यस पटक सगरमाथा चुचुरोमा ४३ देशका आरोही ! सबैभन्दा बढि नेपाली !

  पत्रपत्रिका
0 Shares

काठमाडौँ । यसपटकको सिजनमा ४३ देशका आरोही सगरमाथा चुचुरो पुग्न सफल भएका छन् । पर्यटन विभागबाट ४९ मुलुकका १ हजार २४ जनाले अनुमति लिएकामा ४३ मुलुकका ६ सय ४४ जनाले मात्रै सफल आरोहण गरेको खबर कान्तिपुर दैनिकमा छ ।


आरोहण सफल नहुनेमा यूएई, स्पेन, रिपब्लिक अफ बोत्स्वाना, पेरु, कोरिया र डोमिनिकन रिपब्लिकका आरोही छन् । यी मुलुकबाट ९ जना आरोहणका लागि आएका थिए । ३७ विदेशी र ७ नेपाली गरी ४४ वटा आरोहण दल सहभागी थिए । विभागकी निर्देशक मीरा आचार्यका अनुसार यिनमा ९ सय ४४ पुरुष र ८० जना महिला थिए । ५ सय ७७ पुरुष र ६७ महिला शिखर पुग्न सफल भए । सबभन्दा धेरै आरोहण गर्ने नेपाली छन् । विभागबाट सलामी दस्तुर तिरेर आरोहण दल सदस्यको हैसियतमा ८ पुरुष र ६ महिला गरी १४ जना नेपाली सगरमाथा गएका थिए । एक पुरुषबाहेक १३ जनाले सफलता हात पारे । त्यसैगरी गाइड (कामदार), सरदार र शेर्पाको भूमिकामा २ महिलासहित ६ सय ४२ जनाले अनुमति पाएका थिए । यीमध्ये ३ सय ६४ जनाले मात्रै सफल आरोहण गरे ।
सर्वाधिक आरोहण गर्ने विदेशीमा भारतीय ६१, चिनियाँ ५४, अमेरिकी ४२, बेलायती २९, क्यानडेली तथा नर्वेली ७÷७, जापानी ६, हङकङका ५, लेबनानी ५, आयरल्यान्डका ४ जना छन् । यस सिजनमा ८ आरोहीको मृत्यु भएको छ भने एक जना हराइरहेका छन् । विभागले मृत्युको कारण हाई अल्टिच्युट, प्रतिकूल मौसम, मौसमको सीमित अनुकूलता, अचानक मूर्च्छा पर्ने र आरोहीको शारीरिक कमजोरीलाई औंल्याएको छ । आरोहण दल व्यवस्थापन गर्ने एक्सपिडिसन एजेन्सी र आरोहण दलमा खटिने सरकारी सम्पर्क अधिकृतले विभागमा पेस गरेको प्रतिवेदनमा यस्तो उल्लेख छ ।
यस सिजनमा सगरमाथासहित ल्होत्से, मकालु, कञ्चनजंघालगायत हिमालमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । विभागले ३२ वटा हिमालका लागि १ सय १६ आरोहण दललाई अनुमति दिएको थियो । यसबापत ४९ करोड ६४ लाख रुपैयाँ सलामी दस्तुर संकलन भएको थियो । सरकारले ४ सय १४ हिमाल आरोहणका लागि खुला गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार