सोलुखुम्बु । नेपाली कांग्रेसका सक्रिय नेता चोलेन्द्र बहादुर कार्कीले पार्टीको महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका कार्कीले आफ्नो राजनीतिक अनुभव, संगठनप्रतिको प्रतिबद्धता र सामाजिक सेवाको यात्रालाई थप प्रभावकारी बनाउने उद्देश्यले उम्मेदवारी दिएका हुन् ।
२०६१ सालदेखि नेपाली कांग्रेसको विचार, सिद्धान्त र संगठनसँग जोडिएर सक्रिय रहँदै आएका कार्कीको राजनीतिक यात्रा संघर्षबाट सुरु भएको हो। तत्कालीन राजतन्त्रविरुद्धको आन्दोलनमा सहभागी हुँदा उनले २४ दिन जेल जीवनसमेत बिताएका थिए।
त्यसपछि पार्टीका विभिन्न आन्दोलन, कार्यक्रम तथा निर्वाचनमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका कार्कीले २०६४ सालदेखि संगठन र कार्यकर्तासँग नजिक रहेर काम गर्दै आएको बताएका छन्।

राजनीतिसँगै पर्यटन क्षेत्रमा पनि सक्रिय कार्कीले नेतृत्वदायी जिम्मेवारी सम्हालिसकेका छन्। २०७६ भदौ १९ गते ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (TAAN) को प्रथम उपाध्यक्षमा निर्वाचित भएर तीन वर्ष काम गरेका उनले पर्यटन क्षेत्रको विकास तथा व्यवसायीहरूको हकहितका लागि समेत योगदान दिएका छन्। उनी नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघका संस्थापक उपाध्यक्षसमेत हुन्।
कार्कीले राजनीति आफ्नो लागि केवल पद प्राप्तिको माध्यम नभई संगठनप्रतिको जिम्मेवारी, सहकर्मीप्रतिको विश्वास र समाजप्रतिको सेवाको निरन्तर यात्रा भएको बताएका छन्।
पार्टी संगठनलाई अझ सुदृढ, सक्रिय र गतिशील बनाउन आफ्नो अनुभव, ऊर्जा र समयलाई प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको उनको भनाइ छ।
कार्कीले भने, “तपाईंको विश्वास-मेरो जिम्मेवारी। तपाईंको साथ-संगठन सुदृढ गर्ने मेरो प्रतिबद्धता।”
कार्कीले महाधिवेशन प्रतिनिधिका रूपमा पार्टी संगठनलाई थप मजबुत बनाउने, कार्यकर्तासँगको सम्बन्धलाई अझ घनिष्ठ बनाउने तथा आफ्नो अनुभवलाई संगठनको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।







