बेसहारा अपाङ्ग व्यक्तिको सहारा खगेन्द्र नवजीवन केन्द्र

0 Shares

काठमाडौँ, १७ मङ्सिर । स्वयम् अपाङ्ग भएका खगेन्द्रबहादुर बस्नेतको परिकल्पनाअनुसार २०२६ सालमा स्थापना भएको ‘नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र’ बेसहारा अपाङ्गता भएका व्यक्तिको सहारा बनेको छ ।

राजधानीको जोरपाटीमा ८५ रोपनी क्षेत्रफलमा अवस्थित केन्द्रले हाल खगेन्द्र नवजीवन अपाङ्ग गृहमा आफ्नो नियमित व्यक्तिगत काम गर्न नसक्ने ‘क’ वर्गका ६८ पूर्ण अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रदान गरिरहेको छ ।

यहाँका १८ जनाको सञ्चालन खर्च नेपाल सरकारले गर्छ भने बाँकी केन्द्रले कार्यालय परिसर अगाडिका सटर भाडाबाट हुने आम्दानी तथा विभिन्न दाताको सहयोगमा व्यवस्थापन गर्दै आएको छ । केन्द्रले आर्थिक रुपमा सक्षम व्यक्तिसँग भने व्यवस्थापनका लागि सीमित रकम लिएको केन्द्रका कार्यकारी निर्देशक भूपति सञ्जेलले बताउनुभयो ।

विगत १५ वर्षदेखि केन्द्रमा बस्दै आउनुभएकी सविना श्रेष्ठ केन्द्रको बसाइँले जीवन व्यतित गर्न सहज भएकामा खुसी व्यक्त गर्नुहुन्छ । राजधानीको कलङ्की निवासी श्रेष्ठको सानै छँदा दुर्घटनामा परी हाल कम्मरमुनिको शरीरको भाग नचल्ने अवस्थामा छ । उहाँजस्ता गृहमा रहेका अन्य सबै अपाङ्गता भएका सबैको खाना, बस्न तथा औषधि उपचारदेखि दिसापिसाबसम्मका काम अरुले गरिदिनुपर्छ ।

पूर्ण अपाङ्गता भएका त्यस्ता सबै व्यक्तिको स्याहारसुसारको सबै खर्च सरकारले नै व्यहोर्नुपर्ने केन्द्रको मागअुनसार प्रक्रिया अघि बढेको केन्द्रले जनाएको छ ।

केन्द्रका महासचिव यज्ञप्रसाद उप्रेती केन्द्रले राजधानीबाहेक मुलुकभर झापा, धनुषा, काठमाडौँ, दाङ, बाँके र कैलालीमा शाखा विस्तार गरी सेवा दिइरहेको जानकारी दिनुभयो ।

केन्द्रले हाल कार्यालय परिसरमा हाड र नसासम्बन्धी १०० शै्ययाको नेपाल अर्थाेपेडिक अस्पताल सञ्चालन गरी आर्थिक रुपमा सक्षम भएका व्यक्तिलाई सशुल्क र आर्थिक रुपमा विपन्न व्यक्तिको निःशुल्क रुपमा उपचार गर्दै आएको छ ।

त्यस्तै केन्द्रले खगेन्द्र माध्यमिक विद्यालय सञ्चालन गरी अपाङ्गता भएका विद्यार्थीलाई शिक्षाको सहज पहुँच दिएको महासचिव उप्रेतीको भनाइ छ । अपाङ्गता भएका टुहुरा बालबालिकालाई निःशुल्क आवासका लागि कार्यालय परिसरमा एसओएस बालग्राम रहेको छ ।

केन्द्र विगत पाँच वर्षदेखि केन्द्रमा बस्दै आउनुभएका पाल्पा निवासी कृष्ण खड्का केन्द्रको बसाइँ र दैनिक कार्य सहज भएको बताउनुहुन्छ । खड्का मलेसियामा काम गर्दा भएको दुर्घटनापछि घाँटीमुनिको भाग नचल्ने अवस्थामा हुनुहुन्छ । उहाँ हाल मुखको सहायताले अत्याधुनिक घुम्ने कुर्सीमार्फत हिँडडुल गर्नुहुन्छ ।

केन्द्रले नुवाकोटमा समुदायमा आधारित पुनःस्थापना कार्यक्रम पनि सञ्चालन गरेको महासचिव उप्रेतीले जानकारी दिनुभयो । जसअन्तर्गत घरमा लुकाएर राखिएका अपाङ्गता व्यक्तिलाई केन्द्रले शिक्षा, तालिम र सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

केन्द्रले नक्कली हात खुट्टा बनाउने कलाकेन्द्र पनि सञ्चालन गरेको छ । केन्द्रले सरकारसँग अपाङ्गमैत्री कार्यालय भवन, स्याहार गृह र तालिम केन्द्र निर्माणको अपेक्षा गरेको कार्यकारी निर्देशक सञ्जेलले बताउनुभयो ।

सनराइज बैंकद्वारा खगेन्द्र नवजीवन केन्द्रलाई सहयोग

सनराइज बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा खगेन्द्र नवजीवन केन्द्र जोरपाटीमा आश्रित अपाङ्ग व्यक्तिहरूलाई सहयोग गरेको छ ।

बैंकले आज केन्द्रमा आयोजित कार्यक्रममा पाँच थान ह्विलचियर, ७८ थान न्यानो कम्बल र खाद्य सामग्री उपलब्ध गराएको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडले उक्त सामग्री हस्तान्तरण गर्दै बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको बताउनुभयो । अध्यक्ष दुगडले मानवीय कल्याणकारी कार्यमा बैंकले आगामी दिनमा पनि सक्दो सहयोग गर्दै जाने विचार व्यक्त गर्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले अपाङ्ग व्यक्तिहरुलाई सहयोग सामग्री वितरण गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार