१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

निर्मलाका आमाबारे धेरैले थाहा नपाएका कुरा ! यस्तो रहेछ उनको वास्तविकता !




सामाजिक सञ्जालमा #JusticeForNirmala अभियान चलाइरहेको समूहबाट कञ्चनपुर गएर निर्मला पन्तको बलात्कार/हत्याका दोषीलाई न्यायको कठघरामा उभ्याउनका लागि धर्ना बसेको निर्मलाको परिवार भेटेर हामी लाश पाइएको ठाउँ आदि हेर्दै निर्मलाको घर पुग्यौँ।

त्यहाँ, निर्मलाकी दिदी र बहिनीसँग सामान्य भेटघाट गर्‍यौँ। निर्मलाकी आमा दूर्गादेवी पन्तले आफ्नै घरको बरन्डा मै काठको टेबुलमाथि राखेर पानीपुरीको व्यापार गर्दिरहिछन्। त्यो टेबुल अहिले रित्तो भएर बसेको रहेछ।

निर्मला र उनकी दिदीसमेत पढ्ने ‘सरस्वती’ स्कूल उनीहरूको घर नै अगाडि रहेछ। मैले निर्मलाकी दिदी मनिषालाई सोधेँ, “खाना कसले पकाउँछ ?” सोध्नुको कारण थियो, उनकी आमा दूर्गा, धर्नामा बसेकी थिइन्। मनिषाले भनिन्, “आमाले बनाएर जानुहुन्छ; बेलुकी मैले सघाउँछु।”

दूर्गादेवीसँग पहिल्यै कुरा गरेर आइसकेका थियौं। कुराकानीको क्रममा उनले भनिन्, एकातिर, उनी बलात्कार र हत्या गरिएकी छोरीको लागि ४ महिनादेखि न्यायको लागि लड्दै थिइन् भने, अर्कोतिर, आगामी वर्ष SEE दिने जेठी छोरी र कान्छी छोरीको पढाईको बारेमा पनि उत्तिकै चिन्तित थिइन्।

अहिले बलात्कार र हत्याको भयावह अपराध पछि दृश्यमा आएका निर्मलाका बाबु, खासमा निर्मलाको परिवारबाट १० वर्षअघि अदृश्य भैसकेका थिए। कारण थियो लगातार तीन वटा छोरी जन्माउनु। छोरा नपाउनु।

यसको प्रमाण, निर्मलाका बाबुको स्वर्गीय बाबुले, त्यतिबेला नै आफ्नो छोराले कान्छी श्रीमती ल्याएपछि, आफूले खोजेर विवाह गरीदिएकी बुहारीले दु:ख नपाउन् भनेर आफ्नो २८ धूर जग्गामध्ये १४ धूर ती बुहारीलाई र बाँकी १४ धूर छोरालाई अँशबण्डा गरिदिएका रहेछन्। त्यो साँधको जग्गा बेचेर निर्मलाका बाबु पहिल्यै अन्तै घरवास गरेर बसिसकेका रहेछन्।

सम्पत्ति त भएको तर हातमा खर्च नभएको दूर्गाले पानीपुरी बेचेर र अन्य दु:खजिलो गरेर छोरीहरू हुर्काइरहेकी रहिछन्। अकस्मात यस्तो भयावह घटना भयो।

हामी, उनको घरबाट फर्कँदै गर्दा, बाटोमा परैबाट दूर्गादेवी साइकल चलाएर घरतर्फ आउँदै गरेको देख्यौँ। उनको साइकलको अगाडि, ‘निर्मलाको लागि न्याय माग्दै गरिएको अपिलको पम्प्लेट टाँसिएको थियो।
त्यो दृश्य कस्तो थियो होला, एउटी आमाले, आफ्नी छोरीमाथि गरिएको भयावह अपराधको लागि न्याय माग्दै पम्प्लेट बोकेर हरेक दिन आफ्नो दैनिकीमा सरिक हुनुपरेको छ।

हामी गाडीमा थियौँ, अगाडिबाट फोटो खिच्न मिलेन। हामीलाई ती शशक्त महिलाको त्यो आत्मविश्वासले भरीपूर्ण आगमन सिनेमाको कुनै POWERFUL Hero को भन्दा कम लागेन।

हामी, अलि पर गएर गाडी मोडेर फर्कियौँ, ती शशक्त महिलाको फोटो खिच्न, जो, बिहानको घरधन्धा सिध्याएर, छोरीहरूको लागि खाना बनाएर राखिदिएर दिनभरी न्यायको माग गर्दै धर्ना बस्न जान्छिन्।
धर्नामा बस्दा पनि, घरमा भएका दुई छोरीहरूको पढाई र सुरक्षाको चिन्ता बोकीरहन्छिन्।

कुनैबेला ‘लोग्ने’ मानेर आएका व्यक्ति कान्छी श्रीमतीको काखमा टाउको राखेर सुतेर ‘धर्ना दिन’ बसेका हुन्छन्। त्यो दृश्य, सँगै बसेर हेर्न उनलाई कति सहज लाग्दोहोला ? तर, छोरीमाथि भएको भयावह अपराधको कारणले उनी त्यो पीडा पनि चुपचाप सहीरहेकी छिन्। नभए कुनचाहिँ महिलाले, आजको दिनमा त्यस्तो दृश्य सहजै पचाउँदो होला ?

हाम्रो दूर्भाग्य, हामीले ती साहसी महिलाको साइकल चढेर घर फर्कीरहेको फोटो जस्ताको तस्तै देखाउन सकेनौँ; किनकि, उनी साइकलबाट उत्रिएर छिमेकको एउटा घरमा पसिछिन्। हामी केही बेर कुरेर बस्यौँ, उनी निस्किनन्; हामी हिँड्यौँ।

कञ्चनपुर पुग्नुभएका पहिलोपोस्टका साथीहरूसँग साँझमा भेट्दा, हामीले त्यो दृश्यबारे चर्चा गर्‍यौँ, उहाँहरूले दूर्गादेवीलाई अघिल्लो दिन, इ-रिक्सामा फर्कँदै गरेको देख्नुभएको रहेछ।

त्यहाँ गएर देखेपछि धेरै कुराले मन पिरोलेको छ।

# पानीपुरी बेचेर गरिने आम्दानी धर्नामा बस्नुपर्ने र न्यायको लागि दौडनु पर्ने हुँदा, दूर्गादेवी र उनका छोरीहरूको दैनिक खर्च कसरी चल्छ होला ?

# ‘एकल आमा’ले हुर्काइरहेकी छोरीको बलात्कार/हत्या पश्चात उनीहरूले क्षतीपूर्ती पाइहाले भने त्यो रकममाथि दूर्गादेवी र उनकी दुई छोरीहरूको मात्रै हक लाग्नुपर्छ भनेर कसैले बोलीदेला कि नदेला ?

# धर्ना बस्न सल्लाह गर्दा, सल्लाह दिनेहरूले उनीहरूको घरखर्चबारे सोचेर बसालेका होलान् कि नहोलान्?

# देखेर आएपछि त ‘न्याय’ सजिलै पाउलान् भन्ने कुरामा आफैँ विश्वस्त हुन नसकेको अबस्थामा, यो केस कसरी, कता गएर टुङ्गेला ?….

मनभरी थूप्रै प्रश्न बोकेर बस्नुपरेको यो अबस्थामा दूर्गादेवी र उनका दुई छोरीहरूको भविष्य सम्झिएर मन भतभती पोलेको छ।

यी सबका वावजूद, ‘दूर्गा’ जत्तिकै साहस बोकेर हिँडेकी दूर्गादेवीलाई सहर्ष अभिवादन ! त्यो साहस विखण्डित नहोस् ! साभारः mysansar

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार  ४ : ५० बजे