आगामी साता पानी पर्ने सम्भावना

  सगरमाथा अनलाईन
420 Shares

काठमाडौं । चर्को गर्मीको मारमा परिरहेका बेला आगामी साता पानी पर्ने प्रक्षेपण सार्वजनिक भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको हो । मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि-मौसम पूर्वानुमान बुलेटिनमा सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने उल्लेख छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले पश्चिमी न्यून चापीय प्रणालीले बादलहरु नेपालसम्म ल्याउने, केही स्थानमा पानी पर्ने र अधिकतम तापक्रम केही घट्ने बताइन् । यस वर्षको अप्रिल महिना सन् १९०१ पछिकै गर्मी महिनाको रुपमा विश्वमा दर्ज भएको तथ्यांकहरु सार्वजनिक भइरहेका छन् । नेपालमा पनि प्रचण्ड गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित भएको छ । गर्मीकै कारण रुपन्देहीमा दुई दिन विद्यालय बन्द गरिएको छ ।

यस वर्ष हिउँदयाम पनि सुक्खा बित्यो । हिउँदयाममा सरदर ६० प्रतिशत पानी पर्नुपर्नेमा करिब २१ मिलिमिटर मात्र पानी परेको जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल बताउँछिन् । हिउँदपछि सुरु भएको प्रिमनसुन पनि अहिलेसम्म सुक्खा छ । मार्चदेखि मे महिनासम्मको अवधिलाई प्रिमनसुन अवधि मानिन्छ । लामो समयदेखि पानी नपरेकाले गर्मीसँगै डढेलोका घटनाहरु पनि बढिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार