुम्फुङ्वा, नेम्बाङ, खेवा, लिङ्देन आदि थरहरु हुन्छ भने, तामाङको पनि गोले, तितुङ, थोकर, मोक्तान, योञ्जन, रुम्बा, वाईबा आदि थर र उपथर रहेको हुन्छ नै । हो, त्यस्तै गरेर ‘कुलुङ’ जातिको पनि आ-आफ्नो थर (थरलाई कुलुङ जातिले ‘पाछा’ भन्ने गर्छन्, आफ्नो भाषामा), उप-थर रहेको छ । त्यसैले गर्दा नै ‘कुलुङ-कुलुङ’बीचमै विवाहवारी हुने गरेको छ । नत्र त कसरी ‘कुलुङ-कुलुङ’बीचमै एकआपस्तमा विवाहवारी हुन्छ, हुन्थ्यो ?

कुलुङ जातिका सुरुका पूर्खाहरु चार जना रहेका थिए । ती पूर्खाहरु क्रमशः १, छेम्सी । २, ताम्सी । ३, खप्दूलू । ४, राताप्खू हुन् । छेम्सीले सुरुमा ‘महाुकुलुङ भूमि’को छेम्सीमा, ताम्सीले छेस्खाममा, खप्दूलूले पेल्माङ-पिल्मोमा र राताप्खूले सत्तो–सोत्तो (हाल सोताङ) मा बसोबास सुरु गरे । पछिल्लो पटक भएको राज्य पुनर्संरचनापछि गाउँ पालिका (गापा) को व्यवस्था भयो । सोअनुसार यी सबै गाउँहरु अहिले महाकुलुङ र सोताङ गाउँपालिकाभित्र पर्छ ।

यसरी हेर्दाखेरि कुलुङ जातिको मानव अधिकार हनन् गर्ने नेपाल सरकार र सरकार मातहत रहेका आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) का साथै केही एनजिओलाई कुलुङ जातिले ‘कुलुङ जातिको हामी/म को हौं/हुँ’ भनी आफैले स्वघोषणा गर्न पाउने मानव अधिकार हनन् गरेकोमा त्यसका विरुद्ध हामी (कुलुङ) ले सरकार, आजउराप्र र केही एनजिओलाई मुद्धा हाल्नैपर्ने हो त ? यो प्रश्नलाई कसैले हल्का रुपमा लिए तपनि एक दमै गम्भीर रहेको छ । वास्तवमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन-२०५८ को दफा २ (क) अनुसार सूचीकृत गर्ने आँट नगरेर कुलुङ जातिलाई जोरजबर जस्ती राई नै हो कुलुङ भनेको राईको एक थर मात्रै हो भनेर “कुलुङ” जातिलाई जबरजस्ती राईकरण गर्ने, राई जातिमा गाभ्ने (एस्सिमिलेसन गर्ने) हरुको एनजिओ जो छ, जुन एनजिओ संस्था दर्ता ऐन-२०३४ अन्तर्गत समाज कल्याण परिषदमा दर्ता नम्बर-२६५६ भएको र काठमाण्डौ जिल्ला प्रशासन कार्यलयमा रिजस्टर्ड नम्बर-३२८/०४९/०५० दर्ता नम्बर भएको एवम केन्द्रीय कार्यलय चाहिँ काठमाण्डौको कोटेश्वरको महादेवस्थानमा रहेको एनजिओका विरुद्ध लगभग २८/२९ वर्षको क्षतिपूर्तिसहितको माग दावीसहित आब हामी कुलुङ जातिले नेपालस्थित राष्ट्रिय मानव अधिकार आयोगमा र अन्तर्राष्ट्रियस्तरका मानव अधिकार सम्बन्धी वकालत गर्ने मानव अधिकारवादी व्यक्ति एवम् संघ*संस्थाहरुसँग समन्य गरेर अगाडि बढ्नुपर्ने देखिन्छ । (नोटः यो अंशले अप्ठ्यारो आई पर्ने जस्तो लागेमा हटाउन सकिने छ) ।

त्यसैले १० डिसेम्बरमा हुने ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १७ औं राष्ट्रिय मानव अधिकार दिवस तथा विभिन्न भेलाको अवसरमा विश्व जगतका मानव अधिकारवादी संघ-संस्था एवम् मानव अधिकारवादी व्यक्तिहरु र नेपालका मानव अधिकारवादी संघ-संस्था एवम् मानव अधिकारवादी व्यक्तिहरु म हाम्रो हार्दिक आग्रह रहेको छ, कि विगत २८ वर्षदेखि माग गर्दै आएको कुलुङ जातिलाई अलग्गै जातिका रुपमा सूचीकृत गर्नुपर्ने हाम्रो माग अनि हामी कुलुङ जाति को हौं ? भनी हामी आफैले स्वघोषणा गर्न पाउने हाम्रो आत्मनिर्णयको अधिकार र मानव अधिकारको हनन् नहोस्, हाम्रो जातीय स्वपिहचान स्थापित होस् भन्ने कामना गर्दछु, १० डिसेम्बरमा हुने ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १७ औं राष्ट्रिय मानव अधिकार दिवसको यो पावन अवसरमा । साथै हाम्रो (कुलुङ जातिको) मानव अधिकार हनन् गर्ने सरकारका साथै सरकार मातहत रहेको आजउराप्र अनि केही एनजिओलाई ‘कुलुङ जातिको हामी/म को हौं/हुँ’ भनी आफैले स्वघोषणा गर्न पाउने मानव अधिकार हनन् गरेकोमा त्यसका विरुद्ध हामी (कुलुङ) ले सरकार, आजउराप्र र केही एनजिओलाई मुद्धा हाल्न र अहिलेसम्मको क्षतिपूर्ति माग दावी गर्न मिल्छ, मिल्दैन ? सो सम्बन्धमा पनि विश्व जगतका मानव अधिकारवादी संघ-संस्था एवम् मानव अधिकारवादी व्यक्तिहरु र नेपालका मानव अधिकारवादी संघ-संस्था एवम् मानव अधिकारवादी व्यक्तिहरुमा हाम्रो (कुलुङ जातिको) हार्दिक आग्रह रहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ३ : ३९ बजे