काठमाडौँ, १३ माघ । सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादवले राष्ट्रिय स्वार्थलाई ध्यानमा राखी समस्याको समाधान खोजिनुपर्ने बताउनुभएको छ ।
निषेधको राजनीतिले कसैलाई फाइदा नपुग्ने भन्दै उहाँले सबै राजनीतिक दल मिलेर द्वन्द्व समाधान गर्नेगरी समाधानको बाटो खोजिनुपर्ने खाँचो औँल्याउनुभयो ।
रिपोर्टर्स क्लबको आज यहाँ आयोजित साक्षात्कारमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका संयोजक यादवले संसद्मा दर्ता भएको संशोधन विधेयक अपूर्ण रहेको भन्दै आवश्यक परिमार्जन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले संविधान संशोधनले नै मुलुकले निकास पाउने भएकाले यसमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाधक बन्न नहुने जिकिर गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सचिव योगेश भट्टराईले आफ्नो पार्टी निर्वाचनको पक्षमा रहेको र यसका लागि संविधान बाधक नभएको स्पष्ट पार्नुभयो ।
उहाँले संसद्मा दर्ता भएको संशोधन प्रस्तावले निर्वाचनको वातावरण बिथोल्ने टिप्पणी गर्दै वैशाखको अन्तिमसम्म स्थानीय तहको निर्वाचन गर्नुपर्ने र आगामी २०७४ माघ ७ गतेभित्रै बाँकी निर्वाचनहरु गर्नुपर्ने माग गर्नुभयो ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले संविधान संशोधनसहित मुलुकलाई निर्वाचनको दिशामा अघि बढाउन प्रमुख प्रतिपक्षी दल एमाले र मधेसी मोर्चा जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले संविधान सबैको साझा दस्तावेज भएकाले प्रमुख दलहरुबीच परामर्श भई चाँडै निकास निस्कने दाबी गर्नुभयो । नेता गजुरेलले निर्धारित समयमै तीनवटै तहको निर्वाचनका लागि दलहरु मिलेर जानुको विकल्प नरहेको बताउनुभयो ।







