इजरायलले सुरु गर्यो दक्षिणी गाजामा पनि हमला, खान युनिस खाली गर्न आदेश

175 Shares

काठमाडौं । इजरायली सेनाले गाजाको दक्षिणी भागमा धेरै हमास नेताहरू लुकेको आकलन गर्दै आक्रमण सुरु गरेको छ। यस क्षेत्रमा करिब २३ लाख मानिस फसेका छन् ।

बीबीसीका अनुसार इजरायली सेनाले आइतबार गाजाको दोस्रो ठूलो सहर खान युनिस वरपरका क्षेत्रहरू खाली गर्न आदेश जारी गरेको हो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूमा प्रकाशित रिपोर्टहरू अनुसार इजरायलले इजरायली सेनाले आफ्नो भूमि विस्तार अभियानलाई अगाडि बढाइरहेको छ ।

इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीका अनुसार थल सेनाहरू अहिले दक्षिणतिर अघि बढिरहेका छन् । युद्धविरामपछि इजरायली सेनाले दक्षिणी गाजामा हवाई आक्रमण पनि सुरु गरेको छ ।

शहरी शरणार्थी शिविर जबलियामा शरण खोज्दै आएकी अमल रडवानले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘हाम्रो चारैतिर लगातार विस्फोटको आवाज सुनिन्छ। यहाँको अवस्था डरलाग्दो छ । मृत्यु जताततै छ। एकैछिनमा जो कोही मर्न सक्छ ।’

इजरायल र हमासबीच जारी युद्धमा हालसम्म १५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । गाजाका अधिकांश नागरिक सुरक्षाको खोजीमा अहिले दक्षिणतिर भागेका छन्।

इजरायली सेनाले शनिबार राति खान युनिस र दक्षिणी सहर रफाह क्षेत्रका साथै उत्तरका केही भागहरूमा भारी हवाई र स्थल आक्रमण गरे। हमलमा सात प्यालेस्टाइनीको मृत्यु भएको थियो ।

यसै क्रममा आइतबार बिहान खान युनुसको पूर्वी भागमा रहेको एक आवासीय भवनमा इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

यसैबीच, गाजामा पुनः युद्ध भइरहेका बेला अमेरिकाले इजरायललाई संयमता अपनाउन दबाब दिएको छ । उपराष्ट्रपति कमला ह्यारिसले गाजामा धेरै निर्दोष प्यालेस्टाइनी मारिएको बताइन् ।

अमेरिकी रक्षा सचिव लोयड अस्टिनले निर्दोष नागरिकको सुरक्षा गर्ने इजरायलको नैतिक जिम्मेवारी रहेको बताएका छन् ।

हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा युद्ध सुरु भएदेखि गाजा पट्टीमा मृत्यु हुनेको कुल संख्या १५ हजार २०० भन्दा बढी पुगेको बताएको छ। मृत्यु हुनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका छन् । ४० हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार