प्रेस स्वतन्त्रतालाई संरक्षण र कार्यान्वयन गर्न सरकार प्रतिबद्धः सञ्चारमन्त्री

  सगरमाथा अनलाईन
7 Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमन्त्री रेखा शर्माले संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रतालाई संरक्षण र कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै मन्त्री शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविना लोकतन्त्र पूर्ण हुन नसक्ने बताएकी हुन् । उनले प्रेस स्वतन्त्रतालाई थप सुनिश्चित गर्ने गरी एक वर्षदेख सञ्चारसँग सम्बन्धित कानुन निर्माण तथा पुनरावलोकनको काम भइरहेको जानकारी दिइन् ।

‘सञ्चारसम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञहरुको राय सुझावका आधारमा कानुनको मस्यौदा गर्ने, त्यसमाथि सरोकारवाला र आम नागरिकको रायसुझाव समेत लिएर पारदर्शी र लोकतान्त्रिक विधिबाट कानुन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकता दिएको छ’, मन्‍त्री शर्माले भनेकी छन् ।

प्रेस स्वतन्त्रताको सवालमा क्रियाशील राष्ट्रिय÷अन्तर्राष्ट्रिय संस्थाहरुको चासोलाई सरकारले नजिकबाट हेरिरहेको पनि मन्त्री शर्माले उल्लेख गरेकी छन् । ‘पत्रकारिता र पत्रकारको पेशागत तथा भौतिक सुरक्षाका सवालमा सरकारले कसैसँग कुनै पनि खालको सम्झौता गर्ने छैन’, उनले भनेकी छन्, ‘विभिन्न सञ्चारगृहमा देखिने श्रम समस्या समाधानका लागि सहजीकरण गर्न र कानुनी प्रक्रियाअनुसार श्रमजीवी पत्रकारका हक स्थापित गर्न सरकार प्रतिबद्ध छ ।’

सन् १९९३ मा भएको संयुक्त राष्ट्रसंघीय साधारणसभाको घोषणापछि युनेस्कोको आह्वानमा हरेक वर्ष ३ मे का दिन नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउन सुरु गरिएको हो । युनेस्कोको आयोजनामा ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी भएको दिनलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार