बेलायती महारानीलाई विश्व घुम्न भिसा र पासपोर्ट चाहिँदैन !

7 Shares

काठमाडौं । पासपोर्ट विना विदेश जान पाइँदैन भन्ने कुरा त सबैलाई थाहै छ । आफ्नो मुलुकको पासपोर्ट र नियमानुसारको भिसा विनै विदेशी मान्छे समातियो भने जुनसुकै देशले कारवाही गर्दछन् । तर यो दुनियामा एउटा यस्तो देश छ, जहाँकी महारानीसँगै आफ्नो देशको पासपोर्ट हुँदैन । तर ती महारानी अहिलेसम्म विश्वका १ सयभन्दा धेरै देशको यात्रा गरिसकेकी छिन् ।


हो, बेलायतकी महारानी एलिजाबेथ द्वितीया सायद विश्वकै एकमात्र यस्ती महिला हुन्, जो विना भिसा तथा पासपोर्ट दुनियाका १ सयभन्दा धेरै देश घुमिसकेकी छिन् । वास्तवमा बेलायतमा महारानीको राहदानी नै हुँदैन । महारानी बाहेक बेलायती राजपरिवारका अन्य सदस्यको भने राहदानी हुन्छ र उनीहरु राहदानी लिएर विदेश जान्छन् ।
बीबीसीको एक रिपोर्टअनुसार महारानी एलिजाबेथलाई आफ्नो पासपोर्ट बनाउनै आवश्यक छैन । किनकी बेलायतका सबै जनताको राहदानी उनकै नामबाट जारी हुन्छ ।
ड्राइभिङ लाइसेन्स पनि छैन, आय कर पनि तिर्नुपर्दैन !
राहदानी नभए पनि महारानीसँग एउटा गोप्य कागजात भने हुन्छ । त्यो कागजातले पासपोर्टकै काम गर्दछ । महारानीको भ्रमणका क्रममा यही कागजात बोकेर हिँडेका हुन्छन् सम्बन्धित कर्मचारीहरु । महारानीसँग सवारी चालक अनुमतिपत्र पनि छैन । तरपनि उनी कार चलाउँछिन् ।


बेलायतमा महारानीमात्र एकजना यस्ती नागरिक हुन् जसले आयकर तिर्नु पर्दैन । तर सन् १९९२ देखि उनले स्वेच्छाले आफ्नो आम्दानीको नियमानुसारको कर सरकारी ढुकुटीमा जम्मा गर्दै आएकी छिन् ।
जन्मदिन मनाउने मिति फरक-फरक
अर्को रोचक कुरा के भने महारानीको जन्मदिन समेत फरक–फरक मितिमा मनाइन्छ । उनको आधिकारिक जन्मदिन बेलायत, अस्ट्रेलिया, क्यानडा तथा न्यूजिल्याण्डमा फरक–फरक मितिमा मनाइन्छ । बेलायतमा हरेक वर्ष जून महिनाको पहिलो, दोस्रो वा तेस्रो शनिबार महारानीको जन्मदिन मनाइन्छ, सरकारी तवरमा । पूर्वी अस्ट्रेलियामा जूनको दोस्रो सोमबार महारानीको जन्मदिन मनाइन्छ भने पश्चिमी अस्ट्रेलियामा सेप्टेम्बरको अन्तिम हप्ता वा अक्टोबरको पहिलो हप्ता मनाइन्छ ।


त्यस्तै न्युजिल्याण्डमा जूनको पहिलो सोमबार तथा क्यानडामा मे महिनाको पहिलो सोमबार महारानी एलिजावेथको जन्मदिन मनाइन्छ । तर महारानीको वास्तविक जन्मदिन चाहिँ अप्रिल २१ तारेख हो । उक्त दिन उनले राजदरबारमा परिवारका साथमा आफ्नो जन्मदिन मनाउँछिन् । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार